नेपालगञ्ज । नेपाल र भारतका सुरक्षा अधिकारीबीच सीमा सुरक्षाबारे भारतको नानपारामा बैठक सम्पन्न भएको छ । भारतस्थित बहराइच जिल्लाका डिस्ट्रिक्ट मजिस्ट्रेट मोनिका रानीको निमन्त्रणामा बहराइच, बाँके र बर्दियाका सुरक्षा अधिकारीहरुबीच सुरक्षा समन्वय बैठक सम्पन्न भएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताउनुभयो । २२ जनवरीमा अयोध्यामा हुने श्रीराम मन्दिर प्राण प्रतिष्ठा र २६ जनवरीमा हुने भारतीय गणतन्त्र दिवसको सुरक्षा संवेदनशीलतालाई सम्बोधन गर्न आवश्यक सूचनाको आदानप्रदान गर्ने, सीमा अपराध नियन्त्रणमा दुवै देशका सुरक्षा अधिकारीहरुले आपसी समन्वयमा काम गर्ने लगायतका विषयहरूमा छलफल भएको पोखरेलले बताउनुभयो ।
सुरक्षा समन्वय बैठकपछि दुबै देशका सुरक्षा अधिकारीले जमुनास्थित सीमा नाका र सीमा स्तम्भहरूको अनुगमन र निरीक्षणसमेत गरेका थिए ।
बैठकमा नेपालकातर्फबाट बाँकेका प्रमुख जिल्ला अधिकारी पोखरेल, बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी मोहन अर्याल, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख सुवासचन्द्र बोहरा, बर्दियाका प्रहरी प्रमुख सुधिरराज शाही, बर्दियाका सशस्त्र प्रहरी उपरीक्षक हर्कबहादुर शाही र बाँकेका सशस्त्र प्रहरी नायव उपरीक्षक विकास श्रेष्ठ सहभागी हुनुभएको थियो ।