काठमाडौँ । पोस्टर सार्वजनिक भएदेखि नै चर्चामा रहेको फिल्म हो ‘गौँथली’ । डाक्टर भोला रिजालले झन्डै २५ वर्ष अगाडि गीतिकथानक फिल्ममा संवाद हालेर यसपटक उनकै छोरा डा. कपिल रिजालले निर्देशन गरेको ‘गौँथली’ आगामी साउन १ मा प्रदर्शन हुँदैछ ।
यसको सार्वजनिक पहिलो पोस्टरमा फिल्मका अभिनेता अरुण क्षेत्री केही असामान्य रुपमा प्रस्तुत भएका देखिएका थिए भने अभिनेत्री सिम्रन खड्का दुखी भावमा थिइन् । पहिलो पोस्टरमा यी दुईको विवाहको तस्बिर देखाईएको थियो । जहाँ जोडी असामान्य देखिएको थियो ।
पोस्टरपछि सार्वजनिक गरिएका गीत र ट्रेलरले फिल्मको कथासार प्रस्ट्याएको छ । एसएलसी पढ्ने सपना बोकेकी एक बालिकाको उमेर नपुग्दै एक असामान्य देखिने युवासँग विवाह भएपछि आउने उतारचढावमा फिल्म केन्द्रीत छ । चिकित्सकसँगै साहित्यकार रहेका डा भोला रिजालले आफ्नी श्रीमती सरला रिजालको जीवनी यात्रालाई समेटेर तयार गरेको फिल्म ‘गौँथली’ कै नयाँ स्वरूप यसपटक हलमा आउँदैछ । अर्थात् भाव उही हो, प्रस्तुतीकरण र संवाद यसपटक दर्शकका लागि नयाँ छ ।
सार्वजनिक ट्रेलरले नै भावुक बनाउने फिल्म हेरेपछि नरसाउने आँखा कमै हुने निर्देशक डा कपिल रिजालले बताए । उनले भने, ‘गौँथली हाम्रै समाजको कथा हो । मानवीयताले नछुने कमै हुन्छन्, यसले हाम्रो मनलाई छुनुका साथै हामीलाई नजान्दिँदो पाराले संदेश दिन्छ । फिल्म हेर्ने दर्शकले तारिफ नै गर्नुहुने छ ।’
निर्देशक डा. रिजाल यत्तिको विश्वस्त सुनिनूको कारण यो कथा उनकै आमाको जीवनीसँग प्रभावित छ । किनकि उनका पिताले बाल्यकालमै आमासँग विवाह गरेर अध्यनका क्रममा धेरै समय बाहिर बिताएका थिए । नयाँ ठाउँ, परिवेशसँगै बालबालिका हुर्काउन गरेको सङ्घर्षलाई निर्देशक रिजालले राम्रोसँग बुझेका छन् । साथै गीति कथानकका रुपमा आएको ‘गौँथली’ ले दर्शकको राम्रो साथ पाएको थियो ।
‘गौँथलीलाई हामीले अन्तर्राष्ट्रियस्तरमा देखाउन मिल्ने प्राविधिक रुपमा अब्बल फिल्म बनाएका छन् । प्रविधिमा विश्वस्तरीय रहेर पनि यो हाम्रो आफ्नै गाउँठाउँको मौलिक कथा हो, यसले हाम्रो समाज र सोचलाई व्यक्त गर्छ । यसले मनोरन्जनसँगै दिने संदेशले थोरै भएपनि परिवर्तन ल्याउँछ, यसमा म विश्वस्त छु’, निर्देशक रिजालले भने ।
साथै, निर्देशक रिजाल निर्देशित फिल्ममा स्वास्थ्य समस्या पनि जोडिएको पाइन्छ । उनले निर्देशन गरेको फिल्म ‘ह्यारीकी प्यारी’ मा ‘स्पर्म डोनेशन’ (वीर्य दान) को विषयवस्तुलाई प्रस्तुत गरेका थिए भने यसपटक ‘गौँथली’ मा ‘अटिजम’ भएको व्यक्तिको जीवनशैलीलाई प्रस्तुत गरिएको छ ।
ग्रामीण परिवेशमा तयार गरिएको चलचित्रमा ‘अटिजम’ भएका युवकको रुपमा अभिनेता अरुण क्षेत्री र एसएलसी पास गर्ने सपना बोकेकी बालिकाको रुपमा अभिनेत्री सिम्रन खड्का देखिएका छन् ।
फिल्ममा अभिनेता क्षेत्री र अभिनेत्री खड्कासँगै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारले अभिनय गरेका छन् । डा भोला रिजालको कथामा आधारित रहेर तयार गरिएको फिल्म ‘गौँथली’ को संवाद निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका छन् । घर, परिवार र आपसी सामीप्यताको प्रतीकात्मक अर्थ बोकेको फिल्म ‘गौँथली’ आगामी साउन १ देखि नेपालभर प्रदर्शन हुँदैछ ।
अध्यक्ष






