धरान । ओम साई डेन्टल इम्प्लान्ट सेन्टर प्रा.लि.ले आफ्नो ५औँ वार्षिकोत्सवको अवसरमा धरानका सामुदायिक विद्यालयहरूमा नियमित रूपमा निःशुल्क दन्त शिविर तथा दन्त स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारेको छ।
सोही योजनाअन्तर्गत पहिलो कार्यक्रम धरान–१५ स्थित शिक्षा सदन माध्यमिक विद्यालयमा सम्पन्न गरिएको छ। कार्यक्रममा विद्यालयका कक्षा ३, ४ र ५ मा अध्ययनरत करिब १५० जना विद्यार्थीहरूको दन्त परीक्षण गर्नुका साथै दन्त स्वास्थ्यसम्बन्धी अभिमुखीकरण प्रदान गरिएको थियो।
कार्यक्रमबारे जानकारी दिँदै ओम साई डेन्टल इम्प्लान्ट सेन्टर प्रा.लि.का कन्सल्टेन्ट पेरियोडोन्टिस्ट तथा इम्प्लान्टोलोजिस्ट डा. अजित कुमार यादवले धरानका विभिन्न सामुदायिक विद्यालयमा नियमित रूपमा यस्ता कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताए।
उनका अनुसार विद्यालय तहदेखि नै बालबालिकालाई दाँत तथा मुखको स्वास्थ्यप्रति सचेत गराउन सके भविष्यमा देखिन सक्ने विभिन्न दन्त समस्यालाई कम गर्न सहयोग पुग्ने उद्देश्यले कार्यक्रमलाई निरन्तरता दिने योजना बनाइएको हो।
यसै गरी, ओम साई डेन्टलले ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकका लागि प्रत्येक शुक्रवार निःशुल्क दन्त परीक्षणको व्यवस्था गर्ने भएको छ। साथै, उपचार आवश्यक पर्ने ज्येष्ठ नागरिकलाई उपचारमा २० प्रतिशतदेखि ३० प्रतिशतसम्म छुट प्रदान गरिने डा. यादवले जानकारी दिए।
ओम साई डेन्टलले आफ्नो ५औँ वार्षिकोत्सवलाई केवल उत्सवका रूपमा नभई समुदायमा दन्त स्वास्थ्यसम्बन्धी जनचेतना र सेवा विस्तार गर्ने अवसरका रूपमा अघि बढाउने जनाएको छ।
“स्वस्थ दाँत, स्वस्थ मुस्कान र स्वस्थ जीवनका लागि विद्यालयदेखि समुदायसम्म दन्त स्वास्थ्य सचेतना” भन्ने उद्देश्यसहित कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने योजना रहेको छ।
संवाददाता







