काठमाडौं । आन्तरिक राजस्व कार्यालय बाग्लुङका कर अधिकृत मोहन प्रसाद आचार्य लोकसेवा पास गर्नु भन्दा पहिला शिक्षण सेवामा हुनुहन्थ्यो । हामीले उहाँलाई लोकसेवा पास कसरी गर्ने भन्ने प्रश्नमा उहाँले भन्नुभयो, यो प्रश्न मलाई सबै भन्दा बढी आउने गरेको छ ।
बढ्दो प्रतिस्पर्धा र सिमीत कोटामा अट्नुपर्ने बाध्यताका कारण लोकसेवाको परिक्षामा उतिर्ण भइ छनौट हुनु चुनौतीपुर्ण बन्दै गएको छ । लोकसेवा उतिर्ण गर्नेलाई सबै भन्दा बढी सोधीले प्रश्न भनेकै यहि हो । उहाँले भन्नुभयो, म सँग नजिक हुनुहुने केही साथीहरुले लोकसेवामा कसरी लेखेमा उतिर्ण भइदो रहेछ भनेर जिज्ञासा राख्ने गर्नुभएको छ ।
शिक्षक पृष्ठभुमि र लोकसेवा परीक्षामा पाएको सफलताको कारण पुर्व विद्यार्थी लगायत अन्य साथीहरुले म बाट केही सिक्न सकिन्छ कि भनेर अपेक्षा राख्नु भएको होला । लेखन कला आफैमा एक सामाजिक विज्ञान हो । अझ भनौ यो आधा विज्ञान र आधा कलाको मिश्रण हो । यसमा यही नै तरिका भन्ने हुदैन । सबैका फरक फरक बुझाई हुन्छन । उहाँले आफ्नो अनुभव हामीसँग यसरी राख्नु भयो ।
मेरो बुझाईः
१.पहिलो कुरा त विषयवस्तुमा परिपक्व धारणा बन्नु आवस्यक छ । त्यसको लागि तयारी मजबुत बनाउनु पर्छ । अहिले स्रोतको अभाव छैन । स्रोत जुन प्रयोग गरेपनि बुझाइ बलियो बनाउनुपर्छ ।
२.कसरी लेख्ने भन्ने कुराको कुनै मुर्त जवाफ छैन किनकि लोकसेवाले लेखनको लागि कुनै फर्म्याट तोकेको छैन ।
३. मुख्य कुरा प्रश्न र उत्तर बीचको संगती मिलाउनु आवश्यक छ । त्यसको लागि राम्ररी प्रश्न बुझ्नु पर्यो ।
४.उत्तर लेखनको शुरुवात गर्दा प्रश्नले अपेक्षा गरेका विषयहरुलाई मौलिक शैलिमा सम्वोधन गर्नुपर्छ । जसले उत्तरको पृष्ठभुमि तयार गर्छ ।
५.उत्तरको पहिलो खण्डले तपाईको मौलिकताको अपेक्षा गरेको हुन्छ । उत्तर कति सिर्जनात्मक बनाउने कुरा सुरुवातले नै निर्धारण गर्छ । त्यसकारण मौलिक शैलीबाट लेख्न सुरुवात गर्नुपर्छ ।
६.परिचय,अवधारणा,विश्व परिवेश तथा नेपालको अभ्यास लगायतका कुरामा आफ्नो स्पस्ट बुझाइ झल्किनु पर्छ ।
७. उत्तरमा तथ्यसंगतता तर्कसंगतता र आधिकारिकता अर्को मुख्य कुरा हो । तथ्य र आधिकारिकता बाटो हो भने उत्तरलाई कसरी कुदाउने त्यो आफ्नो कला हो ।
८. प्रश्नले माग गरेका विषयवस्तु अनुसार सिलसिलावार उत्तर दिनुपर्ने हुन्छ ।
९. वाक्य संरचना मिठासपुर्ण र ओजपुर्ण हुनुपर्छ ताकि जाँचकिलाई पढ्दा नै आनन्द आओस ।
१०. उत्तरले संविधान,आवधिक योजना, सम्बन्धित नीति, कानुन तथा शासकीय अभ्यासहरुलाई छुने प्रयास गरेको हुनुपर्छ ।
११. उत्तरमा कुनै प्रकारको पुर्वाग्रहको गन्ध हुन हुदैन । प्रश्न जस्तो भएपनि सन्तुलित धारणा राख्न सक्नुपर्छ ।
१२. प्रश्नको देखिने र नदेखिने पाटो बुझेर उत्तरको दायरा सिमित गर्नुपर्छ । अनावश्यक रुपले बहकिएर बाहिर जान हुदैन ।
१३. वाक्य छोटा तर पुरा लेख्नुपर्छ ।
१४.अन्य सजावट भन्दा उत्तरको गति महत्वपुर्ण छ । सुरु विच र अन्त्यमा लेखिएका कुराले प्रश्नलाई न्याय गर्न सक्नुपर्छ ।
१५.सबैभन्दा महत्वपुर्ण हतियार समय हो । समयको ख्याल गरेर लेख्नु पर्छ । प्रश्नका खण्डलाई समानुपातिक रुपले समयको विभाजन गर्नुपर्दछ ।
१६.उत्तरमा विषयवस्तु दोहोरिनु हुदैंन । प्रश्नको गति अनुसार उत्तर पनि बग्नुपर्छ ।
१७.निष्कर्ष अनिवार्य लेख्नुपर्छ । निष्कर्षले प्रश्नले मागेको र आफुले लेखेको उत्तरको समिक्षा गर्न सक्नुपर्छ । अझ थप बाकि तपाईको आफ्नोपन हो ।