काठमाडौं । नेपाली कांग्रेसका सांसद धनराज गुरुङले चितवनको सौराहामा हनिमुन सिटी बनाउन माग गर्नुभएको छ । सोमबार प्रतिनिधि सभा बैठकमा आ.व. २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफलका क्रममा बोल्नुहुँदै सांसद गुरुङले पर्यटन प्रवर्द्धनका लागि चितवनको सौराहामा हनिमुन सिटी बनाउनुपर्ने बताउनुभएको हो । उहाँले नवविवाहित जोडीहरू घुम्न जाने सहरको रूपमा हनिमुन सिटी बनाउनुपर्ने उहाँले बताउनुभयो ।
त्यस्तै, रारा तालमा एक हजार जोडी अट्ने हनिमुनसिप बनाउनुपर्ने पनि उहाँको भनाइ छ । उहाँले रारालाई पनि हनिमुन मनाउन जाने ठाउँको रूपमा विकास गर्नुपर्ने जिकिर गर्नुभयो । यसो गरेमा पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने सांसद गुरुङको भनाइ छ । उहाँले आगामी दिनमा डाँडामा भ्युटावर बनाउनु नहुने पनि बताउनुभयो ।
‘‘यसमा एउटा कुरा अझै पुगेन । वेडिङ हब्स पनि भयो । बर्थिङ हब्स पनि भयो । अब एउटा हनिमुन हब्स भएन । हनिमुन सिटी भएन । हनिमुन सिटी पनि कहीँ न कहीँ राखिदिँदा के फरक पर्छ ? चितवनको सौराहामै हनिमुन सिटी बनाइदिऊँ । विवाहित जोडीहरू त्यहाँ जान्छन् । नव दुलाहा, दुलही त्यहाँ जान्छन् । हात्ती चढ्छन् । घुम्छन् ।,’’
सांसद गुरुङले भन्नुभयो, ‘‘त्यसैले हनिमुन सिटी । रारा ताल मात्रै हेर्न जानुभन्दा पनि त्यहाँ एउटा हनिमुनसिप बनाइदिऊँ । एक हजार जोडी अट्ने सिप बनाइदिऊँ । हनिमुन सिपमा गएर हनिमुन मनाउँछन् । के फरक पर्छ ? यसरी पर्यटन प्रवर्द्धन गर्दै जानुपर्छ । अर्को कुरा भन्नैपर्छ । नो नट अगेन भ्यु टावर । डाँडामा भ्यु टावर बनाएका छौँ भएको डाँडालाई खत्तम बनाएका छौँ । त्यसैले नो नट अगेन भ्यु टावर भन्नु आवश्यक छ ।’’
उहाँले गाँजाबाट औषधीजन्य वस्तुको उत्पादन गरेर निर्यात गर्नसके बाट दुई खर्ब राजस्व उठ्ने बताउनुभयो । त्यस्तै घरेलु मदिराको ब्राण्डिङ गरे दुई खर्ब रुपियाँ, जडीबुटी खेतीबाट दुई खर्ब रुपियाँ र गैरकानुनी कारोबार बन्द गरेमा दुई खर्ब रुपियाँ राजस्व उठ्ने बताउनुभयो ।