– मोहन आचार्य । देश युद्धको भुमरीमा थियो । रुकुमका हरेक बाटोमा माइन बिच्छाईएका हुन्थे। राज्य र विद्रोही दुवै पक्ष युद्धका नियम मिच्ने होडबाजीको प्रतिस्पर्धामा थिए । आधारभुत मानव अधिकारका विषय पुर्ण रुपले खारेज भएका थिए । हुलबुलमा ज्यान जोगाउनु अनिकालमा बिउ जोगाउनु भने झै त्यतिबेला ज्यान जोगाउनु नै ठुलो सफलता कहलिन्थ्यो । सदरमुकामको सैनिक घेरामा बाहेक अन्यत्र एस.एल.सी परीक्षा संचालन गर्न सम्भव थिएन ।
जिल्लाभरबाट सदरमुकाम मुसिकोट पुग्नु पर्ने बाध्यता थियो । राज्यले विद्रोही र विद्रोहीले सरकारको सुराकी करार गरी भिराइदिएको बिल्ला बोकेर सानो मन बनाउदै सरदमुकाम पुग्नु पर्ने बाध्यता थियो । गाँउमा विद्रोहीको शासन थियो भने सदरमुकाममा राज्यको । गाँउबाट सदरमुकाम पुग्दा सत्रु राज्यमा पुगे सरह अपमान र दुर्व्यवहार व्यहोर्नु पर्थ्यो । गाँउबाट सदरमुकाम पुग्दा पनि गाँउको बिद्रोही सरकारको अनुमति लिनु पर्थ्यो ।
त्यो पनि सामान्य कामको लागि पाइदैनथ्यो । एसएलसीको महत्व बुझेका केही व्यक्तिको कृपाले अनुमतिको चिर्कटो पाइयो । सदरमुकाम जाने अनुमति पाउदा नै एक प्रकारको सफलता पाए झै भएको थियो । करिब ६ घण्टाको पैदल बाटोमा कापी किताब त हुने भैहाले खाना पकाउने भाँडाकुडादेखि ओड्ने ओछ्याउने लत्ता कपडा सम्म घरबाटै बोक्नु पर्ने अवस्था थियो । एक प्रकारले भरीया जस्तै भएर सदरमुकाम पुग्नु पर्ने बाध्यता थियो ।
तर त्यो असहजतालाई सुन्दर भविश्य प्राप्तिको उत्प्रेरणाले एकदमै रमाईलो बनाइदिएको थियो । सरकार त सदरमुकाम मा मात्र थियो । ६—७ घण्टाको बाटोमा विद्रोही पक्षबाट करिब ६—७ ठाँउमा नै चेकिङ भयो होला । चेकिङको क्रममा अनेक मन अत्याउने कुराहरु सु्न्नु पर्थ्यो । हामी एक दुइ दिनमै सदरमुकाम कब्जा गर्दैछौं। तिमिहरु त्यता नजाउ । नजिकैका आफन्त भनिएकाहरुले पनि तिमिहरु मर्नको लागि मुसिकोट नजाउ ।
ज्यान बच्यो भने यस्ता एसएलसी कति आउछन् आउछन् । कसैले त अझ यो वुर्जुवा शिक्षाको लागि ज्यान खेर नफाल पनि भन्थे । सक्छौ हामिलाई सहयोग गर नत्र आफ्नो ज्यान मात्र भए पनि जोगाउ भन्थे । यस्ता कुरा सुन्दा मनमा चिसो पस्थ्यो । तर, एसएलसी पास गर्ने हुटहुटीले मनलाई रोक्न त कहाँ सक्थ्यो ?
कोठा खोज्न सदरमुकाम पुग्दा अनाहकमा २ दिन हिरासत बसेर आएकोले मेरो मन अझै बढी त्रसिद थियो । सैनिक र प्रहरीको घेराभित्र पनि असुरक्षित भैइन्छ कि भन्ने अनौठो तर सत्य मनोबैज्ञानिक त्रासले झस्काई रहन्थ्यो । बेला बेला साथीहरुबिचमै के गर्ने भनेर कुरा उठ्दथ्यो । कतिपएले त एसएलसी नदिने भनेर छोडिसकेका थिए ।
हामी यात्रामा रहेकाको मनमा पनि अनेक कुराहरु खेल्थे । यस्तै दुविधाको बीच सदरमुकाम पुग्यौं । बसाई मठ भन्ने ठाँउमा थियो भने परीक्षा केन्द्र सेरीगाँउमा । कोठाबाट २०-२५ मिनेटमा परीक्षा केन्द्र पुगिन्थ्यो । त्यो २०-२५ मिनेटको हिडाईमा परिक्षामा आउने प्रश्न भन्दा रातभर भएका गोलाबारी र बन्दुकका आवाजहरु बढी मनमा खेलिरहेका हुन्थे । कसरी परीक्षा दिउ र यहाँबाट घर पुगौ जस्तै लागेको हुन्थ्यो । हरेक रात दोहोरो गोलाबारी हुन्थ्यो ।
मकै भुटेसरी पड्कने गोलीका आवाज सुन्दा अवस्था निकै जटिल भयो होला जस्तो लाग्थ्यो तर बिहान सामान्य नै हुन्थ्यो । यसरी करिब १० दिन विताएर एस।एल।सी दिएर आएको हाम्रो इतिहास हो । हामीले मात्र होईन । त्यो आसपासका दुर्इ तिन वर्षका परीक्षार्थीहरुले भोगेको सत्य इतिहास हो यो ।
उतिबेला एस।एल।सीलाई एउटा प्रतिष्ठाको रुपमा लिइन्थ्यो । परीक्षा प्रणाली कडा थियो । ९ र १० को पाठ्यक्रमबाट प्रश्न आउने भएकोले अझै बढी जटिल थियो । विषयगत शिक्षकको अभावमा पढ्नु पर्ने बाध्यता त थियो नै त्यो भन्दा बढी पढ्ने वातावरण थिएन । घरको कामकाज सकेर पढौं भन्नेलाई पनि देशको वातावरणले साथ दिएको थिएन ।
अहिले अवस्था निकै फरक छ । एस।एल।सी परिवर्तन भएर एसईइ भैसकेको छ । विगतको प्रभावले राष्ट्रिय माहोल तातिए पनि व्यक्तिगत रुपमा कसैलाई छुदैन अहिले । सबै वातावरण सहज छ । शैक्षिक सामाग्री र शिक्षकको प्रचुरता छ । तर पढाई प्रति विद्यार्थीको चासो नै छैन ।
विद्यालयमा औपचारिकता पुरा गर्ने उद्दश्यले गए झै अवस्था छ । एकाध बाहेक अधिकांश विद्यार्थीहरुमा पढाई प्रतिको दिगो रस नै बस्न सकेको छैन । कक्षा कोठाको चारभित्ता नै विद्यार्थीको लागि सबैभन्दा बोझिलो ठाँउ लाग्न थालेको छ । देशको लागि यो पक्कै राम्रो संकेत होईन । विद्यालयको शिक्षा नै अन्तिम त होईन ।
तर विद्यालय अनुशासित बनाएर ज्ञान सिकाउने थलो चाहि अवस्य हो । बिद्यार्थीहरुमा पढाई प्रतिको रस पुनः जागृत होस् । आजदेखि एसईइ दिदै गरेका सम्पुर्ण भाइबहिनीहरुलाई हार्दिक शुभकामना ।