काठमाडौं । गत फागुन २५ गते सम्पन्न राष्ट्रपति निर्वाचनकालागि बनेको नयाँ सत्तासमीकरण अन्ततःराष्ट्रिय सभा अध्यक्ष निर्वाचनको संघारमा आएर टुंगिएको छ । गत वर्ष राष्ट्रपति निर्वाचनकालागि नेपाली कांग्रेससहित आठ दलले नयाँ सत्ता समीकरण गरेका थिए ।
सोमबार सोहि गठबन्धन भत्कीएर एमाले सहित पुनः गत पुष १० अघिकै सत्तासमीकरण बनेको छ । मुख्यगरि राष्ट्रिय सभा अध्यक्षको निर्वाचन यहि फागुन २९ गते तय गरिएको छ ।
राष्ट्रियसभा निर्वाचनमा माओवादीले उम्मेदवारी दिने यसअघि नै घोषणा गरिसकेको छ । गत वर्ष पुष १० गते एक्कासी एमालेसहितको गठबन्धन भत्काउदै कांग्रेस सहितका दलहरुसँग सत्ता समीकरण गरेका प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार पुनःएमालेसँगै गठबन्धन गर्दै सानो आकारको मन्त्रिमण्डल विस्तार गर्न लाग्नुभएको छ ।
राष्ट्रपतिमा कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई समर्थन गर्ने निर्णय गरेपनि एकाएक भत्कीएको गठबन्धन पुनःलयमा आउदा अहिले राजनीतिक घटनाक्रम थप तरंगीत भएको छ । मुख्यगरि अहिले माओवादी सहित एमाले, रास्वपा लगायतका दलहरुको नयाँ सत्ता समीकरण सुरुभएको छ ।
संघीय संसदको तेस्रो दल माओवादीले राजनीतिक घटनाक्रमलाई आफ्नो केन्द्रीत बनाउदा राजनीतिक वृतमा थप संशय उत्पन्न भएको कतिको भनाई छ ।
संघीय संसदमा अहिले कांग्रेसको ८८, एमाले ७७, माओवादी केन्द्रको ३२, रास्वपाको १९, राप्रपाका १४, जनता समाजवादी पार्टी जसपाको १२, एकिकृत समाजवादी पार्टीको १०, जनमत पार्टीको ६, लोकतान्त्रीक समाजवादी लोसपाको ४, नागरिक उन्मुक्ती पार्टीको ४ र राष्ट्रीय जनमोर्चाको १ सिट छ ।
मुख्यगरि राजनीतिक मियोलाई आफ्नो केन्द्रमा पार्न माहिर अध्यक्ष दाहालले आफ्नो कार्यकाललाई लम्ब्याउन लिएको निर्णय भन्नेहरु पनि धेरै छन् । संघीय संसदका पहिलो दल कांग्रेस र दोस्रो दल एमालेलाई सत्तासमीकरणको खेलमा प्रचण्डले घुमाइँ रहेको कतिको अनुभूति रहेको छ ।
कांग्रेस सहितको सत्ता गठबन्धनबाट प्रधानमन्त्री बनेका दाहाल पुनःएमाले सहितको समर्थनमा आफ्ना कार्यकाललाई लम्ब्याउन खोज्दैछन् । सत्ता समीकरणकै सहमतिलाई मान्ने हो भने, अब एक वर्षमात्रै प्रधानमन्त्रीमा बस्ने अवसर थियो तर, सोमबार बिहानै नयाँ सत्तासमीकरण बनेपछि उनको कार्यकाल कहिलेसम्म रहन्छ त्यो समयले बताउने छ ।