Ad imageAd image

वर्षा याम सुरु, खहरे उर्लियो : भत्किएको पुलले धरान–८ का स्थानीय फेरि त्रासमा

3 मिनेटमा पढ्न सकिने
3 मिनेटमा पढ्न सकिने

धरान । केही दिनयता धरानमा लगातार वर्षा भइरहेका कारण खोला तथा खहरेमा पानीको सतह उल्लेख्य रूपमा बढेको छ। शनिवार थाइल्यान्ड नेपाल डट्कमको टोलीले धरान–८ अन्तर्गत हरियालीदेखि तीनकुने जोड्ने खहरे पुल क्षेत्रको स्थलगत अवलोकन गर्दा खहरेमा पानीको बहाव निकै बढेको देखिएको थियो। पुल भत्किएर वर्षौँदेखि पुनः निर्माण हुन नसकेको अवस्थामा वर्षा याम सुरु भएसँगै स्थानीयमा बाढी र सम्भावित दुर्घटनाको त्रास थपिएको छ।

खहरेमा बढ्दो पानीको बहावसँगै पुल भत्किएको स्थानमा राखिएका अस्थायी आरसिसी पाइप वरिपरि पानीको चाप बढ्दै गएको देखिन्छ। स्थानीयका अनुसार पानीको बहाव अझ बढेमा खहरे थुनिने र पानी बस्तीभित्र पस्ने खतरा रहेको छ। धरान बजार क्षेत्रको ढल र फोहोर पानी पनि यही खहरेमा मिसिने भएकाले वर्षा याममा जोखिम झन् बढ्ने उनीहरूको भनाइ छ।

वि.सं. २०८० चैतमा निर्माण सम्पन्न भएको उक्त पुल करिब पाँचदेखि छ महिनामै भत्किएको थियो। त्यसयता करिब दुई वर्ष बित्न लाग्दा पनि पुनः निर्माण हुन सकेको छैन। अहिले स्थानीयवासी अस्थायी रूपमा राखिएका आरसिसी पाइपकै भरमा ज्यान जोखिममा राखेर आवतजावत गर्न बाध्य छन्।

धरान–८ का वडाध्यक्ष धनबहादुर राईका अनुसार करिब २०० घर प्रत्यक्ष बाढीको जोखिममा छन्। उनका अनुसार वि.सं. २०१७ सालमा ब्रिटिस घोपा क्याम्पसम्म सहज पहुँचका लागि निर्माण गरिएको पुरानो पुललाई मदन भण्डारी राजमार्ग निर्माणका क्रममा नयाँ पुल नबनाई पुरानै संरचनामाथि कालोपत्रे गरिएको थियो।

- Advertisement -
Ad imageAd image

यता, मदन भण्डारी राजमार्ग निर्माण आयोजनाका इन्जिनियर घनश्याम खड्काका अनुसार २०८० मा सडक कालोपत्रे गर्दा पुल बाहिरबाट ठिकठाक देखिएकाले त्यही संरचनामाथि कालोपत्रे गरिएको थियो। तर पछि कल्भर्टमा प्रयोग गरिएको फलाम पुरानो भई खिया लागेका कारण संरचना भाँचिएको निष्कर्षमा आयोजना पुगेको उनले बताएका छन्।

धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर आईन्द्र विक्रम बेघाले बजेट तथा स्रोत अभावका कारण पुनः निर्माणमा ढिलाइ भएको स्वीकार गर्दै स्रोत सुनिश्चित भएपछि निर्माण प्रक्रिया अघि बढाइने बताएका छन्। तर वर्षौँसम्म पनि काम सुरु नभएकाले स्थानीयमा निराशा बढेको छ।

यसैबिच, हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि सुनसरी–१ बाट निर्वाचित सांसद तथा पूर्व धरान मेयर हर्क साम्पाङ प्रति पनि स्थानीयले अपेक्षा व्यक्त गरेका छन्। धरानको विकासका विभिन्न मुद्दामा सक्रिय देखिएका साम्पाङले दैनिक सयौँ नागरिकको सुरक्षासँग जोडिएको यो पुलको विषयमा सम्बन्धित निकायसँग आवश्यक समन्वय र पहल गर्नुपर्ने आवाज स्थानीयबाट उठ्न थालेको छ।

स्थानीयको माग स्पष्ट छ, “अर्को ठुलो दुर्घटना वा बाढीको क्षति हुनुअघि नै स्थायी पुल निर्माण गरियोस्, सडक बत्ती जडान गरियोस् र जोखिम क्षेत्रको उचित व्यवस्थापन गरियोस्।”

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
24°C
Kathmandu
overcast clouds
24° _ 24°
88%
2 km/h
शनि
25 °C
आइत
22 °C
सोम
23 °C
मंगल
25 °C
बुध
24 °C
ट्याग गरिएको:
संवाददाता
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ