काठमाडौँ । सत्तारूढ दलहरू र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच अहिले छलफल भईरहेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलका नेताहरूबीच साँझ साढे ५ बजेदेखि बैठक भइरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ।
छलफलमा प्रधानमन्त्री प्रचण्ड, एमालेबाट अध्यक्ष केपी शर्मा ओली र कानुनमन्त्री पदम गिरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपप्रधानमन्त्री एवम् गृहमन्त्री रहेका सभापति रवि लामिछाने र उपसभापति स्वर्णिम वाग्ले छन्।
कांग्रेसबाट सभापति शेरबहादुर देउवा, नेता कृष्ण सिटौला, महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक सहभागी छन्। उनीहरूबीच संसदको अवरोध हटाउने विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
यसअघि आजै प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओली र सभामुख देवराज घिमिरेसँग पनि छलफल गरेका थिए। त्यसअघि बिहान मात्रै कांग्रेससँग छलफल गरेका थिए।
बिहानको छलफलपछि सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउने विषयमा प्रधानमन्त्री सकारात्मक रहेको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बताएका थिए।