सम्पादकीय—
काठमाडौं । सशस्त्र विद्रोह अन्त्य गर्दै माओवादी मूलधारको राजनीतिमा आएको पछि लगातार सत्तामा छ । यो अवधिमा माओवादी र अर्को कम्युनिष्ट पार्टी एमालेबीच पटक–पटक सत्ता साझेदारी भएका छन् । सत्ता स्वार्थका कारण एकै ठाउँ उभिएपनि ती दुई दलको सहकार्यले भने स्थायित्व छैन् ।
वि.स.२०७४ सालमा चुनावी गठबन्धन गरेका दुई दल आपसी मतभेद झांगिदै जाँदा बलियो कम्युनिष्ट शक्ति बन्ने मौका समेत गुमाएका थिए । यही पृष्ठभूमिमा पछिल्लो पटक गत पुष १० गते सत्ताका लागि साझेदारी गरेका माओवादी र एमाले फेरि एक पटक सोमबार सत्तामा पुगेका छन् ।
लामो तिक्ततापछि गत पुष १० गते पुनः सत्ता समीकरणमा एकाकार भएका माओवादी केन्द्र र एमालेबीचको सहकार्य लामो समय टिक्न सकेन । सात दलको समर्थनमा साढे दुई बर्षपछि एमाले अध्यक्ष केपी ओलीलाई सरकारको नेतृत्व सुम्पिने शर्तमा सिंहदरवार प्रवेश गरेका प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति भन्दै अर्को बाटो रोजेपछि गठबन्धन भत्कियो । गठबन्धन भत्किएर नयाँ समीकरण बनेपछि एमाले र माओवादी केन्द्रबीच फेरि तिक्तता बढेको थियो ।
त्यसो त, मुलुकका यी दुई ठुला कम्युनिष्ट पार्टीले २०६४ सालमा गठित संविधानसभा पछि एक अर्काको सहयोगमा पटक—पटक सत्तामा साझेदारी गरेका छन् । पहिलो संविधानसभाबाट माओवादी पहिलो शक्ति बनेपछि एमालेसहितको समर्थनमा दाहाल पहिलो पटक प्रधानमन्त्री भएका थिए । सेनापति प्रकरणका कारण दाहालले प्रधानमन्त्रीबाट राजिनामा दिएपछि एमालेले काँग्रेससहितका दलको समर्थनमा सरकारको नेतृत्व गर्ने मौका पाएको थियो । अर्थात्, एमालेका त्यतिबेला वरिष्ठ नेता माधव नेपाल कांग्रेस र अन्य दलको समर्थनमा प्रधानमन्त्री भएका थिए ।
राजनीतिक टकराव बढ्दै जाँदा नेपालले प्रधानमन्त्री छाडेपछि एमालेका तत्कालिन अध्यक्ष झलनाथ खनाललाई माओवादीले समर्थन गर्यो, पछि एमालेको भागमा प्रधानमन्त्री पद हात परेको थियो । तर त्यो सरकार पनि लामो समय टिक्न सकेन । यसरी हेर्दा दुई वामपन्थी शक्तिको सत्ता समीकरण दिगो हुन नभएपनि पटक—पटक सत्तासाझेदार बन्ने मौका छोडेका छैनन् । राजनीतिक विश्लेषकहरु नेताहरुको स्वार्थ मिले गठबन्धन हुनेमा कुनै आशंका नभएको बताउछन् । अहिले फेरी दुबै पार्टी एक भएर सत्ताको बागढोर सम्हाल्ने मौका पाएका छन् ।
तत्कालिन समयमा झलनाथ खनाल नेतृत्वको सरकारलाई विस्थापित गर्दै माओवादी केन्द्रका नेता बाबुराम भट्टराई प्रधानमन्त्री भएपछि एमाले प्रतिपक्षमा बसेको थियो, त्यो समय भनेको संविधानसभा विघटन अघिको हो । संविधानसभा भंग भएपछि भट्टराई नेतृत्वको सरकार लामो समय चल्न नसकेपछि त्यतिवेलाका प्रधानन्यायाधिश खिलराज रेग्मीको नेतृत्वमा गैरदलीय सरकार गठन भई संविधानसभाको दोस्रो निर्वाचन भयो । र, दोस्रो संविधानसभाबाट पहिलो दल बनेको नेपाली कांग्रेसको नेतृत्वमा सरकारमा एमाले सहयात्री बन्यो भने माओवादी प्रतिपक्षीमा खुम्चियो ।
समयक्रममा संविधानसभाबाट २०७२ असोजमा नयाँ संविधान जारी भएपछि फेरि एमाले र माओवादीबीच सत्तासाझेदारी बन्यो, त्यतिवेला एमाले अध्यक्ष केपी ओली पहिलो पटक प्रधानमन्त्री भएका थिए । तर आन्तरिक विवादका कारण ओली नेतृत्वको सरकार ढलेपछि माओवादीका अध्यक्ष दाहाल कांग्रेससहितका दलको समर्थनमा दोस्रो पटक प्रधानमन्त्री भए भने एमाले प्रतिपक्षमा सीमित भयो ।
माओवादी र कांग्रेसबीचको सत्ता साझेदारी भएपछि कांग्रेस सभापति शेरवहादुर देउवा नेतृत्वको सरकारले २०७४ सालमा संघीय संसद र प्रतिनिधिसभाको निर्वाचन गराउँदा एमाले र माओवादीबीच चुनावी तालमेल हुँदै पछि पार्टी एकता भएर नेकपा नै गठन भयो र एमाले अध्यक्ष ओली दोस्रो पटक मुलुकको प्रधानमन्त्री भएका थिए । कहिले माओवादीको समर्थन त कहिले एमालेको समर्थनमा दुबै दलका अध्यक्ष प्रधानमन्त्री बन्ने सिलसिला आज पनि चलिरहेको छ ।
त्यो समय आन्तरिक विवाद झांगिदै जाँदा ओली नेतृत्वको सरकार समेत ढलेपछि सत्ताको नेतृत्व काँग्रेसको हातमा परेको थियो र २०७९ मंसिरमा ताजा जनादेशमार्फत् नयाँ संसद गठन भएको थियो । चुनावबाट काँग्रेस पहिलो, एमाले दोस्रो र माओवादी तेस्रो शक्तिको रुपमा छन् । यही पृष्ठभूमिलाई आधार मान्दा एमालेसहित दलको समर्थनमा पुष १० गते नयाँ गठबन्धन बनेर तेस्रो पटक प्रधानमन्त्री बनेका दाहाल फेरी राष्ट्रपति निर्वाचनमा काँग्रेस सहितका दलहरु मिलेपछि दुबै दलबीच दुरी बढेको थियो । यी घटनाक्रमलाई केलाउँदा एमाले र माओवादीबीचको सत्ता सहयात्रामा थुप्रै उतारचढाव देखिएपनि सहकार्य भने निरन्तर भइरहेको पाइन्छ ।
फेरी दुबै दल एक ठाउँमा आउनुपर्ने अवस्था किन भन्ने प्रश्नमा नेकपा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे भन्छन् समयको माग हो । दुई कम्युनिष्ट शक्तिबीचको वेमेलका कारण समेत मुलुकको राजनीतिले स्थायित्व पाउन नसकेको टिप्पणी भइरहेदा अहिले सत्तामा दुबै दल पुग्ने निश्चीत भएको छ । माओवादी केन्द्रका महासचीव देव गुरुङ राजनीतिक एजेण्डामा एउटै हुदा कहिले मिलन कहिले विछोड स्वभाविक भएको बताउछन् ।
२०६४ को पहिलो संविधानसभाबाट पहिलो शक्ति बनेपनि हरेक निर्वाचनमा माओवादीको जनमत घट्दै गएको छ, भने एमालेले आफूलाई जनमतको कसीमा पछिल्ला बर्षमा उत्कृष्ट सावित गरेको छ । अहिले मिसन ८४ लाई अघि बढाएका अध्यक्ष केपी शर्मा ओलीले समय अनुकुल राजनीतिक घटनाक्रम परिवर्तन हुने दावी गर्दै आएका छन् ।
यसको एउटा उदाहरण पुष १० बनेको सत्ता समीकरण फेरबदल भएपछि फेरी अहिले सत्तासमीकरण बन्नु हो । विभाजित भएका कम्युनिष्ट पार्टीहरु आफ्नो अस्तित्व जोगाउन कठिन हुँदै गएका बेला संसदीय राजनीतिमा अझै पनि प्रभावशाली मानिएका एमाले र माओवादीको सहकार्य फेरी लयमा आउदा अहिले राजनीतिक वृत तरंगीत छ । भने, पुनःसत्तासमीकरण भत्कीने हो कि भन्ने शंका उत्तीकै छ ।