काठमाडौं । काठमाडौं महानगरपालिकाले भोलिदेखि सुर्तीजन्य पदार्थ पूर्णरुपमा निषेध गर्ने घोषणा गरेको छ । महानगरले आज दिउँसो पत्रकार सम्मेलनमार्फत सुर्ती सेवनका निम्ति बनाइएको वा उत्पादन गरिएको चुरोट, बिडी, सिंगार, तमाखु, सुल्फा, प्लाष्टिकमा प्याक गरिएका कच्च सुर्ती, खैनी, गुट्खा, पानपराग वा मुखमा राख्ने रस लिने सुर्तीजन्य पदार्थको सेवन मानव स्वास्थ्यका लािग अत्यन्त आनिकारक भएको उल्लेख गर्दै सो घोषणा गरेको छ ।
महानगरका प्रवक्ता नविन मानन्धरले जनस्वास्थ्यमा परेको प्रतिकूल प्रभाव रोक्न, सहरी सौन्दर्यता कायम राख्न, भूमि तथा वातावरणीय असर न्यूनीकरण गर्न मङ्सिर २८ गते शुक्रबारबाट सुर्तीजन्य पदार्थ पूर्ण रुपमा प्रतिबन्ध गरिएको बताउनुभयो । उहाँले भोलिदेखि महानगरभित्रका सबै पसलमा अनुगमन हुने र सुर्तिजन्य पदार्थ पाइएम दुई पटकसम्म जफत गरिने र तेस्रो पटक पाइएमा त्यस्ता पसल बन्द हुने जस्ता कारबाही हुने बताउनुभयो ।
उहाँका अनुसार धम्रपान गरेका सार्वजनिक स्थलबाट निकालिने र एक सय रुपियाँसम्म जरिवाना गरिने तथा सार्वजनिक स्थलको एक सय मिटर वरिपरी वितरण गरेको पाइएमा जफत गरी पसल बन्द गरिने छ । महानगरले यसका लागि चार क्षेत्रमा दश जनाका दरले नगरप्रहरी परिचालन गरिने जनाएको छ । उहाँले पहिलो चरणमा ५० जना नगरप्रहरी परिचालन हुने र सादा पोसाकमा समेत नगरप्रहरीले अनुगमन गर्ने बताउनुभयो । महानगरले काठमाडौं महानगरपालिका जनस्वास्थ्य ऐन २०८० को दफा ४२ तथा सुर्तीजन्य पदार्थ (निरुपण र नियमन) ऐन २०६८ को दफा ११ अनुसार सो पहल गरेको बताएको छ ।