काठमाडौं । बाँकेको डुडुवा गाउँपालिका-६ नौबस्तास्थित जयेन्दु बाल सुधार गृहमा फेरि तनाव सिर्जना भएको छ । स्थिति नियन्त्रणमा लिने प्रयास जारी छ । हिजो दिउँसो तीन-चार बजेदेखि तनाव सुरु भएको थियो । घटनामा केही व्यक्तिहरु सामान्य घाइते भएका छन् ।
उनीहरुले कसैलाई पनि सुधारगृह भित्र प्रवेश गर्न नदिएकाले भित्रको अवस्था विस्तृतमा थाहा हुन सकेको छैन । बाल सुधार गृहमा सिभिलमा खटिएका प्रहरीले स्थिति नियन्त्रणमा लिन नसकेपछि नेपालगञ्जबाट थप प्रहरी टोली गएका थिए । तर प्रहरीलाई सुधार गृहमा बल प्रयोग गर्ने अधिकार नभएकाले स्थिति नियन्त्रणमा आउन सकेको छैन ।
यद्यपि अवस्था सामान्य बनाउने प्रयास भइरहेको बाँके प्रशासनले जनाएको छ । गए राति मानव अधिकार आयोगको क्षेत्रीय कार्यालयका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारीसहितको टोली सुधारगृह पुगेर फर्किएको थियो । यसअघि पनि बाँकेको जयेन्दु बालसुधार गृहमा झडप, आगजनी र तोडफोडका घटना भएका थिए । सो घटनामा परी रुपन्देहीका २१ वर्षीय युवकको ज्यान समेत गएको थियो भने एक दर्जन बढी घाइते भएका थिए । भक्तपुर र वीरगञ्जका बालसुधार गृहमा पनि तनाव सिर्जना भएको थियो ।