काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभाबाट आइतबार विश्वासको मत लिँदै हुनुहुन्छ । चैत २४ गते मुख्यमन्त्री नियुक्त अधिकारीले संवैधानिक प्रावधानअनुसार सोमबारभित्र विश्वासको मत लिनुपर्छ ।
विश्वासको मत लिने प्रयोजनका लागि संसद्को बैठक आइतबार दिउँसो ३ बजे बोलाइएको छ । मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत दिन नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)ले ह्विप जारी गरेका छन् । एमाले र माओवादी केन्द्रका संसदीय दलका बैठकले यस्तो निर्णय लिएका हुन् ।
आइतबारको बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र वाचन गर्ने र मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची बनेको छ । अधिकारी नेतृत्वको सरकारलाई एमालेका २२, माओवादी केन्द्रका सभामुखबाहेक सात र स्वतन्त्र एक गरी ३० संसद्को समर्थन जुट्ने देखिन्छ ।
६० सदस्यीय प्रदेशसभामा बहुमत ३० कि ३१ भनी दलहरूबिच विवाद छ । सभामुखसहित ३१ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त अधिकारीविरुद्ध निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सर्वोच्च जानुभएको थियो ।
सर्वोच्चले वैशाख १७ गते पाण्डेको रिट खारेज गर्दै सरकारलाई विश्वासको मत लिने बाटो खोलिदिएको छ । सर्वोच्चको संक्षिप्त आदेशमा सभामुखको पद तटस्थ रहने जनाउँदै ३० सांसदको समर्थन भए पुग्ने उल्लेख छ ।
सत्तारुढ दलहरू यथाशक्य दुई सांसद रहेको राप्रपाको साथ लिने त्यसो नभए सर्वोच्चको आदेश बमोजिम ३० सांसदलाई बहुमत मानी विश्वासको मत लिने दाउमा छन् ।
फैसलाका पूर्ण पाठ आउन बाँकी छँदै विश्वासको मत लिनै पर्ने बाध्यतामा गण्डकीका मुख्यमन्त्री हुनुहुन्छ । माओवादी केन्द्रका प्रमुख सचेतक कुसुम बुढा पुन सर्वोच्चको आदेश अनुसार प्रदेशमा सरकारसँग बहुमतको समस्या नरहेको बताउनुहुन्छ ।


