काठमाडौँ । तत्कालीन माओवादीका नेता डा बाबुराम भट्टराईले ऐतिहासिक जनयुद्धमा सक्रिय सहभागी बनेर नयाँ इतिहास निर्माण गर्न पाएकोमा आफूलाई सधैँ गर्वको अनुभूति हुने बताउनुभएको छ । यद्यपि भट्टराई हाल माओवादी त्यागेर नेपाल समाजवादी पार्टीमा आबद्ध हुनुहुन्छ । २०५२ साल फागुन १ मा डा भट्टराई लगायतका नेताले सशस्त्र युद्धको सुरुवात गर्नुभएको थियो । सोही दिनको स्मरणमा डा. भट्टराईले सामाजिक सञ्जालमा नेपाललाई संसारले इतिहासमा दुई पटक चिनेको पनि बताउनुभएको छ ।
‘दोस्रो पटक, बिसौँ शताब्दीको अन्त्य र एक्काइस शताब्दीको सुरु (२०५२ फागुन १ गतेबाट २०६३ मङ्सिर ५ गते) सम्म विभिन्न उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायको सहभागितामा चलेको संसार हल्लाउने जनयुद्धको वेला, जसले एकात्मक राजतन्त्रात्मक नेपाली राज्यलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरण गरेको थियो ?’, डा.भट्टराईले भनेका छन्, ‘त्यो ऐतिहासिक जनयुद्धमा सक्रिय सहभागी बनेर नयाँ इतिहास निर्माण गर्न पाएकोमा सधैँ गर्वको अनुभूति हुन्छ ?’ उनले जनक्रान्तिमा शहादत प्राप्त गर्नेहरूप्रति श्रद्धासुमन तथा बेपत्ता र घाइतेहरूप्रति उच्च सम्मान प्रकट गर्दै भनेका छन् ।
उहाँले परन्तु जनक्रान्ति राज्यहरू रहेसम्म कहिल्यै अन्त्य नहुने भन्दै त्यो भिन्न रूपमा निरन्तर अघि बढिरहने बताउनुभयो । ‘कतिपय हिजोका क्रान्तिकारीहरू थाक्छन्, कतिपय सत्ताको चास्नीमा झिँगा डुबे झैँ डुब्छन् तर सत्य र न्यायको मार्गमा प्रतिबद्ध तथा मानवजातिको उन्नयन र जनताको सेवाको राजनीति गर्नेहरू निरन्तर क्रान्ति र परिवर्तनको मार्गमा लागिरहन्छन्’, भट्टराईले भन्नुभएको छ ।
उहाँले जनयुद्ध दिवसमा नयाँ प्रण गर्न आह्वान गर्नुभएको छ । ‘हामी चुनावदेखि चुनाव र सत्तादेखि सत्ताको फोहोरी र भ्रष्ट राजनीतिमा लिप्त हुनेछैनौं ?सुशासित,समुन्नत,समाजवादी नायक नेपाल निर्माण गर्ने अभियानमा निरन्तर लागिरहनेछौँ ?’, भट्टराईले आह्वान गर्नुभएको छ ।