संवाददाता
काठमाडौं: गत सातादेखि नै निरन्तर उकालो लागेको शेयर बजार आइतबार एकैदिन ७५ अंकले बढेर २९ सय अंक नजिक पुगेको छ । यसदिन नेप्से परिसूचक ७५.२४ अंकले बढेर २ हजार ८९० को विन्दुमा कायम भएको छ ।
आइतबारको बजारमा १९६ कम्पनीको शेयर मूल्य बढेको छ भने ४४ कम्पनीको घटेको छ । दिनभरिमा ३०२ कम्पनीको २ करोड ९१ लाख ६६ हजार कित्ता शेयर किनबेच हुँदा १४ अर्ब २५ करोड माथिको शेयर कारोबार भएको छ । अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ११ अर्ब ३९ करोडको शेयर खरिदबिक्री भएको थियो ।
आजको बजारमा आधा दर्जन कम्पनीको सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । यस दिन हिमालयन डिष्टिलरी, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, सिन्धु विकास बैंक र दोर्दी खोला जलविद्युत कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन समाज लघुवित्त वित्तीय संस्थाको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । समाज लघुवित्तले ग्रामिण विकास लाघुवित्तसँग मर्जरमा जाने सम्झौता गरेको छ । ग्रामिण विकासको शेयर मूल्य भने साढे ६ प्रतिशतले बढेको छ ।
१३ समूहको कारोबार भएको बजारमा म्युचुअल फन्डबाहेक बाँकी सबै समूहका सूचक बढेका छन् । उत्पादनमूलक समूहमा सबैभन्दा बढी वृद्धि भएको छ । यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ४.७९ प्रतिशत बढेको छ ।
त्यस्तै, यस दिन वित्त, होटल तथा पर्यटन र जीवन बीमा उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक, लगानी र निर्जीवन बीमा उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक भने १.२७ प्रतिशत घटेको छ।
आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ९७ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ८५ करोड ९३लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिन्धु विकास बैंकको ४० करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।