“थाइल्याण्ड मास टुरिजममा छ, नेपाललाई क्वालिटी टुरिजममा स्थापित गर्न सक्छौं “
“थाइल्याण्डलाई जोड्ने लुम्बिनीमात्रै होइन मनाङ-मुस्ताङ पनि जोडेर पर्यटक भित्र्याउन सकिन्छ“
“नेपालीले नेपालीलाई सम्मान गर्न थाइल्यान्ड आउनुको अर्थ के? औचित्य पुष्टिहुन पर्यो“
धनबहादुर वली, थाइल्याण्डका लागि नेपाली राजदूत
परराष्ट्र मन्त्रालयका सहसचिव धनबहादुर वलीले थाइल्याण्डका लागि नेपाली राजदूतको रुपमा पदबहाली गरेको चार महिना पूरा भएको छ । बैंककस्थित नेपाली राजदूतावासको कमाण्ड सम्हाल्दै गर्दा राजदूत वलीले नेपाल र थाइल्याण्डको द्विपक्षीय सम्बन्धलाई सहकार्यको हिसाबले थप प्रगाढ बनाउन भूमिका खेलिरहेका छन् । परराषट्रबाटै करियर थालेका वली कामबाट नतिजा दिने राष्ट्रसेवकमा पर्छन् । उनले थाइल्याण्डमा राष्ट्रको प्रतिनिधित्व गर्दै गर्दा उच्चस्तरीय भ्रमणदेखि अन्य सहकार्य तथा सम्भावनाका क्षेत्रमासमेत पहल बढाएका छन् । साथै थाइल्याण्डमा बसोबास गर्ने प्रवासी नेपाली, नेपाली मूलका थाइ नागरिकको हकहित, नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धन पनि राजदूत वलीको प्राथमिकतामा छ । अझ विश्वका पर्यटक आउने टुरिस्ट डेस्टिनेसन थाइल्याण्डलाई नेपालको पर्यटनसँग जोड्ने प्रयत्न वलीको छ । थाइल्याण्डबाट वलीले कम्बोडिया, भियतनाम, लाओस् लगायत देशलाई पनि नेपालका तर्फबाट प्रतिनिधित्व गर्छन् । नेपाल-थाइल्याण्ड द्विपक्षीय सम्बन्ध र आसियान मुलुकहरुसँग नेपालको सहकार्यको सम्भावनालगायत विषयमा थाइल्याण्ड नेपाल डटकमका लागि सम्वाददाता लोकेन्द्र ओलीले राजदूत वलीसँग सम्वाद गरेका छन् ।
तपाईँ थाइल्याण्ड आउनुभएको चार महिना वितेको छ, यो अवधिको अनुभव कस्तो रह्यो ?
म यहाँ राजदूतको रुपमा कार्यरत भएको चार महिनामा यहाँको परिवेश बुझ्न पाए । यहाँको सरकार, सरकारी निकाय, संघसंस्थाका पदाधिकारीसँग भेटघाट, छलफल भयो । साथै हामीसँग सरोकार राख्ने निजी, शैक्षिकलगायत संघसंस्थाहरुसँग अन्तरक्रिया गर्ने र कमसेकम नेपालको बारेमा हामीले कुन तहबाट कसरी हाम्रा सम्बन्धलाई बढाउन सक्छौं भन्ने आकलन गर्ने समयका रुपमा तीन महिनालाई प्रयोग गरे ।
थाइल्याण्डमा कति संख्यामा नेपाली छन् ? राजदूतावासको तथ्यांक के छ ?
नेपालीहरुको तथ्यांक हेर्दा तीन प्रकारले हेर्नुपर्छ । एउटा नेपालबाट व्यापारव्यवसाय, शिक्षण, विद्यार्थी, यूएनलगायत विभिन्न संस्थामा जागिरेका रुपमा आएर बस्नुभएको, नेपालकै नागरिकता बोक्ने नेपाली नागरिकहरु हुनुहुन्छ । यो संख्या धेरै छैन । करिब २ हजारसम्म रहेको मानिन्छ । यसमा इन्टर्न गर्न आउने विद्यार्थीको संख्या चार सय जति छ । उहाँहरु नेपाली राहदानी र भिसामा बस्नुभएको छ ।
अर्को विभिन्न समय कालखण्डमा नेपालमा सिधै थाइल्याण्ड आउनुभएका, अथवा अरु दक्षिणी एसियाली मुलुक भुटान, भारत हुँदै विभिन्न कालखण्डमा यहाँ सर्नुभएका नेपालीहरु छन् । अर्को दोस्रो विश्वयुद्धका बेला सिधै म्यानमारमा आउनुभएका नेपालीहरु (जो पिलोकमा बस्नुभयो/यो ठाउँ पछि थाइल्याण्डको भूमिमा सीमांकन भयो/उहाँहरु खानीमा काम गर्नुहुन्थ्यो) हुनुहुन्छ । पिलोकमा बस्ने नेपालीहरुले नेपाल सरकार र थाइल्याण्ड सरकारको आपसी समन्वय र सद्भावमा यहाँको परिचयपत्र प्राप्त गर्नुभयो, सन् २००० देखि नागरिकता पाउनुभयो । पहिलो चरणमा नागरिकता दिँदा गोर्खा अथवा नेपाली मूलका थाइ भनेर दिइएको देखिन्छ । पछि उहाँका सन्तानहरु थाइ नागरिकमात्रै लेखिएको हिसाबले आउनुभयो । उहाँहरुको चार पाँच पुस्ता भइसकेको छ ।
अर्को भनेको म्यानमारबाट यहाँ विभिन्न पेशा व्यवसायका लागि प्रवेश गर्ने छन् । आसियान मुलुकलाई थाइल्याण्डले आफ्नो श्रम बजारको आवश्यकता पूर्ति गर्ने हिसाबले म्यानमार, कम्बोडिया, लाओस्, भियतनामबाट वर्क परमिटमा जनशक्ति आपूर्ति गर्दै आएको छ । सहजै प्रवेश गर्न मिल्ने भएकाले म्यानमारका नेपाली मूलका नागरिक पनि थाइल्याण्डमा छन् ।
यसरी हेर्दा थाइल्याण्डमा काम गरिरहेका नेपाली, म्यानमारबाट यहाँ काम गर्न आएका नेपालीको संख्या एक लाख हाराहारी छ । नेपाली मूलका थाइ नागरिकको छुट्टै संस्था छ, थाइ-नेपाली संघ, जुन थाइल्याण्डको कानुनअनुसार दर्ता भएको छ । उहाँहरुले विभिन्न कार्यक्रम गरेर नेपालको भाषा, साहित्य र संस्कृति आफ्ना पछिल्लो पुस्तालाई पनि सिकाउने काम गर्नुभएको छ । हामीसँग सहकार्य छ । नेपालबाटै आउनेको संख्या ठूलो छैन ।
श्रमका लागि आउने नेपाली कति छन् ? सम्भावनाहरु के छन् ?
थाइल्याण्डले छिमेकी आसियान मुलुक म्यानमार, भियतनाम, कम्बोडिया, लाओसबाट वर्क परमिटमा श्रमिक ल्याउने गर्छ । नेपालीहरुको संख्या त्यस्तो छैन । थाइल्याण्डमा आवश्यक जनशक्ति हामीसँग हुनसक्यो भने सम्भावना छ । अहिले नेपालीहरु कुकको रुपमा होटल व्यवसायमा जोडिनुभएको छ । अर्को विद्यार्थीहरु जसले इन्टर्नको रुपमा यहाँ केही समय विताउनुहुन्छ, त्यो हिसाबले भाषाको ज्ञान हुनसक्ने भएकाले उहाँहरुको केही संख्या छ । तर यहाँको बजारलाई फिट हुनेगरी श्रमिकको रुपमा शशरीर काम गर्ने छिमेकबाटै आउँछन् । तर पर्यटन तथा अन्य सीपयुक्त रुपमा आउने संख्या सानो छ । यो क्षेत्रमा हाम्रो सीप मुल्न जाँदा सम्भावना छ । तर फेरि हाम्रो मुल उद्देश्य भनेको नेपालको सीप हस्तान्तरण गर्ने र नेपालको अर्थतन्त्रलाई कसरी बाहिरसम्म जोड्ने हो । विभिन्न क्षेत्रमा सीप हस्तान्तरण हुन सके स्वदेशमै रोजगारी सिर्जना गर्न सकिन्छ । यसलाई प्राथमिकतामा राख्नुपर्छ ।
नेपालको नयाँ वर्ष र थाइल्याण्डको नयाँ वर्ष मिल्दो रहेछ । हाम्रोमा संक्रान्ति भन्छन्, यहाँ संक्रान भनिँदो रहेछ । दुइटा पर्वको सम्बन्ध र सांस्कृतिक रुपमा ऐतिहासिकता के हो ?
थाइल्याण्डसँग हामी धेरै अर्थमा संस्कृति, सभ्यता र सांस्कृतिक मूल्य मान्यताले जोडिएका छौं । यहाँको शासनप्रणाली जुनबेला देखि बुद्ध धर्मको प्रभावमा आयो र बुद्ध धर्मको बाहुल्यता बढ्दै गयो, त्यो बेलादेखि नै बुद्ध जसरी नेपालका छोरा थिए भन्ने कुरा यहाँ आउँदा बढी देखिन्छ । र, सँगै हिँडेको संस्कारले यहाँ गहिरो प्रभाव पारेको देखिन्छ । यहाँको जनजीवन, सांस्कृतिक पक्ष, धार्मिक मूल्यमान्यता धेरै हकमा हामीसँग नजिक छन् । त्यही क्रममा हामीले यहाँको संक्रान भन्ने नयाँ वर्षलाई हामीले एकप्रकारको ट्रान्जिसन संक्रान्ति भन्छौं । र, नेपाल र थाइल्यान्ड दुबैले मान्ने वर्ष एउटै हो, एउटै सिजनमा चल्छ, एकै दिनमा नयाँ वर्ष हुन्छ । बुद्धसँग जोडिएर बुद्ध सम्वत्को हिसाबले नयाँ वर्ष हो । यसबाट सिक्नुपर्ने अर्को पक्ष भनेको हरेक पर्वलाई कसरी आर्थिक गतिविधिसँग जोड्ने भन्ने हो । हाम्रा पर्वहरु मनाउनेमा सीमित गर्नुभन्दा त्यसलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छ । थाइल्याण्डबाट संक्रान युनेस्कोको विश्व सम्पदा सूचीमा परेको छ । हाम्रो होलीजस्तै यहाँ संक्रानमा पानी छ्यापिन्छ । मुल रुपमा नयाँ वर्षको सेलिब्रेसन हो । पर्यटकलाई आकर्षित गर्ने माध्यम पनि हो । व्यवसायीकरण गरियो । यसरी नै हामीले पनि पर्वलाई पर्यटनसँग, जनजीवनको आयआर्जनसँग जोड्ने हो ।
नेपाल पर्यटनमा सम्भावना भएको देश हो, थाइल्याण्ड पर्यटन गन्तव्यका रुपमा विश्वस्तरमा चिनिएको राष्ट्र हो । दुइटा देशबीच सम्भावना के कस्तो छ ?
पर्यटन मुख्य क्षेत्र हो । थाइल्याण्ड मास टुरिजममा छ । हामी क्वालिटी टुरिजममा स्थापित हुन सक्छौं । धेरै विविधता बोकको मुलुक हौं, क्वालिटी टुरिजममा बढी लैजानुपर्छ । हामीसँग भएको हिमाल, जैविक विविधता, सांस्कृतिक विविधता, चाँडपर्व, रहनसहन, खानपिन छ । संग्रहालयमा राखेको सोकेसजस्तो धनी छ हाम्रो देश । तर, कसरी उपयोग गर्न सकिन्छ अथाव यहाँ कसरी प्रवर्द्धन गर्न सकिन्छ भन्ने हो । किनभने धार्मिक विश्वास, सांस्कृतिक आधारहरु छन् । नेपालमा मिथिलाको केन्द्र छ, बुद्धिजमको केन्द्र छ, हिन्दु, बोनहरु, एनिमिजमहरुको केन्द्र छ, हरेक संस्कृतिको जन्मभूमि छ। जीवनमा एकपटक नगई नहुने ठाउँ लुम्बिनी हो । पहाडका ती गुफाहरु जहाँ अरु बुद्धहरुले प्रार्थना गरेर इन्लाइटमेन्ट प्राप्त गरे, त्यसको प्रवर्द्धन गर्न बाँकी छ । यसमा ब्राण्डिङ गर्न ढिलो गर्न हुँदैन । यसलाई सदुपयोग गरेर कहाँ जोड्न सकिन्छ ? उदाहरणका लागि ९० प्रतिशत जनसंख्या बुद्धिजममा विश्वास गर्न मुलुक हो । यसका लागि त अर्को थाइल्याण्डमा फलफुल, तरकारी, खाद्यान्न जुनसुकै सिजनमा पनि उपलब्ध हुन्छ । कृषिको अनुसन्धान, व्यवसायीकरण, प्रवर्द्धनबारे विश्वविद्यालयमै पढाइन्छ । अनुसन्धानमा विभिन्न मुलुकका कम्पनीले सहकार्य गरिरहेका छन्। यसलाई हामीले अनुशरण गर्न सकेका छैनौं । तत्कालै सिक्नुपर्ने विषय हो । हाम्रा विश्वविद्यालयलाई जोड्नुपर्छ । सहकार्य गर्नुपर्छ । कृषिमा धेरै धान, फलफुल फलाउने निर्यात गर्ने थाइल्याण्डसँग हाम्रो भुगोलअनुसार जोड्नुपर्छ । संसारभर जलवायु परिवर्तनले पारेको असर र दिगो विकास सम्बन्धमा यहाँ विभिन्न विश्वविद्यालयमा पढाइन्छ । अनुसन्धान गराइरहेका छन्। तर हिमालमा पारेको असरबारे बुझ्न त नेपालको अध्ययन हुनुपर्छ । यसबारेमा हामीले विश्वविद्यालयहरुसँग कुरा गर्दा रुची राखेका छन् । दिगो विकास लक्ष्य कोर्समा नेपालका शैक्षिक संस्थासँग सहकार्य गर्न तयार भएका छन् । अब संसारभरका विद्यार्थी नेपाल अध्ययन गर्न आउनुपर्छ । जलवायु परिवर्तन के भएको, सामुदायिक वनले समाजलाई कसरी प्रभाव पारेको छ, हिउ पग्लिँदा के असर गर्छ, कसरी रोकथाम गर्ने, स्वच्छ उर्जामा कसरी विकास गर्न सकिन्छ भन्ने विषयमा यहाँका संस्थालाई नेपालसँग जोड्न आवश्यक छ । केही विश्वविद्यालयमा पुग्दा इच्छुक देखिएका छन् । नेपालको विश्वविद्यालयलाई प्रस्ताव पठाएका छौं । जलवायु परिवर्तन विषयमा पढ्ने विद्यार्थीले नेपाल गएर प्रत्यक्ष हिमालको अवस्था हेर्न सक्छ । परिपक्व बुझाइ हुन्छ । त्यसैले जोड्न आवश्यक छ । तीन महिनामा हामीले नेपालमा कहाँ कहाँ सहकार्य सम्भव छ भनेर खाका तयार गरेका छौं । विस्तारै सहकार्यको वातावरण बन्दैछ । नेपालबाट कुन वस्तु आयात गर्न सकिन्छ भनेर मार्केट स्टडी पनि गर्दैछौं । पर्यटन बजार, शिक्षा, कृषि, प्रविधिलाई कसरी जोड्न सकिन्छ भन्ने सम्भावनाहरु पछ्याउँदैछौं । नेपालका निकायसँग सम्वाद थालेका छौं ।
थाइल्याण्डमा आएका नेपालीहरु दूतावाससमक्ष के गुनासो लिएर आउँछन्, उनीहरुको समस्या के हो ?
थाइल्याण्ड राजदूतावासले थप चार मुलुकमा नेपाली पनि हेर्नुपर्छ । सिंगापुर, कम्बोडिया, भियतनाम र लाओसमा पनि सेवा दिनुपर्छ । ती देशमा बेलाबखत राहदानी क्याम्प लगाउँछौं । यो वर्ष सिंगापुरमा दुइटा क्याम्प लगायौं । कम्बोडियामा भर्खरै सकेर एउटा टोली फर्कियो । राहदानी उपलब्ध नभएर भिसाको समस्या नहोस्, रोजगारी निरन्तरतामा अफ्ठेरो नहोस् भन्ने हिसाबले काम गरिरहेका छौं ।
दोस्रो, यहाँ विद्यार्थीहरु कलेजसँगका संयुक्त कार्यक्रममा पढ्न आउनुहुन्छ । दुई वर्ष नेपाल पढेर एक वर्ष यता पढ्ने अथवा पढिसकेर इन्टर्न गर्न आउनेहरुको प्लेसमेन्ट समस्या आउँदा हामीले डकुमेन्ट जारी गर्ने, संस्थानहरुसँग कामको कुरा गरिदिने, यो हिसाबले ट्याकल गर्छौं । अर्को यहाँ नियमित बसिरहेका नेपालीको नवीकरण गर्ने, नयाँ बच्चा जन्मियो अथवा व्यक्तिगत घटनामा आवश्यक डकुमेन्ट बनाउने छ । यसबाहेक अर्को समस्या के आएको छ भने नेपालबाट मानव तस्कर हुने क्रम चलेको छ । त्यसमा कही न कही युरोप अमेरिका जाने र खासगरी अनलाइन स्क्याममा जोडिनेगरी मान्छेहरुले थाइल्याण्डलाई ट्रान्जिटको रुपमा प्रयोग गरेको देखिन्छ । त्यसमा जोडिने नेपालीहरुलाई बेलाबखत विभिन्न निकायहरुको सहकार्यमा उद्धार गर्ने, सुरक्षित घर पठाउनुपर्ने स्थिति छ । अरु कतिपय समस्या हाम्रो जानकारी बाहिर हुनसक्छ । आफै पीडित हुँदा पनि राजदूतावासमा नआउने पनि छ । जब समस्या आउँछ त्यसपछि खबर आउँछ, सेटल गरिन्छ । त्यो हिसाबले पनि केही मान्छेलाई तस्करीको रुट बनेको देखिन्छ । अनलाइन स्क्यामिङमा प्रयोग हुने डेस्टिनेसनको रुपमा यो प्रयोग भएको जस्तो थियो । अहिले राजदूतावासले यहाँको प्रशासनको सहयोगमा स्क्यामिङको रुटसम्म नजिक पुग्न सक्ने माध्यमहरु प्रयोग गरेर उद्धार गरिरहेका छौं । अहिले दुबईबाट आएर पनि स्क्यामिङको अफ्ठेरो बाटोमा प्रवेश गरेको देखिएको छ । विभिन्न बहानामा ल्याउने, अर्को ठाउँ पठाउने, प्रलोभन दिने, यहाँ ल्याएर वर्क भिसाहरु बनाइदिएर राखिदिने, फेरि अरु ठाउँ डाइभर्ट गर्ने समस्या छन् । यसमा हाम्रो अनुरोध के छ भने कोही पनि नागरिक यहाँदेखि अर्को मुलुक जान सकिँदैन, यहाँ आउनु भनेको स्क्यामिङमा फस्नु हो । पर्यटन, अध्ययन, व्यवसायको लागि ठिक छ । तर यो मुलुकबाट अर्को मुलुक जानेगरी आउनुहुन्छ भने त्यो सरासरी आफैले आफैलाई धोका दिने हो । त्यो काम नगरिदिनुहोला । एकपटक चंगुलमा पर्नभयो भने यहाँहरुको आफ्नो पैसा, लगानी र जीवनकै जोखिम हुन्छ । किनकि यो बोर्डर बाहिर जाने वितिकै उद्धार गर्न सकिँदैन । सरकारको कमजोर उपस्थिति भएका कतिपय छिमेकी मुलुकहरुमा समस्या छ, यो देखि बच्नुपर्नेछ । यो बढ्दै गएको चुनौतीको रुपमा देखिएको छ, यसमा सबैको सहयोग आवश्यक छ ।
थाइल्याण्ड मानव तस्करको ट्रान्जिट बन्दै गएको देखिन्छ । यसलाई रोक्न दूतावासले के कस्तो कामहरु गरिरहेको छ ?
पर्यटन भिसा सजिलो हुँदा थाइल्याण्डलाई ट्रान्जिट बनाउने प्रवृत्ति देखिन्छ । अर्कोतिर नेपालीहरु लागुपदार्थ ओसारपसारमा फसेका छन् । यद्यपि यो संख्या धेरै छैन, ८/१० जना छन्। अधिकांश लागुपदार्थ ओसार पसार गरेको लागुपदार्थसहित पक्राउ परेका छन्। यसमा सजग हुन र जोगिन जरुरी छ । अर्को यहाँदेखि युरोप अमेरिका पठाइदिने प्रलोभन अथवा यही नै राम्रो काम दिलाइदिन्छु भन्ने प्रलोभन, वा यहाँदेखि अमुक स्थानमा अरु धेरै रकम प्राप्त हुन्छ भनेर लैजाने र अनलाइन स्क्यामिङमा उपयोग गर्ने सेन्टरको रुपमा प्रयोग गर्ने प्रयास भइरहेको छ । अहिले हामी निरन्तर प्रयासमा उद्धार गरेर पठाउने, स्थानीय प्रशासनको सहयोग फिर्ता ल्याउने, उनीहरुका बारेमा जानकारी दिने काममा छौँ, अझै पूर्ण रुपमा रोकिएको छैन । यसमा सबै सजग हुन जरुरी छ, थाइल्याण्ड आएर अरु मुलुक जाने बाटो खुल्दैन । भ्रममा परेर नआउनुस् । कुनै काममा श्रम स्वीकृतिसहित स्पष्ट रुपमा भएर आउनुस् ।
मानव तस्करको चंगुलमा फसेका नेपालीहरुलाई अहिलेसम्म कति उद्धार गरियो ?
पछिल्लो दुई महिनामै हामीले म्यानमारका विभिन्न ठाउँमा अनलाइन स्क्यामिङमा फसेका १३ जनालाई उद्धार गरेर पठायौं । बन्धक बनाएको अवस्थामा विभिन्न चरणमा उद्धार गरेर पठाइरहेका छौं । कतिपय आफै स्क्यामिङमा सामेल भइरहेका छन् । आफू उम्किन नजिककोलाई बन्धनमा पारेका छन् । आफन्तले आफन्तलाई ल्याएको छ । यो नेटवर्कभित्र डरलाग्दो अवस्था छ । त्यसैले आफू आउनुअगाडि म कहाँ जाँदैछु, कुन कम्पनीमा जाँदैछु, त्यसको लिगल स्टाटस के छ ? श्रम स्विकृति छ कि छैन हेर्न अनिवार्य छ । मानिसहरुलाई प्रलोभनमा पारेर दुरुपयोग गर्ने प्रवृति निरुत्साहित पार्न सबै लाग्नुपर्छ ।
युरोप अमेरिका लानका लागि बैंककमा नेपालीहरु राखेको सुनिन्छ, दूतावासमा त्यस्तो केही गुनासोहरु आउँछ ?
धेरै संख्या छैन । उजुरी आउँछ, उद्धार गर्छौं । अहिले चेतना हुँदै गएको छ । यो आफै सजग हुने विषय हो । जानकारी आएपछि स्थानीय प्रहरी प्रशासनसँग मिलेर खोजतलास गर्नु एउटा विषय हो । जानकारी नै नआई आफैले लुकेर बसिदिएपछि हामीलाई खोज्न पनि गाह्रो हुन्छ । शंका लागेर जानकारी आएका खोज्न लगाउँछौं ।
अवार्डहरु, फेस्टिभललगायत नाममा विभिन्न कार्यक्रमहरु नेपालबाट आएर थाइल्याण्ड भइरहेको छ । यो पैसा कमाउने धन्दाको रुपमा विकास भएको गुनासो सुनिन्छ । यसमा दूतावास पनि सहभागी भएर सहयोग गरेको पनि रहेछ । अहिले तपाईले कसरी हेर्नुभएको छ ?
कुनै पनि कार्यक्रम यहाँ आउँछ भने मिडियाले त्यसको बारेमा प्रष्ट लेखिदियो भने स्पष्ट हुन्छ । हामीले त्यस्ता कार्यक्रमबारे धेरै सुनेका छौं । नेपालीले नेपालीलाई नै पुरस्कृत गर्न थाइल्याण्ड आउने, यो के हो, प्रयोजन के हो, कुन फोरमको रुपमा प्रयोग गरियो, आयोजकले पनि सोच्नुपर्छ । एक-दुई पटक त झुक्याउन सकिएला, तर पटक पटक गर्दा त यो मुलुकको प्रशासनको आँखामा उहाँहरुसँगै आएका मान्छेहरु लुकेर बसे अथवा यहाँदेखि कुनै तस्करीमा संलग्न भएको रेकर्ड भयो आयोजकलाई नै त्यसले नकारात्मक असर पार्छ । नेपालको नाम जोडेर आयोजना गर्दा दुरुपयोग गरियो भने सिंगो मुलुक र समाजलाई असर गर्छ । दोस्रो कतिको क्रेटिबल, उपयुक्त छ हेर्नुपर्छ । हामीले चिन्दै नचिनेको मानिस यहाँ सम्मानित गर्न ल्याउनुको अर्थ के हुन्छ ? सम्मान गर्ने नेपाली, सम्मान पाउने नेपाली अनि थाइल्यान्ड आउनुको अर्थ के हुन्छ ? थाइल्याण्डमा नेपालीले गर्ने कार्यक्रमको औचित्य पुष्टि हुन पर्यो। अब सांस्कृतिक रुपले गरिने कार्यक्रममा यहाँका कुनै न कुनै संस्था औपचारिक रुपमा जोडिनुपर्यो । कुनै एउटा कोठामा ल्यायो, मैले सम्मान दिए भन्यो, त्यसको अर्थ के हुन्छ । यसमा एक-दुई पटक झुक्याउन सकिएला, तर यसले समग्रमा सबैलाई भोलि सोच्नुपर्ने, भिसा दिने निकायले हेर्ने, अध्यागमनले पनि हेर्ने, सबै निगरानीभित्र पर्ने विषय हुन्छ । यसलाई दुरुपयोग गर्नेले गम्भीर रुपले विचार गर्नुपर्ने हुन्छ । भोलि राम्रा कार्यक्रम गर्दा फेरि सोच्ने दिन नआओस् । राजदूतावास अहिले त्यस्ता कुनै सम्मानका कार्यक्रममा कुनै तहको सहभागिता छैन । नेपालबाट औपचारिक रुपमा सरकारी माध्यमबाट वा भरपर्दो निकायबाट लेखिआए बाहेक दूतावास संलग्नता देखाउँदैन । तर आवश्यकताअनुसार यहाँको एनआरएनए र टिएनए जस्ता संस्थामा आवश्यकताअनुसार सहभागिता हुने गरेका छौं । त्यसबाहेक कुनै पनि कार्यक्रममा राजदूतावास चनाखो छ । गलत नियतले नगर्न आह्वान गर्दछौं ।
यहाँ थाइ नेपाली संघको प्रसंग आयो । म्यानमारबाट आएका र थाइल्याण्डको नागरिकता पाएका नेपालीहरुको समस्या यहाँ के रहेछ ?
थाइ नेपाली संघ (टिएनएन)२०१० मा स्थापना भएको हो । यो थाइल्याण्डको कानुनअनुसार दर्ता भएको नेपाली मुलका थाइ नागरिकको संस्था हो । कानुनी रुपले हामीसँग नजोडिए पनि नेपाली भाषा संस्कृतिको हिसाबले हामीसँग जोडिन्छ । सन् २००० बाट नेपालीहरुले यहाँ नागरिकता पाउन सुरु गरेको हो । उहाँहरु चार/पाँच पुस्तादेखि थाइल्याण्डमा हुनुहुन्थ्यो ।तर सन् २००० देखि विधिवत रुपमा थाइ नागरिकको रुपमा यहाँ बसिरहनुभएको छ । उहाँहरुसँग हाम्रो दुइटा सम्भावना छन् । एउटा नेपाली मूलका थाइ नागरिकहरुले केही न केही रुपमा आफ्नो आर्थिक स्थितिलाई राम्रो बनाउनुभएको छ, व्यवसायमा संलग्न हुनुहुन्छ । उहाँहरुमा चिन्ता के छ भने आउँदो पुस्ताले नेपाली भाषा साहित्य संस्कृतिलाई बिर्सिन्छन् कि ? पछिल्लो पुस्तामा कसरी सार्दै जान सकिएला भन्ने चिन्ता छ । त्यसलै समर बिदामा समर क्याम्प गर्ने छ । त्यसमा हामीले पनि सहयोग गरेका छौं ।
सँगसँगै त्यहाँ सम्भावना पनि छ, थाइल्यान्डमा बसेका नेपाली मूलका थाई नागरिकहरुको आफ्ना छोराछोरीलाई नेपाल पढ्न पठाउने ठूलो रहर छ ।थाइल्यान्डमाशिक्षाअर्कोठूलोक्षेत्रहो, जसले विदेशी पैसा आर्जन गर्छ ।कुनैविदेशीविद्यार्थीभर्ना भयो भने उसको अभिभावकलाई समेत शिक्षा क्याटेगोरीमा भिसा दिन्छ ।पढ्न आउने संख्या ठूलो छ । यसले विदेशी मुद्रा आयो, आर्थिक गतिविधि पनि बढ्यो । यसैगरी हामीले नेपाली मूलका केही हजार विद्यार्थी नेपाल किन नलैजाने ? फेरि हाम्रो शिक्षा संसारकै स्तरीयतामा पर्छ । हाम्रा विद्यार्थी संसारका सबै ठाउँ पुगेका छन् । एआईटीमा पनि नेपालीहरु पढाउँछन् । यो सम्भावनालाई हामीले किन आँकलन नगर्ने ? वर्षमा दुई–तीन हजार विद्यार्थी लैजाने गरी भिसामा सहजीकरण, उनीहरूका अभिभावकलाई सहज भिसाको व्यवस्था किन नगर्ने ? एउटा ठूलो सम्भावना छ, जहाँ हामीले प्रयोग गर्न सक्छौँ । विद्यालयदेखि विश्वविद्यालयसम्म नेपाली भाषा, साहित्य र संस्कृतिमा रुचि भएका नेपाली मूलका विद्यार्थीलाई ल्याउन पहल गर्नुपर्नेछ । धेरै छलफल गरेका छौं, काम अगाडि बढेको छ । विद्यार्थीलाई दूतावासको सिफारिसमा केही सहुलियत हुने अस्थायी खालको निर्णय मन्त्रिपरिषद्बाट भएको छ । यसलाई ऐन नियमावलीमै व्यवस्था गर्न पहल जारी छ ।
नेपाली भाषीको नेपालप्रतिको अपेक्षा के पाउनुभयो ?
उहाँहरुलाई यहाँको परिचयपत्र, नागरिकता दिलाउन दूतावासले नै पहल गरेको हो । त्यसबेलाको राष्ट्राध्यक्षको भ्रमणबाट सफल हुन गएको हो । उहाँहरुको नेपालप्रतिको अपेक्षा भनेको हाम्रा बालबालिकालाई पढ्न सहज बनाइदिए हुन्थ्यो, भिसामा सहुलियत दिए हुन्थ्यो, आफ्नै मुलको ठाउँमा जाँदा विदेश व्यवहार भयो, हामीलाई कतै मान्यता दिए हुन्थ्यो, छोराछोरी सजिलै पढ्न पाएर बस्न दिए हुन्थ्यो, नेपाल पढाउन पाए हुन्थ्यो भन्ने माग छ । उहाँहरु शिक्षामा साथसाथै चाडपर्वमा पनि अन्तर्राष्ट्रिय बजार हो । सांस्कृतिक सम्वर्द्धनमा दूतावासले सहयोग पनि गरिरहेको छ । तर कानुनीरुपले उहाँहरुसँग जोडिन सकिएको छैन । संविधानले नै दुई पुस्तालाई एनआरएन भनेको छ । उहाँहरुले कतै न कतै नेपाली भनेर मान्यता दिए हुन्थ्यो, नेपाली परिचय दिए हुन्थ्यो भन्ने छ । कस्तो परिचय दिने भन्ने नेपालको राजनीतिक नेतृत्वले आवश्यक निर्णय गर्नेछ ।
नेपाली पढाउने विद्यालयको अवस्था के रहेछ ?
म आइसकेपछि यहाँ कति जना लेख्ने छन् भनेर खोजियो । भाषा र अक्षर सकियो भने मुखले त बच्दैन । चार सयको उपस्थितिमा कला साहित्य विमर्श भयो । उहाँहरुले भाषा साहित्य विभाग नै सञ्चालन गर्ने भनेका छन् । समरमा विद्यार्थी पढाउने, एक हप्ताको शिक्षा शिविर गर्नुहुन्छ । संस्थागत रुपमा काम गर्न घच्घच्याउँदैछौं । केही सहकार्यका काम सुरु भएका छन् ।
दूतावासमा जनशक्तिको अभाव कस्तो छ ?
यो ठूलो समस्याको रुपमा छ । मुलुकको आर्थिक परिस्थिति, कामहरुको रेसियो बढ्दै जानु, त्यही रेसियोमा हामीले जनशक्ति बढाउन सकेका छैनौं । दिनकै हजारसम्म भिसा एप्लिकेसन आउँछ । तर भिसा सेक्सन नै खाली छ । समग्रतामै परराष्ट्र मन्त्रालय नै अभाव खेपिरहेको छ । दरबन्दी नबढ्नुमा एउटा त मुलुकको आर्थिक स्थिति हो । अर्को कामहरुको रेसियो बढ्दै जाँदा त्यही अनुसार जनशक्ति अझै बढाउन सकेनौं । समस्या भए पनि प्रविधि प्रयोग गरेर, अनलाइनबाट व्यवस्थापन गरिरहेका छौं । छिटै थपिने आशा छ । पाँच वटा मुलुकका साथै राष्ट्रसंघका कार्यक्रमहरु पनि हेर्नुपर्छ । जनशक्तिको समस्या नै छ ।
राजदूत हुँदै गर्दा यहाँले उच्चस्तरीय भ्रमण गराउन पहल गर्छु भन्नुभएको थियो । कस्तो पहल हुँदैछ ?
उच्चस्तरीय भ्रमण नभइकन मुलुकको सम्बन्धलाई उचाइँमा लैजान कठिनाइ हुन्छ । त्यसैले जतिसक्यो चाँडो दुई देशको बीचमा भ्रमण हुनुपर्छ, भएका संरचना मेकानिजम एक्टिभेट हुन् र दुई मुलुकबीच केही सम्झौताहरु थप गर्ने र त्यसलाई कार्यान्वयन गर्दै जाने हिसाबले हामी आएकै दिनदेखि प्रयत्नरत छौं । आशा गर्छौं चाँडै नै उच्चस्तरीय भ्रमण हुनेछ । त्यसको तयारी भइरहेको छ । भ्रमणमा केही द्विपक्षीय हस्ताक्षर र सम्झौता हुने र त्यसलाई कार्यान्वयनमा लैजाने हुन्छ । तिथिमिति यही भन्ने छैन, चाँडै टुगो लाग्छ भन्ने विश्वास छ । खासगरी प्राविधिक सहयोग, एकअर्काबाट सिक्ने सिकाउने भनेर नयाँ समझदारी गरेर दुई मुलुकलाई सहकार्यमा लैजाने प्रयत्न छ । उच्चस्तरीय भ्रमणको प्रयास भइरहेको छ ।
थाइल्याण्डमा ९३ प्रतिशत बौद्धमार्गी छन्, उहाँहरुलाई बुद्ध जन्मेको देशको रुपमा नेपालसँग कसरी जोड्ने ?
थाइल्याण्डसँग नेपालको सम्बन्ध बुद्ध जन्मिनुभन्दा पहिला पनि कायम रहेको देखिन्छ । थाइल्यान्डका अहिलेका राजाको पिताले ‘महाजनक’ पुस्तक लेखेर नेपालमा उपहार पठाउनु भएको छ । उहाँले जनकबाट प्रभावित भएर लेख्नुभएको छ । जबकी जनकपुर हामीकहाँ छ, आज पनि त्यो सम्बन्धलाई कायम राख्नुहुन्छ भने बुद्धभन्दा त्रेतायुगदेखिको सम्बन्ध छ । यसैगरी बुद्धिजमको विकास र शिक्षाको आदानप्रदानमा नेपालसँग असाध्यै नजिक छ । आज पनि नजिक छ । थुप्रै भिक्षु यहाँ अध्ययन गर्न आउनुभएको छ, नेपाल जानुहुन्छ । यहाँको राज्यसत्ताको निकै माथिल्लो तहमा हाम्रा भिक्षुहरुले धर्मदेशना गर्नुहुन्छ । त्यसैले सांस्कृतिक र सभ्यताको हिसाबले आज पनि असाध्यै नजिक छौं । नेपालका भिक्षुहरु सम्मानित तहमा हुनुहुन्छ । राजदरबार तहसम्म शिक्षा दिने तहमा हुनुहुन्छ । यो हिसाबले सांस्कृतिक रुपले असाध्यै नजिक छौं, त्यसलाई आम जीवनसँग जोड्न प्रयास गर्नुपर्छ ।
सांस्कृतिक रुपले गहिरो सम्बन्ध हुँदाहुँदै नेपालमा थाइ नागरिक त्यति भ्रमण गरेको देखिँदैन, यसमा जटिलता के छन्, के गर्यो भनेर हजारौं थाइ नागरिकलाई नेपाल आउन लालायित बनाउन सकिन्छ ?
थाइल्याण्डसँग हाम्रो तीनवटा फ्लाइट छ । एउटा नेपाल एयरलाइन्स, दुइटा थाइल्याण्डका छन् । अर्को काठमाडौंमात्रै जोडियो । लुम्बिनी र पोखरामा अझै अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । साथै, तुलनात्मक रुपमा नेपाल जानुभन्दा हाम्रा छिमेकी राष्ट्रहरुमा जान सस्तो फ्लाइट र सहज छ । हामीसँग गइरहेका पर्यटक पनि सबै काठमाडौंमा ओर्लिने छैनन् । धेरैजसो भारतमा जाने अनि त्यहाँबाट लुम्बिनी जाने संख्या अधिक छ । त्यसलाई कसरी हाम्रोतिर आकर्षित गर्न सकिन्छ, कसरी प्रतिस्पर्धी उडानहरु विकास गर्न सकिन्छ, कसरी हाम्रा प्याकेजलाई डाइभर्सिफाइ गर्न सकिन्छ, हामीले थाइल्याण्डलाई जोड्ने लुम्बिनीमात्रै होइन मनाङ मुस्ताङ लगायत नेपालभर जोड्नका लागि नीतिगत व्यवस्था गर्न सहकार्य भइरहेको छ । सम्भावना हुँदाहुँदै कम सफलता हासिल गरेको अवस्था हो । हाम्रोमा जाने दुई तीन वटा फ्लाइट हुँदा छिमेकमा जाने २० औ फ्लाइट हुन्छ । हाम्रोमा जाने फेयरभन्दा छिमेकबाट आउन जान सस्तो पर्छ । कनेक्टिभी पनि कमजोरी भयो । ठूलो बजारसँग आफूलाई कसरी प्रस्तुत गर्ने कुरा पनि हुन्छ । प्रतिस्पर्धी रुपमा आउनुपर्छ । थाइल्याण्डबाट नेपाल जाने तथ्यांक ३० हजार भन्दा बढी छ । तर उनीहरुले नेपालमा कति समय विताए त्यो महत्त्वपूर्ण छ । कम्बोडिया, भियतनाम, लाओसबाट कसरी चार्टर फ्लाइट गर्न सकिन्छ भन्ने अर्को पक्ष हो । पर्वहरुसँग जोड्न सकिन्छ । नीतिगत सुधार गर्नुपर्नेछ, हामीले सरकारको ध्यानाकर्षण गराएका छौं । छिट्टै नतिजा आउनेमा आशावादी छौं ।