काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिलेको व्यवस्था सबैभन्दा उत्तम व्यवस्था रहेको बताउनुभएको छ। शनिबार पाल्पाको तानसेनमा कांग्रेसको प्रथम सम्मेलनको उद्घाटन गर्नुहुँदै सङ्घीयता, शासकीय स्वरुपका विषयमा छलफल गर्न सकिने भए पनि व्यवस्थाको विषयमा छलफल हुन नसक्ने बताउनुभयो।
केही दुई-चार जना नेताको कारणले व्यवस्था नै नराम्रो हो भन्ने तरिकाबाट कांग्रेस अगाडि बढ्न नसक्ने उहाँको भनाइ छ। व्यवस्था मात्र परिवर्तन गर्ने बहसले अर्को पुस्ताले थप २० वर्ष दुःख पाउने उहाँको भनाइ छ। नागरिकले अहिले पनि राम्रो दिन आएको महसुस गर्न नपाएकाले राम्रो दिन आयो भनेर जनताले भन्न सक्ने वातावरण बनाउनुपर्नेमा उहाँको जोड थियो। विगतदेखि भइरहेको भ्रष्टाचार र कुशासनको कारणले नागरिकमा व्यापक असन्तुष्ट रहेको महामन्त्री थापाले बताउनुभयो।
देशमा व्याप्त भ्रष्टाचार र कुशासनलाई नेपाली कांग्रेसले नागरिकलाई जवाफ दिन सक्नुपर्ने महामन्त्री थापाले प्रष्ट पार्नुभयो । अन्य दललाई जस्तो कांग्रेसलाई नागरिकको प्रश्नबाट भाग्न मिल्ने अवस्था नरहेकाले प्रत्येक प्रश्नको जवाफ कांग्रेसले दिनुपर्ने उहाँको जिकिर छ। अहिले चर्चामा रहेको सुनकाण्ड र एनसेल प्रकरणको पनि कांग्रेसले के हो भनेर जवाफ दिन सक्नुपर्ने बताउनुभएको छ।