बैंकक, १३ असार
थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर वलीले नेपालको पर्यटन प्रवर्द्धनका लागि बैंककमा सक्रियता बढाएका छन् । चार महिनाअगाडि थाइल्याण्डका लागि राजदूत नियुक्त भएका वलीले कार्यभार सम्हालेदेखि पर्यटन व्यवसायबाट चलेको थाइल्याण्डमा नेपालको प्राकृतिक संरचना, भौगलिक बनावट, हिमाल क्षेत्र, शान्तिका दूत भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीलगायतको प्रवर्द्धन गरिरहेका छन् । यसका लागि थाइल्याण्डका सरकारी तथा गैरसरकारी निकाय, पर्यटन व्यवसायी, विभिन्न नियोगहरुसँग निरन्तर छलफल अगाडि बढाएका छन् । नेपाल पर्यटनको भर्जिन ल्याण्ड हो भनेर बुझाइरहेका छन् । पर्यटकका लागि नेपाल सरकारले दिने सहुलियतबारे जानकारी गराइरहेका छन् । यतिमात्रै होइन थाइ उद्योगीलाई नेपालमा लगानी गर्न उत्प्रेरित पनि गरिरहेका छन् ।
पर्यटन प्रवर्द्धनको अभियानअन्तर्गत राजदूत वलीले हालै थाइल्याण्डका ५० टुर एण्ड ट्राभल कम्पनीसँग अन्तरक्रिया गरेका छन् । यसमा नेपालका २५ वटा टुर ट्राभल कम्पनीलाई पनि समावेश गराएका छन् ।
राजदूत वलीको पहलमा विहीबार बैंककमा ‘एक्सपेरियन्स नेपालः लुम्बिनी टु हिमालयन ब्लिस’ पर्यटन प्रवर्द्धन कार्यक्रम सम्पन्न भएको छ । नेपाली दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा भएको कार्यक्रममा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा), ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), नेपाल पर्वतारोहण संघ (एनएमए) र नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सीज (नारा) सह आयोजक थिए । नेपाली दूतावासकाअनुसार कार्यक्रममा नेपालका २५ ट्राभल/टूर कम्पनीहरू, थाइल्याण्डका ५० ट्राभल/टूर कम्पनीहरू र तीनवटा एयरलाइन्स (नेपाल एयरलाइन्स, थाई एयरवेज र थाई लायन एयर)का प्रतिनिधिसहित नेपाल र थाइल्याण्डबाट जम्मा ७५ कम्पनीले सहभागिता जनाएका थिए । कार्यक्रममा उद्यमी, सञ्चारकर्मी, गैरआवासीय नेपाली संघ, थाइल्याण्ड र थाइ–नेपाल संघका प्रतिनिधिहरुको सहभागिता थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै थाइल्याण्डका लागि नेपालका राजदूत वलीले पर्यटन क्षेत्रको व्यवसायिक सम्भावनाको खोजी गर्न सहभागी सबैलाई आग्रह गरे । नेपालले थाई पर्यटकहरूलाई भगवान बुद्धको जन्मस्थल लुम्बिनी र शान्तिको स्रोत, राजर्षि महाराजा जनकको राजधानी सहर जनकपुरदेखि हिमालयको मंत्रमुग्ध गर्ने अनौठो अवसर प्रदान गर्ने उनले जानकारी गराए । नेपाल सांस्कृतिक, सम्पदा स्थल, प्रकृति प्रेमी, तीर्थयात्री, साहसिक, मनोरञ्जन, खेलकुद, जङ्गल सफारीलगायतका सबै मौसम र हरेक वर्गको पर्यटकको गन्तव्य रहेको उनले सुनाए । धेरै लामो मैत्रीपूर्ण र ऐतिहासिक सम्बन्ध भए पनि दुई देशबीच अझै धेरै कुराहरू अन्वेषण गर्न बाँकी रहेको राजदूत वलीको भनाइ थियो । ‘यस प्रकारका व्यापार बैठकहरूले पर्यटनको सम्भावनालाई ट्याप गर्न दुई व्यवसायिक समुदायहरू बीच व्यापार सञ्जाल, साझेदारी विकास, र जानकारी साझा गर्ने अवसरहरू प्रदान गर्ने अपेक्षा गरिएको छ,’ उनले भने । राजदूत वलीले नेपाल र थाइल्याण्डबीचको पर्यटन प्रवर्द्धनका लागि आवश्यक सबै सहयोग उपलब्ध गराउन दूतावास सधैँ साथमा रहने विश्वास दिलाए ।
सन् २००८ मा थाइल्याण्डबाट पहिलो सगरमाथा आरोहण गरेका तथा थाई नेपाल फ्रेन्डसिप एसोसिएसन (टिएनएफए) का अध्यक्ष विटिदनान रोजानापानिचले कार्यक्रममा सहभागीहरुसँग नेपाल र हिमालयको बारेमा आफ्नो अनुभव बाँडे । कार्यक्रममा दूतावासका उपप्रमुख प्रकाश अधिकारीले सहभागीहरूलाई स्वागत गरेका थिए ।
नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकारी नवीन पोखरेलले ‘एक्सपेरियन्स नेपालः लुम्बिनी टु हिमालयन ब्लिस’को बारेमा विषयगत प्रस्तुति दिए । आफ्नो प्रस्तुतिमा उनले भगवान बुद्धको जन्मस्थल लुम्बिनी लगायतका नेपालका प्रमुख पर्यटकीय स्थलहरू, आधुनिक सुविधा, खेलकुद, एयरपोर्ट, होटलको प्रबन्ध तथा हिमालयन आनन्दको बारेमा प्रकाश पारे । थाइ–नेपाल चेम्बर अफ कमर्स (टिएनसीसी) का पूर्व उपाध्यक्ष रमेशकुमार हमालले पनि नेपाल र थाइल्याण्डबीचको पर्यटनको सम्भावनाबारे चर्चा गरेका थिए ।
कार्यक्रममा थाई नेपाली समुदायका युवा कलाकारहरुले थाई नेपाली संघको सहयोगमा सांस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा सहभागी कम्पनी र एयरलाइन्सको प्रायोजनमा थाई पर्यटकलाई नेपाल भ्रमण गर्न प्रोत्साहित गर्न लक्की ड्र र्याफलमा चार राउण्ड ट्रिप एयर टिकट, होटल प्याकेज र र्याफ्टिङ प्याकेजहरू प्रदान गरिएको थियो ।