काठमाडौं । ९ औं राष्ट्रिय योग दिवस आज देशभर विभिन्न चेतना मुलक कार्यक्रम गरी मनाइएको छ । दिवसका अवसरमा प्रभातफरी, योग अभ्यास र योग सम्वन्धी विचार गोष्ठी गरिएको छ ।
शिक्षा मन्त्रालयमा आयोजित कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राइले योगलाई जीवन पद्धतिका रुपमा विकास गर्न आवश्यक रहेको बताउनुभयो ।
मन्त्री राईले योगको विकास र विस्तारका लागि आवश्यक सहयोग गर्न तयार रहेको उल्लेख गर्नुभयो । मन्त्रालयका सचिव सुरेश अधिकारीले योग शिक्षालाई विद्यालय तहको पाठ्यक्रमा समावेश गरिएको र यसले विद्यार्थीमा सकारात्मक प्रभाव पारेको बताउनुभयो ।
काठमाडौं महानगरपालिकाले आरोग्य जीवन कार्यक्रम अन्तरगत विशेष योग कार्यक्रम सम्पन्न गरेको छ । योग दिवसमा अवसरमा पतञ्जलि योग समिति नेपाल, ब्रह्म कुमारी राजयोग सेवा केन्द्र, जीवन विज्ञान, आर्ट अफ लिभिङ्, पातञ्जल योग समितिलागयतका संस्थाले योग सम्वन्धी कार्यक्रम आयोजना गरेका छन ।
योग तथा प्राकृति चिकित्सक डा. हरिप्रसाद पोखरेल मानसाग्निले २०३६ सालदेखि मकर सङ्क्रान्तिका दिन योग संवत् घोषणा गरी विश्व योग दिवस मनाउनुपर्छ भनी अभियान सुरू गर्नुभएको हो ।
२०३६ सालदेखिको मानसाग्निको निरन्तरको प्रयास, अथक परिश्रम र अविरल यात्राको सफलतास्वरुप नेपालमा प्रत्येक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस मनाउने कार्यको सुरूवात विसं २०७२ साल श्रावण २८ गतेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेपछि भएको हो ।
सन २०१४ मा संयुक्त राष्ट्र संघ महासभाले जुन २१ लाई अन्तराष्ट्रिय योग दिवस मनाउने घोषणा गरेपछि नेपाल सरकारले माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रुपमा मनाउने निर्णय गरेसँगै देशव्यापी रुपमा राष्ट्रिय योग दिवस मनाउने गरिएको छ ।
नेपालमा आधारभुत तह, माध्यामिक तह, स्नातक तथा स्नातकोत्तर र विद्यावारिधि तहसम्म नै योग विज्ञानमा औपचारिकरुपमा पाठ्यक्रममा समावेश भई पठनपाठन तथा अध्ययन अनुसन्धान शुरु भएको छ ।