कलात्मक सिसमहल मन्दिर निर्माण रुकुमपश्चिमको मुसीकोटमा

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

रुकुमपश्चिम । रुकुमपश्चिमको मुसीकोट नगरपालिका–४ सोलाबाङमा कलात्मक सिसमहल मन्दिर निर्माण भएको छ । शिवधाम क्षेत्र संरक्षण तथा सिसमहल मन्दिर निर्माण समितिले सिसैसिसाका कलात्मक आकृतिहरूसहितको मन्दिर निर्माण गरेको हो ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जनार्दन शर्माका अनुसार यो मन्दिर एक रोपनी क्षेत्रफल जग्गामा निर्माण गरिएको छ । यो मन्दिर निर्माणका लागि आफू र विमल शर्माले एक रोपनी जग्गा उपलब्ध गराएको उहाँले बताउनुभयो ।

मन्दिर परिसरमा विवाह मण्डपका साथै अन्य संरचनाहरू समेत बनाइएको छ । राप्ती राजमार्गबाट मन्दिर गेटसम्म पुग्नलाई सडक पक्की बनाइएको छ । मन्दिरभित्र सिसाका टुक्राहरू चप्काएर बुट्टा भरिएको छ भने सिसाका कलात्मक फूल बनाइएको छ ।

मन्दिरको भित्रिभागमा चार फिटमाथि ऐनाहरू राखिएको छ भने सिलिङ्गमा समेत सिसाका बुट्टाहरू राखिएको छ । स्थानीय मिस्त्रीहरूले मन्दिर भवन निर्माण गरेका हुन् भने बुट्टा र सिसाका कलात्मक आकृति निर्माणका लागि नेपालगन्ज र भारतको दिल्लीबाट मिस्त्रीहरू आएर काम गरेका हुन् ।

शिवधाम क्षेत्र संरक्षण तथा सिसमहल मन्दिर निर्माण समितिका सचिव विमल शर्माले मन्दिर निर्माणका लागि हालसम्म एक करोड पाँच लाख ४९ हजार रुपियाँ खर्च भएको बताउनुभयो ।

यस मन्दिरमा हालसम्म कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयमार्फत डिभिजन वन कार्यालयको ७५ लाख, मुसीकोट नगरपालिकाको २८ लाख, वैदेशिक रोजगारीमा रहेका स्थानीयको एक लाख सात हजार र स्थानीयले देउसीभैलो खेलेर सङ्कलन गरेको एक लाख ४२ हजार रुपियाँ लगानी भएको छ ।

तीन वर्ष पहिला निर्माण सुरु गरिएको यो मन्दिरमा शिवको मूर्ति प्रतिस्थापना गर्न भने बाँकी रहेको छ । मूर्ति आइसकेको र शुभसाईत पारेर स्थापना गरिने तयारी रहेको सचिव शर्माले जनाउनुभयो । डिभिजन वन कार्यालय रुकुमपश्चिमका निमित्त कार्यालय प्रमुख शेरबहादुर परियारले पर्यावरण विकास र धार्मिक आस्थाको सम्मानको मन्दिर निर्माण गरिएको बताउनुभयो ।

उहाँका अनुसार यो मन्दिर कर्णाली प्रदेशको पहिलो र नेपालकै तेस्रो सिसमहल मन्दिरको रूपमा लिइन्छ । यसअघि नवलपरासीको सुस्तामा गजेन्द्र मोक्षधाम र सिन्धुलीको काभ्रेस्थलीमा सिसाको मन्दिर निर्माण गरिएको छ ।

सेयर: 8
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
10°C
Kathmandu
few clouds
10° _ 10°
100%
2 km/h
बुध
22 °C
बिहि
23 °C
शुक्र
23 °C
शनि
25 °C
आइत
20 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ