बैंकक– विश्व उच्च रक्तचाप दिवसको पावन अवसर पारेर ‘साहित्य मन थाइल्याण्ड’ले आफ्नो नियमित अनलाइन कार्यक्रम ‘आदर्श दिव्य दर्पण’को १७ औं शृङ्खला भव्य रूपमा सम्पन्न गरेको छ। मे १७ तारिख आइतबारका दिन आयोजित उक्त विशेष कार्यक्रम ‘बद्लिंदो जीवन शैली र उच्च रक्तचाप’ शीर्षकमा केन्द्रित रहेको थियो।
साहित्य मन थाइल्याण्डको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिएको यस कार्यक्रममा नेपालबाट वरिष्ठ विशेषज्ञ, योग तथा प्राकृतिक चिकित्सक प्रा.डा. हरि प्रसाद पोखरेल ज्यूको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा प्रबचन दिँदै प्रा.डा. पोखरेलले असन्तुलित खानपानका कारण मोटोपना, मधुमेह र उच्च रक्तचापजस्ता स्वास्थ्य समस्याहरू द्रुत गतिमा बढिरहेको कुरामा जोड दिनुभयो। बढ्दो व्यस्तता, आधुनिक जीवनशैली र तनावका कारण मानिसहरूको शारीरिक गतिविधिमा कमी आइरहेको चर्चा गर्दै उहाँले सजग रहनुपर्ने विभिन्न सूक्ष्म बुँदाहरू प्रस्ट पार्नुभयो। समयमै आफ्नो दैनिक जीवनशैलीलाई सही लयमा ल्याउन सके रोगमुक्त जीवन मात्र होइन, रोगहरूसँग भिडिरहनु पर्ने अवस्था नै नआउने उहाँको भनाइ थियो। दैनिक व्यायाम र योगले शारीरिक तथा मानसिक स्वास्थ्यमा पुर्याउने फाइदाबारे उहाँले भरपुर उपयोगी जानकारीहरू प्रस्तुत गर्नुभयो।
स्वास्थ्य चेतनाका साथै साहित्यको त्रिवेणी बनेको उक्त कार्यक्रममा थाइल्याण्डबाट विभिन्न स्रष्टाहरूले आ-आफ्नो जोडदार प्रस्तुति राखेका थिए। कार्यक्रममा भीमलाल खनालले उत्कृष्ट गजल वाचन गर्नुभएको थियो भने राज पौड्यालले ‘रक्तदान जीवन दान’ शीर्षकको कविता प्रस्तुत गर्नुभएको थियो। त्यसैगरी दीपा रानाले ‘लाज मान्नु पर्दैन’ नामक कविता वाचन गरेर कार्यक्रमलाई अझ रोचक बनाउनुभएको थियो।
साहित्य मन थाइल्याण्डका अध्यक्ष ओमप्रकाश न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको उक्त गरिमामय कार्यक्रमको कुशल सञ्चालन रविरचन्द्र अधिकारीले गर्नुभएको थियो। स्वास्थ्य र साहित्यलाई एकैसाथ जोडेर प्रस्तुत गरिएको यस अनलाइन कार्यक्रमलाई दर्शक तथा श्रोताहरूले निकै रुचाएका थिए।


