काठमाडौं– माघ ९ गते दिउँसोको घटना हो । आमाको खाताबाट लगालग २२ पटकसम्म ५ हजारका दरले १ लाख १० हजार रुपैयाँ काटिन्छ । तर, अचम्मको कुरा लुम्बिनी विकास बैंक इनरुवा शाखाको खातामा रहेको उक्त रकम न छोराले निकालेका हुन्छन्, न आमाले । कनेक्ट आईपीएस ह्याक गरेर गिरोहले त्यो रकम निकालेपछि भोलिपल्टै ति छोरा आमालाई लिएर सम्बन्धित बैंकको शाखामा पुग्छन् । बिहान १० बजे बैंकमा पुगेर उजुरी गरिरहेकै बेला फेरि मेहेताको मोबाइलमा म्यासेजको घन्टी बज्छ । १०ः१५ मा आएको त्यो म्यासेजले छोराको सानिमा बैंकको खातामा रहेको ९ लाख रुपैयाँ काटिएको सूचना दिन्छ ।
यो सुनसरीस्थित इनरुवाका आमा रुशनी देवी र छोरा शिव नन्दन मेहताले भोगेको घटना हो । बचतकर्ताहरु बैकमा बचत रहेको पैसा सुरक्षित हुन्छन् भनेर ढुक्क हुन्छन् । तर, इनरुवामा रहेको सानिमा बैंकले गैरजिम्मेवारी हर्कत देखाउँदा रुशनी र शिवको १० लाख १० हजार रुपैयाँ गायब भएको हो । पीडित कनेक्ट आईपीएस ह्याक गरेर पैसा चोरी भएको पाँच मिनेटमै बैंक पुग्दा पनि एक्सन नलिएपछि अहिले पीडित न्यायका लागि चौतर्फी धाइरहेका छन् ।
आफ्नो खातामा रहेको ९ लाख रुपैयाँ चोरी भएपछि रुशनीका छोरा शिव म्यासेज आएको पाँच मिनेट भित्रै सानिमा बैंकको इनरुवा शाखा पुगेका थिए । आफूले काराबोर नगरीकनै आफ्नो खाताको रकम अन्त ट्रान्सफर भएको भन्दै तत्काल रोकिदिन आग्रह गरे । बैंकले उक्त रकम एनआईसी एसिया बैंक, बुद्ध चोक शाखा, रुपन्देहीमा खोलिएको पारश्वर थापा क्षेत्रीको खातामा ट्रान्सफर गरिएको जानकारी दिँदै यसमा केही गर्न नसकिने भन्दै पन्छियो । त्यसपछि मेहता दौडिएर छेउमै रहेको एनआईसी एसिया बैंक पुगे । कनेक्ट आइपिएस ह्याक भएर रकम चोरी भएको जानकारी गराउँदै तत्काल उक्त रकम रोक्का गरिदिन आग्रह गरे । तर, एनआइसीले पनि सुनेन । ‘‘सानिमा बैंकले ‘क्विक रेस्पोन्स’ गरिदिएको भए मेरो खाताको पैसा रोकिन्थ्यो । तर, दुवै बैंकले मानेनन्,’ मेहतोले भने ।
प्रहरीले आइपिएस कनेक्ट सर्भरबाट ह्याक गरेर ९ लाख पैसा झिक्ने पारश्वर थापा क्षेत्री र १ लाख १० हजार झिक्ने अफसोर सफ्टटेक प्रा.लिका सञ्चालकलाई पक्राउ पुर्जी जारी गरेर खोजिरहेको छ । एनआइसी बैंकमा थापाको ठेगाना स्वर्गद्धारी नगरपालिका १० छ । तर, अनुसन्धानका क्रममा स्वर्गद्धारीमा ८ वटामात्रै वडा रहेको खुलेको छ । ‘यसले पनि एनआइसी बैंकको बदमासी पुष्टि गर्छ,’ मेहताले भने ।
बैंकप्रति जनताको अविश्वास बढिरहेका बेला घटेका बेला यो घटनाले झन् त्रासको अवस्था सिर्जना गरेको छ । सानिमाबाट ट्रान्सफर भएको रकम १५ मिनेटभित्रै एनआइसी बैंक खाताबाट रुपन्देहीबाट पारश्वर थापाले निकालेको खुलेपछि बैंकको भूमिकामाथि पनि प्रश्न उठेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीमा उजुरी परेपछि प्रहरीले बैंकबाट पैसा निकालेको प्रष्टै देखिएको सिसिटिभी फुटेज पनि फेला पारिसकेको छ । तर, रकम झिक्ने व्यक्ति अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् ।
उता आमाको खाताबाट ट्रान्सफर भएको रक मभने सिद्धार्थ बैंक कुमारीपाटी, ललितपुर शाखामा रहेको अफसोर टेक प्रालिको खातामा प्रत्येक पटक ५ हजार रुपैयाँका दरले २२ पटक रकम ट्रान्सफर देखिएको छ । पीडित मेहता आफूले ऋण लिएको रकम चोरी भएको भन्दै विलखबन्दमा छन् । प्रधानमन्त्री कार्यालय, राष्ट्रबैंक, सम्बन्धित बैंक, सांसदहरुदेखि प्रहरीसम्म उनी उजुरी लिएर धाइसकेका छन् । उनका खुट्टा थाकिसके तर अहिलेसम्म न्याय पाएका छैनन् । यो सबै बैंकको लापरवाहीले भएको उनी बताउँछन् । यता कुमारी बैंक केन्द्रिय कार्यालयका सहायक सिओओ टंकमणी पोखरेले भने एकदमै चाँडो कारोबार भएका कारण पैसा जोगाउन नसकिएको बताउँछन् । ‘इनरुवामा पैसा डिपोजिट भइरहँदा उता रुपन्देहीमा पैसा झिक्नलाई तयार भएर बसेको अवस्था रहेछ । डिपोजिट गरेको १५ मिनेटभित्र पैसा निकालेकाले रोक्का गर्न सक्ने समय मिलेन । यद्यपी अनुसन्धान भइरहेछ । पक्कै पीडितलाई न्याय मिल्ला,’ उनले भने ।