काठमाडौं । एसिसी यु–१९ एसिया कप क्रिकेटअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित भएको छ । संयुक्त अरब इमिरेट्स (युएई) स्थित आइसिसी एकेडेमी ओभल २ मैदानमा आइतबार भएको खेलमा जितमा लागि २६२ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपाल ४२.१ ओभरमा सबै विकेटको क्षतिमा एक सय ८८ रनमा समेटिएको थियो । लगातार दोस्रो हारसँगै नेपालको सेमिफाइनल पुग्ने गणितिय सम्भावना कमजोर बनेको छ । नेपाल समूहको पहिलो खेलमा पाकिस्तानसँग सात विकेटले पराजित भएको थियो । नेपालका लागि अर्नुन कुमालले सर्वाधिक ९१ रन बनाउनुभयो । उहाँले एक सय आठ बलमा १३ चौकाको सहयोगमा उक्त रन बनाउनुभएको हो । देब खनालले २४, गुलशन झाले १७, दीपक बोहोराले १५ र दीपेश कंडेलले ११ रन बनाउनुभयो ।
बलिङ्मा अफगानिस्तानका नासिर खान मारोफ्खिल र फ्रिडोन डाउडजाईले तीन तीन विकेट लिनुभयो । मोहमद युनुसले दुई दुई तथा वाहिदुल्हा जार्दन र खलेल अहमदले एक एक विकेट लिनुभयो । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अफगानिस्तानले ४९.३ ओभरमा सबै विकेटको क्षतिमा दुई सय ६१ रन बनाएको थियो । अफगानिस्तानका लागि जस्मित जर्दानले अविजित एक सय ६ रनको सतकीय पारी खेल्नुभयो । उहाँले एक सय ५२ बलमा आठ चौकाको सहयोगमा उक्त रन बनाउनुभएको हो । नुमन शाहले ६०, रहिमुल्लाह जुरमतिले ३५, वाफिल्लुहा ताराकहिलले १५, खलेल अहमदले १३ र खलिद तानिवालले १० रन बनाउनुभयो ।
बलिङमा नेपालका हेमन्त धामी, सुवास भण्डारी र गुलशन झाले दुई दुई विकेट लिनुभयो । आकाश चन्द र दीपेश कँडेलले एक एक विकेट झार्नुभयो । एसिया कपमा नेपाल समूह ‘ए’ मा छ । यस समूहमा निकै बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तान छन् । समूह ‘बी’ मा आयोजक युएई, जापान, बङ्गलादेश र श्रीलङ्का छन् । एसिया कपलाई एक महिनापछि दक्षिण अफ्रिकामा आयोजना हुने आइसिसी यु–१९ विश्वकप तयारीको रूपमा समेत लिइएको छ । नेपालले समूहको तेस्रो तथा अन्तिम खेल २६ गते भारतसँग खेल्नेछ । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।