काठमाडौँ — नेपाली कांग्रेसले शुक्रबार राति दाङमा भएको बस दुर्घटनाप्रति दुख व्यक्त गरेको छ । सभापति शेरबहादुर देउवाले घटनामा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको उद्धार र उपचारका लागि कुनै कमजोरी हुन नदिन सरकारको ध्यानाकर्षण गराएका छन् ।
कांग्रेसले पछिल्लो समय देशभर सडक दुर्घटना बढ्दै गइरहेको भन्दै तत्काल एक कार्यदल गठन गरी गहिरो अध्ययन गर्न समेत माग गरेको छ ।
बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर दाङको देउखुरीको राप्ति गाउँपालिका(१ भालुवाङ स्थित राप्ति नदीको पुलबाट खस्दा १२ जनाको मृत्यु र २२ जना घाइते भएको घटनाप्रति कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्नु भएको छ, मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत् भनेका छन्, पछिल्लो समय यस्ता सडक दुघर्टना बढ्दै गइरहेकोले तत्काल एक कार्यदल गठन गरी घटनाहरुको गहिरो अध्ययन गरेर यस्ता घटनाहरुलाई नियन्त्रण गर्न गराउन सरकारको ध्यानाकृष्ट समेत गर्नु भएको छ । कांग्रेसले घाइतेहरुको उपचारको प्रबन्ध मिलाउन समेत सरकारलाई आग्रह गरेको छ ।