धरान : रातोपाटी डट कममा प्रकाशित समाचारले आफ्नो चरित्रहत्या गरेको र पठाएको खण्डनसमेत उचित ढङ्गले नछापेको भन्दै पत्रकार सञ्जिता धमलाले दिएको उजुरीका आधारमा प्रेस काउन्सिल नेपालले सम्बन्धित मिडियासँग तीन दिनभित्र लिखित स्पष्टीकरण मागेको छ।
असोज १४ गते रातोपाटीमा प्रकाशित ‘फिनेल प्रकरणमा नयाँ खुलासा : तालाबन्दीछि बन्यो ‘फिनेल’ ल्याउने योजना’ शीर्षकको समाचारमा बिना आधार र प्रमाण आफ्नो नाम जोडेर कपोलकल्पित सामग्री सम्प्रेषण गरिएको धमलाको आरोप छ। उजुरीकर्ता धमलाका अनुसार उक्त समाचारको खण्डन पठाउँदा रातोपाटीले मूल समाचारलाई सामाजिक सञ्जालमा व्यापक प्रचार गरे पनि खण्डनलाई भने वेबसाइटको कुनै कुनामा सीमित राखी सामाजिक सञ्जालमा सेयर नगरी लुकाउने नियत राखेको थियो।
सम्पादक तथा संस्थापकसँग पटक-पटक सम्पर्क गर्दासमेत गैर जिम्मेवार जवाफ पाएपछि आफ्नो व्यावसायिक निष्ठा र सत्य-तथ्य पत्रकारिताको रक्षाका लागि नियमनकारी निकाय धाउनुपरेको उनले बताएकी छन्।
प्रेस काउन्सिल नेपालका अनुगमन अधिकृत महेन्द्रराज सिंहद्वारा हस्ताक्षरित पत्रमा पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) को दफा ४(६) मा उल्लिखित सत्य तथ्य र सन्तुलित समाचार सम्प्रेषणसम्बन्धी व्यवस्थालाई ध्यानमा राख्दै समाचार तयार पार्दा अपनाइएका तथ्य पुष्टिका आधारहरूबारे जानकारी गराउन भनिएको छ।
काउन्सिलले निवेदनमा उठाइएका गुनासाहरूबारे रातोपाटीको प्रतिक्रिया र तथ्यगत प्रमाण भए सोसहित ३ दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिएको छ।

संवाददाता







