काठमाडौं । रुकुमपश्चिमको सोती गाउँमा अन्तरजातीय प्रेम र विवाहको निहुँमा हत्या भएका जाजरकोटका नवराज विकसहित ६ जना युवाका आफन्त अदालतबाट न्याय पाएपछि धन्यवाद ज्ञापन गर्न काठमाडौं आइपुगेका छन् । साढे तीन वर्षअघि भएको हत्याकाण्डमा जिल्ला अदालत रुकुम पश्चिमको १९ मंसिरको फैसलाले न्याय पाएको भन्दै अदालतको गेटमा फुल चढाएर न्यायाधीशलाई सम्मान गरेका उनीहरूले काठमाडौंमा पनि धन्यवाद र्याली निकाल्न लागेका हुन् ।
मुद्दामा न्याय दिने न्यायालय, न्यायाधीश, सरकार र घटनामा सद्भाव राख्ने सबैप्रति धन्यवाद ज्ञापन गर्न काठमाडौं आएको नवराजका बुवा मुनलाल नेपालीले बताए । उनका अनुसार शुक्रबार दिउँसो २ बजे भृकुटीमण्डपमा जम्मा हुने र त्यसपछि र्याली लिएर शान्तिवाटिका पुगेपछि धन्यवाद सभा गर्ने कार्यक्रम रहेको छ ।
बिहीबार राष्ट्रिय दलित आयोग पुगेका उनीहरूलाई आयोगले दलित अधिकारकर्मीहरूसमेतको उपस्थितिमा स्वागत गरेको थियो । जातीय भेदभाव र छुवाछुतजस्तो अमानवीय सामाजिक अपराधको घटनामा अहिलेसम्मकै महत्वपूर्ण न्यायिक फैसला आएको भन्दै दलित अगुवा र अधिकारकर्मीहरुले समेत धन्यवाद र्यालीमा सहभागिता जनाउनेछन् ।
मुद्दामा थुनछेक बहस सकिएपछि पनि घटनामा मारिएका ६ युवाका आमाहरुले काठमाडौंको माइतीघरमा आएर न्याय माग्दै विरोध प्रदर्शन गरेका थिए । २०७७ जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँकी मल्ल थरकी २१ वर्षीय युवतीलाई भेट्न पुगेका उनका प्रेमी नवराजसहितका साथीहरू स्थानीयको आक्रमणमा परेका थिए । त्यसबेला नवराजसहित उनका साथीहरू सन्दीप विश्वकर्मा, टीकाराम सुनार, गणेश बुढा, लोकेन्द्र सुनार र गोविन्द शाहीको ज्यान गएको थियो।
उनीहरूको शव दुई सातासम्मको खोजीपछि भेरी नदी किनारबाट संकलन गरिएको थियो। घटनामा अरू १२ जना घाइते भएका थिए। घटनालगत्तै नवराजका बुबा मुनलालको जाहेरीमा चौरजहारी–८ का तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित ३४ जनाविरुद्ध २०७७ जेठ ३२ मा मुद्दा दायर भएको थियो। त्यसमध्ये ३३ जनालाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछूत कसुरको अभियोग र एक जनालाई यी सबै अपराधमा मतियारको भूमिका निर्वाह गरेको अभियोग लागेको थियो। आरोपित ८ जनाले भने सफाइ पाएका छन् ।