काठमाडौं– सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानविनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्मा हंगामा मच्चाइरहेको छ। तर, विपक्षी दलले छानविनको माग गरिरहदा प्रहरी प्रमुखले भने संसदीय समितिमा नै उभिएर क्लिन चिट दिएका छन् । कुनै प्रमाण नभेटिएको भन्दै प्रहरीले फाइल नै बन्द गर्ने संकेत गरेका छन् । जसले कांग्रेसलाई थप आक्रोशित बनाएको छ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडूले केही सहकारीको रकम ग्यालेक्सी टीभीमा गएको र त्यसमा रवि लामिछाने नामको व्यक्ति जोडिएको भन्दै प्रश्न गरेका थिए । यसको जवाफ दिने क्रममा आइजिपी बसन्त कुँवरले रविविरुद्ध तथ्य प्रमाण नभेटिएको बताएका थिए । ‘ठाडो उजुरीको रुपमा जो इस्यु आयो, दर्ता भएको छ । तर अनुसन्धान गर्दा तथ्य प्रमाण भेटिएन । कानुनको दायरामा पनि पर्ने अवस्था आएन,’ कुँवरले गृहमन्त्रीतर्फ हेर्दै भने, ‘अहिले सांकेतिक रुपमा रवि लामिछाने भन्ने भएको छ । त्यो विषयमा अहिलेसम्मको तथ्य प्रमाणका आधारमा कुनै पनि आधार देखिँदैन ।’
आफुमाथि लगातार प्रश्न उठाउँदै राजीनामाको मागलाई चर्काएपछि गृहमन्त्री रवि लामिछानेले यसरी प्रहरी महानिरीक्षक मार्फत आफु निर्दोष रहेको साबित गराउन खोजेका छन् । र, प्रहरी महानिरिक्षकबाटै यस्तो स्पष्टीकरण दिलाएर छन् । अनुसंन्धान गर्ने प्रहरी प्रमुखले नै यसो भनेपछि यसबाट के बुझ्न कठिन छैन भने अब रवि माथिको अनुसन्धान यतिकै टुगिंएको छ ।
संसदमा प्रधानमन्त्रीलाई समेत आफु निर्दोष रहेको भन्न लगाएका रविले आफैमाथि अनुसन्धान गरीरहेको प्रहरीलाई समेत कुनै प्रमाण नरहेको दलिल पेश गर्न लगाएका छन् । कतिसम्म भने बुधबार प्रतिनिधिसभाको अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्रालयका सचिवदेखि प्रहरी महानिरीक्षक, शसस्त्र प्रहरी बलका महानिरीक्षक र कास्की जिल्ला प्रहरी कार्यलयका एसपीलाई समेत बैठकमा बोलाएर आफुमाथि लागेको आरोप झुटो हो र बाहिर आएका तथ्य र प्रमाण गलत हुन् भन्न लगाए । खासमा रविले आफुमाथि उजुरी परेको कास्की जिल्ला प्रहरी प्रमुख एसपी मोहन थापालाई नै उजुरीबारे बोल्न बोलाएका थिए । तर समितिका सभापति रामहरि खतिवडाले बोल्न नदिएपछि प्रहरी महानिरीक्षक कुँवरले नै रविविरुद्ध परेको उजुरीबारे जवाफ दिएका थिए । महानिरीक्षक कुँवरले मोहन सापले थप प्रष्ट पार्नुहुन्छ भनेपछि सभापति खतिवडाले प्रोटोकलको आधारमा मिल्दैन यसबारे पछि बहस गरौला भन्दै रोकेका थिए ।
बैठकमा अन्तिम बोलेका गृहमन्त्री लामिछानेले समेत सहकारी प्रकरणमा आफ्नो नाम मात्रै भएको आफ्नो बचाउ आफै गरे । ‘जहाँ मेरो नाम छ भनिएको छ त्यहाँ मेरो नामबाहेक केही पनि छैन। अर्थात् न हस्ताक्षर छ न ल्याप्चे छ, न मैले कुनै निवेदन दिएको छु, न सामान्य केवाइसी भरिएको छ । केही पनि भरिएको छैन,’ उनले भने ।
समितिमा आइजिपी कुँवरले पनि लामिछानेविरूद्ध अहिलेसम्म कुनै पनि प्रमाण फेला नपरेको दाबी गरे । ‘अहिले सहकारीको विषयमा अलिअलि सांकेतिक रूपमा आयो। ठाडो उजुरीको रूपमा जो इस्यू आयो दर्ता भयो । तर कुनै पनि काम अनुसन्धान गर्दा तथ्य प्रमाणमा भेटिँदैन । कानुनी दायरामा पर्ने अवस्था छैन । र अहिले त्यो जुन सांकेतिक रूपमा आएको छ रवि लामिछाने भन्ने त्यो विषयमा अहिलेसम्मको तथ्य प्रमाणमा कुनै पनि आधार देखिँदैन,’ उनले भने ।
चौतर्फीरुपमा आफुमाथि अनुसन्धान र कारवार्हीको माग उठेपछि गृहमन्त्री रविले आफुलाई चोख्याउन यस्तो हत्कण्डा गरेको प्रतिपक्षी दल नेपाली कांग्रेसको ठहर छ । प्रधानमन्त्रीदेखि प्रहरी महानिरीक्षक सम्मलाई आफु निर्दोष रहेको साबित गर्न प्रयोग गरेपछि नेपाली कांग्रेस थप आक्रोसित बनेको छ । आगामी संसदमा थप कडारुपमा प्रस्तुत हुने रणनीीत बनाएको छ । संसदीय छानबिन समिति नबाएसम्म संसदमा अवरोध कायम राख्ने कांग्रेसको तयारी छ । सरकार नै धरापमा पर्ने भएपछि प्रधानमन्त्रीले समेत रविलाई जोगाउन खोजेको कांग्रेस नेताहरुको दाबी छ ।
त्यसो त संसदमा कांग्रेस अवरोध कायम राखेपछि शुक्रबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवासंग प्रधानमन्त्री प्रचण्डले अवरोध नगर्न आग्रह गरेका छन् । तर सभापति देउवाले यसबारे स्पष्ट मुख खोलेका छैनन् । टिआरसी बिधेयक पास गर्ने बिषयमा भने छलफल गरौला भन्ने जवाफ फर्काएका छन् । अब कांग्रेस थप आक्रमक रुपमा संसदमा प्रस्तुत हुने तयारीमा जुटेका छन् । जुन कुरा कांग्रेस महामन्त्री गगन थापाले शुक्रबार गृहमन्त्री लामिछाने प्रति लक्षित गर्दै भनेका छन् । भगवनलाई प्रश्न गर्न नपाइने, भगवानले ठगेपनि हुने, लुटे पनि हुने ।