२०७९ साल जेठ २९ गते राती ८ बजेको सेरोफेरोमा फोनमा कल आयो । बाबू ! “बा” हस्पिटलको ICU कक्षमा हुनुहुन्छ, छिटो आइज, भनेर फोन राखिदिनुभयो ! यता रुकुमको घरमा कोहि थिएन ,धेरै दिनदेखी शुन्यता छाएको थियो ।त्यो दिन म स्कुलबाट गएर दिनभरी एक हल गोरु लिएर खेतमा गएको थिए ! बा बिनाको घर शून्य लाग्यो अनि म अँध्यारो अँध्यारो हुनै लाग्दा पनि जाजरकोट फर्किएको थिए ! जब फोनमा बुवाको अन्तिम अवस्था छ भन्ने खवर सुने त्यसपश्चात कुन हालतमा र कसरी म जाजरकोटबाट कोहलपुर सम्म पुगेको थिए त्यो कुरा सम्झनै सक्तिन त्यो पल सम्झिए भने आसुको भेल नै उर्लिन्छ अनि छात्ती भक्कानिएर आउँछ।
रातभरिको कठिन यात्रा पश्चात् जब कोहलपुर पुगे तब घर अगाडि तुलसिको मठछेउमा बुवाको ल्हास ढलेको थियो ।।आफन्तहरु र छरछिमेकिहरु सबै जम्मा भएका थिए ,केवल सबैका आँखामा आँसु मात्रै थिए सायद ! बुबाको लासलाई एकोहोरो नियालिरहेँ । आफन्त र साथीभाइहरूको अन्तिम बिदाइमा म कैयौँपटक मसानघाटमा पुगेको थिएँ । तर, आफूलाई पर्दा थाहा भयो– संसार कति क्षणिक छ । हिजो थियो, आज छैन । आज छ, भोलि छैन । वैराग्यले छोपिसकेको थियो । बुबाको पार्थिव शरीरलाई स्पर्श गर्न खोजेँ, तर सुरुमा त छुन पनि सकिनँ । हात कामेर हावामा सलबलाइरहे । हार खाएर भुइँमा पल्टिएँ । अनि पुर्पुरोमा अडिएर सोच्न बाध्य भएँ । पुराना स्मृतिहरूले मनलाई उथलपुथल गराइरहेका थिए । बुबाको निधारमा चुमेँ । म अर्धचेत अवस्थामा थिएँ । भित्रैबाट झनै गार्हो भएर आयो । मुख सुकिसकेको थियो । त्यो पलको एक सेकेण्ड पनि एकदमै असह्य भइरहेको थियो । बुवाको नाम अब ल्हासमा परिवर्तन भएको थियो , जिउदो भगवान ,मेरो संसार ढलिसकेको त्यो दिन कति पीडा थियो त्यो ब्यक्त गर्ने कुनै शब्द नै भेटन सक्तिन ।म जानू भन्दा अघि नै मलामिको लागि दुइओटा गाडी तयार भएका थिए केही क्षणको घरमा गरिने कर्म पश्चात् बुवालाई अगैया घाट लगियो आफैँदेखि धिक्कार र पछुतो लागेर आयो । आफूलाई नियन्त्रण गर्न सकिरहेको थिइनँ । बुबाको मृत्युले अन्तर्मनलाई शिथिल पारिदिएको थियो । हरेक क्षणको समय एकदमै ढिलो बितिरहेको जस्तो लागिरह्यो । चारैतिरको माहौल अप्राकृतिक र विचित्रको जस्तो लाग्यो । सबैथोक लथालिङ्ग भद्रगोल र छरपस्ट । केही बेर छटपटाएँ अनि शान्त भएँ । आँखा बन्द भए– चारैतिर अन्धकार र शून्यता छायो ।
अन्तिम दाहसंस्कारका लागि परम्पराअनुसार अगैया घाट लैजाने कुरा भयो । अन्तिम शवयात्रामा हिँड्दा मन निकै कुण्ठित र मार्मिक थियो । लाग्थ्यो– बुबालाई कतै लामो यात्रामा लैजाँदैछौँ, जहाँबाट उहाँ कदापि फर्किनुहुने छैन । शवयात्राभर बुबासँग बाल्यकालदेखिका स्मृतिहरू मानसपटलमा प्रतिबिम्बित भइरहे । बुबालाई निर्वस्त्र, केवल कात्रोमा देख्नै सकिनँ । मुखमा दागबत्ती प्रदान गर्दा अत्ति नै कठिन भयो । त्यो क्षणको स्मरण गर्यो भने अहिले पनि मन छियाछिया हुन्छ । र केही घण्टाको आगोको लपेटाले जलेर बुबा आँखाअगाडि खरानी हुनुभयो । आफैँदेखि धिक्कार र पछुतो लागेर आयो । आफूलाई नियन्त्रण गर्न सकिरहेको थिइनँ । बुबाको मृत्युले अन्तर्मनलाई शिथिल पारिदिएको थियो । हरेक क्षणको समय एकदमै ढिलो बितिरहेको जस्तो लागिरह्यो । चारैतिरको माहौल अप्राकृतिक र विचित्रको जस्तो लाग्यो । सबैथोक लथालिङ्ग भद्रगोल र छरपस्ट । केही बेर छटपटाउथेअनि शान्त हुन्थे । आँखा बन्द हुन्थे– चारैतिर अन्धकार र शून्यता छाए जस्तो हुन्थ्यो।
अन्तिम संस्कारका सबै कार्यहरू सकेर साँझ करिब ४ बजेतिर घर फर्कियौँ । १३ दिन मात्रै हैन ९ दिनको दिन ठुला बुवा बितेर २१ दिन सम्म किरिया बस्दाको अनुभव मेरो लागि जीवनमा पहिलो नै थियो । ती दिनहरूमा मलाई संयमता अपनाउन निकै कठिन हुन्थ्यो । उज्यालोसरह चलिरहेको जीवनमा चारैतिर केवल अन्धकार देखिरहेँ । म पूर्णतः चिन्तामा डुबिसकेको थिएँ । आफ्नो र परिवारको चिन्ताले मन घेरिसकेको थियो मलाई । खान केही मन हुन्थेन । गाँस निल्दा नै घाँटीमा अमन भएजस्तो हुन्थ्यो । पूरै शरीर भतभती पोल्थ्यो ।
बुबाको यादमा डुबेर झसङ्ग–झसङ्ग तर्सिन्थेँ । कहिले आधा रातमै बिउँझिन्थेँ त कहिले आँखा बन्दसमेत गर्न सक्थिनँ । कहिले कसैले घाँटी थिचिरहेको जस्तो हुन्थ्यो । आँखा खोल्छु त देख्छु चारैतिर शून्यता । कति भिन्न–भिन्न रूप हुँदा रहेछन जिन्दगीका, बल्ल बुझ्दै थिएँ । पहिला बुबा साथमा हुनुहुन्थ्यो, एउटा रूप अनुभूत गर्थें, पछि बुबा साथमा हुनुहुन्नथ्यो, अर्को रूप अनुभूत गर्दै थिएँ । लाग्थ्यो, त्यो छटपटीले ठूलो विचलन निम्त्याएको थियो । मेरो जीवनकालमा एकदमै हडबडाएको पल र कठिन आपत्तिको समय नै किरिया बस्दाका ती दिनहरू थिए ।
जीवनमा आपत्ति र अभावभन्दा ठूलो अरु कुनै शिक्षा नहुने रहेछ । मनुष्यको वास्तविक धैर्यको परीक्षा दु:ख–आपत् परेको समयमा आउँछ । जिन्दगीमा कष्ट सहेर नै गहिरो अनुभव प्राप्त हुने रहेछ । संकटले हामीलाई झन् व्यावहारिक बनाउन सिकाउँछ । कष्ट सहेपछि नै हामीलाई अनुभव हुन्छ । दु:ख एउटा त्यस्तो क्षण हो, जसले हामीलाई सिक्न अवसर दिलाउँछ । जीवनको यात्राका क्रममा आइपर्ने आपत्तिले व्यक्तिलाई दृढता प्रदान गर्ने रहेछ । आपत्तिले हामीलाई आत्मज्ञान प्राप्त हुन्छ, तर हामीले त्यसलाई गहन र सघन तवरले बुझ्न सक्नुपर्यो ।
सुखले हामीलाई एउटा पक्ष देखाउँछ भने जीवनको यात्रामा आइपर्ने प्रारम्भिक दु:ख–आपत्तिहरूले त्यो चित्रको दोस्रो पक्षलाई समेत दर्शाउँछ । आपत्ति, वेदना, दु:खलाई सहज रूपमा स्वीकार गर्न त सकिँदैन तर प्रयासचाहिँ गर्नुपर्दो रहेछ । मान्छेहरूलाई वास्तविक रूपमा चिन्ने भनेकै दु:ख र वियोगको घडीमा रहेछ । सुखमा त कसैलाई खासै मतलब हुँदो रहेनछ तर पीडाका बखत कसले साथ दिन्छ भन्ने कुरा यस्तो बेलामा थाहा हुने रहेछ ।
बुबा अलिक कडा स्वभावको हुनुहुन्थ्यो ।हाम्रो लागि धेरै कुरा गर्नुभएको थियो । आफ्नो क्षमताअनुरूप सबथोक गरिराख्नुभएको थियो । कहिल्यै कुनै कुराको अभाव हुन दिनुभएको थिएन । आफ्नो कडा पसिना सिँचेर परिवार पाल्नुभएको थियो । आफ्नो सपना रित्याएर हामीमाथि लगानी गर्नुभएको थियो । हामीलाई कैयन् कुरा परोक्ष वा अपरोक्ष रूपमा हजारौँहजारपटक सिकाउनुभयो, सम्झाउनुभयो र बुझाउनुभयो ।
बुबा एक धीर पुरुषको वास्तविक निशानी हुनुहुन्थ्यो । जीवनको पहिलो गुरु हुनुहुन्थ्यो, जसले अगाडि बढ्न सहयोग र सही बाटो देखाउन सहारा दिनुभयो । यस धर्तीमा टेक्ने अवसर प्रदान गरेर संसार देखाउनुभयो । म सानो छँदा सधैँ सत्यको बाटोमा हिँड्नुपर्ने, अरुलाई खान दिएर मात्र आफूले खानुपर्ने, पराइको सेवा गर्नुपर्ने, अरुको चित्त दुख्ने वचन बोल्न नहुने, झुट बोल्न नहुने, इमानदार बन्नुपर्ने, आफ्नो स्वाभिमान गिर्न नदिने, कसैको शिर झुक्ने काम गर्न नहुने, कसैलाई पनि ढाँटेर ठगेर खान नहुने, गलत कर्म गरेर धन कमाउन नहुने, सदा विराट लक्ष्य लिएर हिँड्नुपर्नेजस्ता मूल्यवान् अर्ती उपदेश दिनुहुन्थ्यो ।
परिश्रमी र रचनात्मक मानिससँग मित्रता बढाउनू, आफ्नो असल कर्म र आचरणबाट समाज र राष्ट्रमा चिनारी बनाउनुजस्ता कुरा सिकाउनुहुन्थ्यो । म चाहिने नचाहिने कुरामा जिद्दी गर्थें तर मेरा हरेक जिद्दी पूरा गर्न खोज्नुभयो । मभित्र केही कमीकमजोरीहरू हुँदासमेत सधैँ मलाई राम्रो देखाउन खोज्नुभयो । आफ्नो पीडा लुकाएर मेरो हर खुसीमा आफूलाई खुसी देखाउनुभयो । कैयौँ गल्तीहरू गर्दा पनि ती गल्तीहरू लुकाइ आफूलाई गलत देखाउनुभयो । मेरो प्रेरणाको स्रोत र हौसला हुनुहुन्थ्यो मेरो बुबा । यो दुनियाँमा आफ्नो हरेक पीडा लुकाइदिने, नि:स्वार्थ र सर्तरहित विशुद्ध माया दिने बुबा–आमाबाहेक सायद कोही छैन ।
समस्त मानव जगत्को पहिलो गुरु नै आमा–बुबा हुन्, जो सदासर्वथा पूज्य हुन्छन् । आमा–बुबाको ममता अमृतको समुद्रभन्दा धेरै मीठो हुन्छ जुन अनन्तकालसम्म रहिरहन्छ । पिताको महिमा शब्दमा वर्णन गर्न सकिँदैन, त्यसलाई केवल अन्तर्मनले महसुस मात्र गर्न सकिन्छ । पिता आदर्श र जिम्मेवारीको जननी हो । पिता संघर्षको प्रतीक हो । पिताको आदर्श कहिल्यै नष्ट हुँदैन । पिताको आदर्श नै छोराछोरीका लागि आशाको केन्द्र हो । पिताको आदर्शले जीवनमा प्रगति तथा साँचो जीवनको वास्तविक सम्भावना जीवित राख्छ ।
संसारमा जन्म लिनु ठूलो कुरा होइन, जन्मेर बाँच्नुको अर्थ के हो ? आफ्नो प्रिय सन्तानलाई हरेक पिताले सिकाउने कुरा यही हो । पिता आमाको असल जीवनसाथी मात्र होइन, सृष्टिको पहरेदार पनि हो । पिता केवल एउटा शब्द मात्रै होइन, सत्य अनि शक्ति पनि हो । पिताको सम्बन्ध हरेक सन्तानको भावना र भरोसासँग गहिरो रूपमा जोडिएको हुन्छ । उज्ज्वल भविष्य निर्माणका लागि संघर्षको पाठ सिकाउने प्राणी पिता हो । कति दु:ख, पीडा लुकाएर अनि अनेक अपजस र अपमान पनि चुपचाप सहेर उसले सन्तानलाई खुसी बाँड्ने प्रयास गरिरहेको हुन्छ ।
मृत्यु एक प्रसन्नतापूर्वक निद्रा हो, जसपछि जागरणको आगमन हुन्छ । आत्माको स्वरूप पुनित हुनु नै मृत्यु हो । यो ब्रह्माण्डमा कोही पनि अनमोल छैन, समयले सबैलाई माटो बनाइदिन्छ । मृत्यु कसैको अभावको प्रकट रूप हो । आत्मा अमर छ, न त यसको जन्म हुन्छ, न मृत्यु । यो प्रकृतिको चक्रमा अनित्य छ । मान्छेको आयु केवल दुई दिनको रहेछ । जसरी नदी लगातार बग्दै जान्छ, त्यसैगरी मानिसको आयु पनि गइरहन्छ ।
कालको लहरले कसैको प्रतीक्षा गर्दैन । कालले कहिल्यै कसैसँग सम्झौता गर्दैन । संसारमा सबैको मृत्यु अनिवार्य छ, यसबाट कोही पनि उम्कन सक्दैन । जस्तोसुकै अप्ठ्यारो लागे पनि मृत्युलाई स्वीकार्नुको विकल्प रहेनछ । प्रकृतिको नियमअगाडि कसैको केही नलाग्दोरहेछ । मानवको शरीर अनित्य छ, सम्पत्ति शाश्वत् छैन, सबैको नजिक मृत्यु बसिरहेको छ । बुबाको मृत्यु मेरो लागि अत्यन्तै भयानक थियो, किनकि उक्त घटना मेरो कल्पनाभन्दा निकै बाहिरको थियो र मैले कहिल्यै मृत्युसँग घनिष्ठ परिचय गर्ने प्रयाससमेत गरेको थिइनँ ।
रोएर चाहेको पुग्ने भए संसार पहिल्यै आँसुमा डुबिसक्थ्यो होला । मृत्युले एक थोक लिएर आएको थियो तर सबै थोक लिएर गयोजस्तो लाग्थ्यो । बुबाको स्मृतिका एकाध पलहरू मस्तिष्कमा घुमिरहन्छन् र नसा–नसामा भित्रदेखि चिथोर्न थाल्छन् । त्यो पीडादायी पल । उफ ! म सम्झिन पनि सक्दिनँ । कति कहालिलाग्दो, कति भयानक !
बुबाको अभावमा मेरो जीवन स्तब्ध र मर्माहत भएको छ । पितृ वात्सल्यबाट वञ्चित छु । मन अझैसम्म पनि शोकाकुलमै डुबेको छ र मनभित्र दर्दनाक व्यथाहरू दबिएर बसेका छन् । ती चोटहरूमा मल्हमपट्टी पनि लगाउन नखोजेको होइन तर मेरा सम्पूर्ण प्रयासहरू विफल भएका छन् । अब जीवनको जिउने र मर्ने एक मात्र आधार उहाँको सम्झना मात्र रह्यो । समयसँगै चल्नु मान्छेको बाध्यता र जिन्दगीको नियम रहेछ । पीडाको आवाज मौनताले मात्र प्रकट गर्न सक्दो रहेछ । अतीतलाई सहनुबाहेकको अरु कुनै विकल्प रहेनछ । बुबालाई बचाउन सकिनँ भनेर मनले आफैँलाई धिक्कार्छ ।
बुबाले मलाई सपना दिनुभयो, जसबाट मैले आफ्नो भविष्य देख्न सकेँ । बुबाको अभावमा आज जीवनमा धेरै जिम्मेवारीबोध भएको छ, जुन कुरा मैले पहिले त्यति गहन रूपमा अनुभवसमेत गर्न पाएको थिइनँ । मनुष्यको अमरत्वको मधुर आशा कुनै नामबाट सृष्टि हुँदैन, बरु उसको कर्म र देनले हुन्छ । मैले आफ्नो बुबालाई यस धर्तीबाट गुमाएँ, तर बुबाले जीवनभर सिकाउनुभएको ज्ञान, संस्कार, शिक्षा–दीक्षा आजसम्म पनि संग्रह गरेर राखेको छु । बुबाको धार्मिक निष्ठा, उदार भावना, सद्भावपूर्ण व्यवहार, मिजासिलो स्वभाव र कल्याणकारी भूमिका नै मेरा मानसपटलमा स्मरण भइरहन्छन् । उहाँको भौतिक शरीर यो संसारमा अहिले नभए पनि उहाँको अस्तित्व गुमेको छैन । उहाँ सदा मेरो मन, मस्तिष्कमा रहिरहनुहुनेछ । जतिबेला मसँग बुबा हुनुहुन्थ्यो, त्यस बेला मैले बुबालाई बुझिनँ ।
जतिबेला मैले बुबालाई बुझेँ, त्यति बेला उहाँ मसँग हुनुहुन्नथ्यो । तर पनि उहाँसँगको साथ अहिले गहिरो हुँदै गएको छ । अहिलेसम्मका धेरै सफलतातर्फ डोर्याउन बुबाका ज्ञान अधिक मात्रामा पथप्रदर्शक बनेका छन् । उहाँको त्याग, तपस्या, समर्पण र मायाको सदैव ऋणी रहनेछु । आजका दिनसम्म बुबासँगका क्षणहरूलाई जीवन्त राख्ने धेरै घटनाहरू मेरो स्मरणमा छचल्किरहेका छन् । उहाँको अभाव नै मेरो आगामी दिनको समस्त शक्ति र सामर्थ्य हुनेछ । बुबाबिना जीवन कोरा कागजजस्तै छ तर उहाँको अनुपस्थितिमा हृदयको उत्कण्ठा अझ तीव्र भएका छन्, जसले मलाई मेरो बाँकी जीवनकालमा केही राम्रो गर्न उत्प्रेरणा दिइरहन्छ ।
बुवा म तपाइले दिएको अर्ति उपदेश र तपाइका सपना पूरा गर्न कहिल्यै भुल्ने छैन! आज ” बुवाको मुख हेर्ने दिन ” तपाइको भौतिक शरीर नभएपनी स्वर्गबाटै आशीर्वाद दिइराख्नु होला !