काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तेस्रो पटक विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले बुधबार प्रतिनिधि सभामा प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १५७ सांसदले समर्थन प्राप्त गर्नुभएको हो । प्रस्तावको विपक्षमा ११० मत परेको छ।
प्रधानमन्त्री दाहाललाई मत दिन्न भन्नेमा १ मत परेको थियो। प्रतिनिधि सभामा बुधबार २६८ सांसद उपस्थित थिए। प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत दिनुभएको हो ।
उक्त धारामा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नुपर्ने प्रावधान छ।
गत फागुन २१ गते प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससँगको गठबन्धन तोडेपछि नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी सहितका दलको नयाँ समीकरण बनेको थियो। त्यही दिन कांग्रेस सरकारबाट बाहिरिएर समर्थनसमेत फिर्ता लिएको थियो।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्राप्त गरेको यो तेस्रो पटक हो। २०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले त्यही २६ गते विश्वासका मत लिनुभएको थियो ।
त्यतिबेला सदनमा उपस्थित २७० सांसदमध्ये २६८ जनाले उहाँलाई समर्थन गरेका थिए। २०७९ फागुन १५ गते एमाले सरकारबाट बाहिरिएर गठबन्धन फेरबदल भयो। चैत ६ गते प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत लिनुभएको थियो ।