‘अब आठौ महाधिवेशन तीन दिनको होस् र एक दिन महिला विभागकै कार्यक्रम होस् । हतारहतारमा गर्नुभन्दा पुरा एक दिन महिलाका लागि कार्यक्रम गरियोस् ।’
बैंकक– शनिबारबाट सुरु भएको थाइ नेपाली संघको सातौ महाधिवेशन बैंककमा जारी छ । महाधिवेशनको दोश्रो दिन महिला विभागको विशेष कार्यक्रम आयोजना भएको थियो ।
तर, दुइ–तीन घन्टामात्रै समय उपलब्ध भएकाले थाइ नेपाली महिलाले समयको पावन्दीका बीच आफ्नो कला प्रस्तुति गरेका थिए । कतिले नेपाली गीतमा नृत्य गरे भने कतिले नेपालीपन झल्काउने गीत गाए । यद्यपी समय अभाव भएको महसुस सबैले गरे । त्यसपछि कार्यक्रम संचालकले स्टेजबाटै आगामी आठौ महाधिवेशनमा महिला विभागका लागि एक दिन नै छुुट्याउनुपर्ने प्रस्ताव गरेका छन् । ‘आज महाधिवेशनको दोस्रो दिनको सभामा महिलाको उपस्थिती, वक्तव्य र विचार तारिफयोग्य थियो,’ संचालकले स्टेजबाटै भने, ‘अब आठौ महाधिवेशन तीन दिनको होस् र एक दिन महिला विभागकै कार्यक्रम होस् । हतारहतारमा गर्नुभन्दा पुरा एक दिन महिलाका लागि कार्यक्रम गरियोस् ।’
कार्यक्रममा थाइ नेपाली संघकी केन्द्रिय अध्यक्ष वासना राईले यो संस्थाको नेतृत्वमा दुइ जना महिलाले अवसर पाउनु गौरवको कुरा रहेको बताइन् । ‘हामी नारीहरु देवी हो, घरका लक्ष्मी हौं । समाजका अभिन्न अंग हौं ,’ उनले भनिन्, ‘
थाइ नेपाली संघ भाग्यशाली हो किनभने यसले दुइपटक महिला नेतृत्व पाएको छ । चारमध्ये दुइजना महिला अध्यक्ष बनेका छन् । हामीलाई यति इज्जत दिनुभयो । मानसम्मान दिनुभयो । यसका लागि थाइ नेपाली संघलाई धन्यवाद ।’ आज सम्पन्न हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।