काठमाडौं । ९ वर्षपछि अभिनेता राजवल्लभ कोइरालाको पुनरागमन पक्का भएको छ । फिल्म ‘एक्टर’मा उनी अनुबन्धित भएका छन् । निर्माता थमनकुमार भण्डारीले अभिनेता कोइरालासँग बिहीवार लिखित सहमति भएको बताए । उनका अनुसार बैशाख पहिलो सातादेखि छायांकन हुने फिल्मका लागि कोइराला नेपालमा २० दिन बस्नेछन् ।
सुरुमा छायांकन र त्यसपछि प्रिमियरको मौका छोपेर राजवल्लभलाई बोलाउने निधो भएको निर्माताले बताए । ‘फिल्ममा उहाँको प्रमुखमध्येको भूमिका छ’ उनले भने, ‘क्यारेक्टर सानो भयो भनेर दर्शकले चित्त दुःखाउनुपर्दैन ।’ यो फिल्मलाई आउँदो तिहारमा प्रदर्शनको तयारी छ । कोइरालाको पछिल्लो फिल्म ‘हे युवा’ सन् २०१५ मा रिलिज भएको थियो ।
हाइवे टु धम्पुस’ रिलिजको समयमा उनी अमेरिका लागेका थिए । राजवल्लभलाई फिल्ममा अनुबन्धित गरिएको बारे जानकारी दिन निर्माताले उनको क्यारेक्टर पोस्टर सार्वजनिक गरेका छन् । जसमा काउब्वाय ह्याट लगाएको र दाह्री पालेको अवतारमा उनी प्रस्तुत छन् । राजन भुसालले निर्देशन गर्न लागेको यो फिल्म अदृत फिल्म्सको ब्यानरमा बन्न लागेको हो ।
प्रशस्तै फिल्ममा सहायक निर्देशकको अनुभवपछि भुषाल यसबाट निर्देशकको रुपमा डेब्यु गर्न लागेका हुन् । यो फिल्मले चलचित्रको जर्नीबारेको कथा पेश गर्छ । काठमाडौंसहित पोखरा र उपल्लो मुस्ताङको लोकेसनमा फिल्म छायांकन हुने भएको छ । फिल्ममा अर्की एक अभिनेत्रीको खोजी भैरहेको छ । फिल्मलाई नरेन्द्र मैनालीले छायांकन गर्नेछन् ।