काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) थाइल्याण्डका पदाधिकारी नेटवर्किङ ठगी धन्दामा संलग्न रहेको पाइएको छ ।
नेटवर्किङ व्यवसायका लागि एनआरएन थाइल्याण्डका उपाध्यक्ष जेम्स गौतमले कम्पनी नै स्थापना गरेका छन् । जेम्स पल कम्पनी लिमिटेडबाट सञ्चालित गैरकानुनी नेटवर्किङ व्यवसाय एनआरएनए थाइल्याण्डका अध्यक्ष भविन्द्र बस्नेत, थाई नेपाली संघका पूर्वअध्यक्ष कुमार कार्कीलगायत नेपाली समुदायका थुप्रै अगुवा जोडिएका छन् । अझ रोचक त के छ भने गैरकानुनी नेटवर्किङ व्यवसायमा लागेको भन्दै हाकाहाकी सामाजिक सञ्जालमार्फत सार्वजनिकसमेत गरेका छन् ।
नेटवर्किङ भनेको विभिन्न स्किमको प्रलोभन देखाएर पिरामिड शैलीमा सदस्य बनाएर वस्तु तथा सेवा बिक्री गर्नु हो । जसमा एउटा व्यक्ति मोटाउने र आम सर्वसाधारण ठगिने जोखिम हुन्छ । पिरामिड शैली भन्नाले पहिलो तहमा पाँच जना, दोस्रोमा २५, तेस्रोमा १२५, चौथोमा ६२५, पाँचौं तहमा ३१२५ जना सदस्य बनाउने हुन्छ ।
पत्रकार ओलीलाई धम्की थाइल्याण्डमा नेपाली समुदायका अगुवा नै नेटवर्किङ ठगी धन्दामा लागेपछि थाइल्याण्ड नेपाल डटकमका बैंकक सम्वाददाता लोकेन्द्र ओलीले फेसबुकमार्फत सार्वजनिक गरेका थिए । ‘समाजका ठालुहरूले के के नै गर्न थाले भनेको, मल्टी लेभल मार्केटिङ गर्न थालेछन् । नेपालको कानुनअनुसार यो गैरकानुनी काम हो,’ उनले लेखेका छन्, ‘ठग, ठग कति सक्छौ, नेपालीहरुलाई नै ठग, नेपालीहरुलाई नै टार्गेट गर । जे गर्छौ विदेशमै गर । समाजका ठालुहरूले नेपाली र नेपाली भाषीहरूलाई लगानी गर्नुस् भनेर विज्ञापन गर्न थालेछन् ।’ पत्रकार ओलीले गैरकानुनी नेटवर्किङको भण्डाफोर गरेपछि कम्पनीका सञ्चालक गौतमले टेलिफोनमार्फत मुख छाड्दै धम्की दिएका छन् । थाइल्याण्डमा रहेका नेपालीहरुको हितमा काम गर्नुपर्ने एनआरएनए उपाध्यक्षको जिम्मेवार पदमा रहेका गौतमले तुच्छ भाषा प्रयोग गर्दै ओलीलाई पटक पटक गाली गर्ने, अपशब्द बोलेर धम्की दिएका हुन् । नेपाल र नेपाली भाषीको प्रतिनिधित्व गर्ने थाइल्याण्डका नेपालीनै नेटवर्किङ जस्तो गैर जिम्मेवार कार्यमा लाग्नु दुःखको विषय भएको भन्दै चिन्ता व्यक्त गरिएको विषयलाई पत्रकार ओलीलाई धम्की आएको हो ।
यसबिषयमा थाइल्याण्ड नेपाल डटकमको गम्भीर ध्याकर्षण भएको छ । नेपालको कानुनले बर्जित गरेको गैर विषयलाई एउटा सचेत पत्रकारको हिसाबले सचेत गराउँदा ज्यान मार्ने धम्की गम्भीर बिषय हो । त्यसमा पनि एनआरएनका उपाध्यक्ष पदमा रहेका व्यक्तिले पत्रकारहरुलाई धम्की दिनु गम्भीर विषय हो । यस विषयमा थाइल्याण्ड नेपालले पत्रकार महासंघको ध्यानाकार्षण गराउने भएको हो । पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेललाई थाइल्याण्ड नेपालका अध्यक्ष तथा सम्पादक नबिन्द्र केसीले ध्यानाकर्षण गराएका छन् । उनले महासंघ अध्यक्षलाई थाइल्याण्ड एनआरएका उपाध्यक्ष गौतमले दिएको धम्कीका बारेमा जानकारी गराएका हुन् ।
नेपालमा नेटवर्किङ बिजनेश कानुन विपरित मानिन्छ तर थाइल्याण्डमा बसेर नेपालीलाई नै नेटवर्किङ बिजनेशमा लगाउने र ठगी धन्दा चलाउने योजनामा संस्थाका अगुवाहरु अगाडि बढेका छन् ।
धम्की दिनेविरुद्ध उजुरी परे प्रहरीले गिरफ्तार गरेर कारवाही अगाडि बढाउन सक्छ । मुलुकी संहिता ऐनअन्तर्गत कैद र जरिवानाको सजाय हुनसक्छ ।
के छ कानुनी व्यवस्था ?
वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन र वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) नियमावली, २०७६ ले नेटवर्किङ र पिरामिड शैलीको व्यापार व्यवसाय गर्न बन्देज लगाएको छ । नेटवर्किङ ठगीमा प्रहरी र वाणिज्य विभागले अनुसन्धान तथा कारवाही गर्न सक्छ । सरकारले १४ वर्षअघि सेवा र वस्तु बिक्री गर्ने नेटवर्क व्यवसायमा प्रतिबन्ध लगाएको थियो । युनिटी, हर्बो, क्रिस्टल भिजन इन्टरनेसनल लिमिटेड, रोबियस इन्टरनेसनल प्रालि लगायत करिब एक दर्जन नेटवर्क मार्केटिङ गर्ने कम्पनी खारेज भएका थिए ।