प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बहुसंस्कृतियुक्त लोकतान्त्रिक समाज निर्माणबाट मात्र राष्ट्रिय एकता बलियो हुने बताउनुभएको छ । उहाँले यो भावलाई सदैव दृढताका साथ सङ्कल्प गरी अघि बढ्नुको विकल्प नभएको उल्लेख गर्नुभयो ।
ललितपुरको थेचोमा नवदुर्गा भवानी देवी १२ वर्षे जात्रा समापन समारोहलाई आज सम्बोधन गर्नुहुँदै उहाँले भन्नुभयो, “नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो । हाम्रा समृद्धशाली मूर्त र अमूर्त सांस्कृतिक धरोहर सम्पदा राष्ट्रिय एकता सबलीकरण गर्ने विशिष्ट माध्यमका रूपमा परिचित छन् । यी सांस्कृतिक परम्पराहरूले नेपालको राष्ट्रिय एकता र अखण्डतालाई मजबुत बनाउन अहम् भूमिका खेलेका छन् ।”
प्रधानमन्त्री दाहालले आफ्नो संस्कृतिको संरक्षण र संवद्र्वन गर्नु सबैको दायित्व भएको बताउनुभयो । नेपालको संविधानले नै धार्मिक स्वतन्त्रता कायम गरी प्रत्येक नेपाली समुदायलाई आफ्नो भाषा, लिपि, सांस्कृतिक सभ्यता र सम्पदाको संरक्षण गर्ने हकको व्यवस्था गरेको उहाँले उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री दाहालले विभिन्न कालखण्डमा मानव समुदायले सिर्जना गरेर छाडेका भौतिक सम्पदा र त्यसअनुरूपको जीवनशैलीको समष्टिगत रूप नै नेपालको राष्ट्रिय संस्कृति भएको बताउनुभयो । उहाँले धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा पर्यटकीय दृष्टिले अनेकौँ सामथ्र्य र सम्भावनाको केन्द्र रहेको गोदावरी नगरपालिकामा आयोजना हुने ऐतिहासिक महत्वको १२ वर्षे नवदुर्गा जात्राको भव्य सफलताको कामना गर्नुभयो । कार्यक्रममा नवदुर्गा भवानीसँग सम्बन्धित विभिन्न नाच प्रस्तुत गरिएको थियो । सो अवसरमा नेकपा (माओवादी केन्द्र)का नेताहरु राजकाजी महर्जन, बिना मगरलगायतको उपस्थिति थियो ।