काठमार्डौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत स्थायी कर्मचारी तथा शिक्षकहरुका स्तरबृद्धि रोकेको भन्दै शिक्षक तथा कर्मचारीहरु अन्दोलित बनेका छन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लामो समयदेखि स्थायी रुपमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको स्तरवृद्धि तथा नियमावली अनुसारको तलब र भत्ता नपाएको भन्दै उनीहरु उच्च अदालत सुर्खेत जुम्ला इजलास पुगेका थिए ।
प्रतिष्ठानमा कार्यरत ५८ जना शिक्षक तथा कर्मचारीहरुको पक्षमा उच्च अदालत सुर्खेत जुम्ला इजलासबाट मिति २०८१ भाद्र २६ गते फैसला कार्यान्वयन नभए पनि प्रतिष्ठानक उपकुलपति डा.मंगल रावलले फैसला कार्यान्वयनमा आनाकानी गर्दा कर्मचारी तथा शिक्षकहरु आन्दोलित भएका हुन् ।
कार्तिक २६ गतेदेखि आन्दोलनमा उत्रिएका कर्मचारी तथा शिक्षकहरुसंग कार्तिक २७ गते दिउसो ३ बजे पदाधिकारी र आन्दोलनरत पक्षविच भएको दुई पक्षीय वार्तावाट ५८ जना शिक्षक तथा कर्मचारीहरुको स्तरवृद्धि गर्नका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारी परिषदले स्तरवृद्धि गर्ने निर्णय गरि अनुमोदनका लागि सभा (सिनेट) मा पेश गर्ने निर्णय भएको थियो ।
कार्तिक २८ गते प्रतिष्ठानका कूलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेकोे सभा वैठकबाट पनि उक्त निर्णय अनुमोदन भइसकेको हँुदा पनि प्रतिष्ठानका उपकुलपतिले कार्यान्वयन गर्न नमानेको आन्दोलनरत कर्मचारी इन्द्रराज डागीले वताए ।
‘उच्च अदालतको आदेश र प्रधानमन्त्री अध्यक्ष भएको प्रतिष्ठानको सभा वैठकले निर्णय गरिसक्दा पनि उपकुलपति रावलले नियतबस आलटाल गर्दा हामी आन्दोलित हुनुपरेको छ,’उनले भने, ‘उपकुलपति अदालत र प्रतिष्ठानको सिनेट भन्दा माथि हुँ भन्ने जस्तो घमण्ड देखाइराखेका छन् ।’
उच्च अदालत र प्रतिष्ठानको सभा (सिनेट)ले गरेको निर्णयलाई उपकुलपति डा. रावलले कार्यान्वयन नगर्दा आन्दोलनरत कर्मचारी तथा शिक्षकले मंसिर ३ गतेबाट प्रतिष्ठानको शैक्षिक भवन, पदाधिकारी कार्यकक्ष र सम्पूर्ण प्रशासनमा तालाबन्दी गरी आन्दोलनमा उत्रिएका हुन् ।
प्रतिष्ठानमा ताला लागेको एक साता वित्न लाग्दा पनि उपकुलपतिलाई भने कुनै चासो र चिन्ता नभएको कर्मचारी तथा शिक्षकहरुको आरोप छ ।
आन्दोलनका कार्यक्रमहरु अन्तर्गत आवश्यक छलफल तथा सहजीकरणका लागि मंसिर ४ गते जिल्ला समन्वय समितिको सभाहल र मंसिर ५ गते जिल्ला प्रशासन कार्यालयमा वसेको सर्वदलिय वैठकमा समेत प्रतिष्ठानका पदाधिकारीहरु सो विषयप्रति संवेदनशिल नभएकाले कुनैपनि निर्णय हुन सकेन ।
मंसिर ४ गते बसेको सर्वदलीय वैठकको निर्णय अनुसार आन्दोलनरत पक्षबाट मंसिर ५ गतेदेखि ओपीडी सेवा बन्द गर्ने कार्यक्रम रहेकोमा ओपीडी सेवा हाललाई बन्द नगरिदिनका लागि अनुरोध गर्ने निर्णय अनुसार हाल अस्पतालका सम्पूर्ण सेवाहरु संचालनमा रहेको छन् ।
सर्वदलीय वैठकमा प्रतिष्ठानका पदाधिकारी र आन्दोलनरत पक्षले आन्तरिक रुपमा छलफल गरी निकासमा पुग्नुपर्ने भनिएता पनि उपकूलपति स्ंवयम उदासिन बनेको आन्दोलनकारीको भनाइ छ ।
उपकूलपति स्वंयम २०७४ चैत्र ९ गते कार्यकारी परिषदको निर्णयबाट मात्र बढुवा भई मिति २०७७ पुष २० गते प्रतिष्ठानको कुनैपनि नियममा नभएको थप जिम्मेवारी सोही कार्यकारी परिषद्बाट लिइ उपकूलपति पदमा नियुक्त भई हालसम्म उपकुलपति वनेका हुन् ।
२०८१ कार्तिक २७ गते शिक्षक तथा कर्मचारीहरुलाई कार्यकारी परिषदले बढुवा गर्ने निर्णय गरी कार्तिक २८ गतेको सभाको वैठकले समेतले सो निर्णय अनुमोदन गरिसक्दा पनि उपकूलपतिले व्यक्तिगत स्वार्थका कारण शिक्षक तथा कर्मचारीहरुलाई बढुवा गर्न आलटाल गरिरहेको उनीहरुको आरोप छ ।