काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले देश बनाउने जिम्मा सरकार, सबै राजनीतिक दलका साथै विभिन्न तह र तप्काका जनसमुदायको भएको बताउनुभएको छ । उहाँले अहिले देशको राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक र शैक्षिक क्षेत्रमा रुपान्तरणको खाँचो औल्याउँदै यसका लागि राज्यका साथै सबैले जिम्मेवारी लिनुपर्ने बताउनुभयो ।
बुधबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा डा.केदारभक्त माथेमा, डा.पिताम्वर शर्मा, डा.विद्यानाथ कोइराला, डा.चैतन्य मिश्र, प्रा.कृष्ण खनालसहितका प्रबुद्ध व्यक्तित्वसँगको छलफलमा प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो । उहाँले देश बनाउन सबभन्दा बेष्ट ब्रेनहरु केन्द्रित गर्नुपर्छ भन्ने आफ्नो विगतदेखि कै सोँच रहँदै बताउनुभयो । विश्व विद्यालयमा राजनीतिक भागबण्डा गर्नुहुँदैन भनेर विगतको परम्परामा ब्रेक थ्रु गर्न आफू लागिरहेको भन्दै प्रधानमन्त्री दाहालले त्यसमा बौद्धिक समुदायको साथ र सहयोगको खाँचो रहेको उहाँको भनाइ थियो ।
प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री भएदेखि नै भोलिको उज्यालो र सम्मुन्नत नेपालका लागि सुशासन, सामाजिक न्याय र सम्बृद्धिका पक्षमा अनवरत काम गरिरहेको बताउनुभयो । उहाँले आम जनतालाई देशमै भविष्य छ, भनेर भरोसा दिनुपर्ने दायित्व राज्यको भएकाले यसमा बौद्धिक समुदायको पनि महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।
छलफलमा डा.केदारभक्त माथेमा, डा.पिताम्वर शर्मा, डा.विद्यानाथ कोइराला, डा.चैतन्य मिश्र, प्रा.कृष्ण खनालसहितले प्रधानमन्त्री दाहालले हालै विश्वविद्यालयमा भागवण्डा नगर्ने र मेरिटोक्रेसीबाट उपकूलपति छान्ने प्रक्रिया अघि बढाउनुले नयाँ आशा पलाएको भन्दै समग्र शिक्षा क्षेत्रसहित विश्व विद्यालयहरुको पुर्नसंरचना गर्नेगरी सुधार थाल्न आग्रह गरेका थिए ।