थाइल्याण्ड । थाइल्याण्डस्थित पटायामा एक फिनल्यान्डका युवकले आफैमाथि आक्रमण गरेका छन् । २९ वर्षिया कोन्टियानेन इउओस्करी नामका युवकले आफ्नै शरीरमा चक्कु हानेर आत्महत्याको प्रयास गरेका हुन् ।
बाङ लामुङ जिल्लाको ताम्बोन नोङ प्रुमास्थित सोइ बुवा खाओ एक अपार्टमेन्टमा बिहान ३.३६ बजे पटाया प्रहरी र छिमेकीहरु पुगेपछि यो तथ्य खुलेको हो । अपार्टमेन्ट युवकको अवस्था र कोठाको दृश्य हेरेर छिमेकीहरु नै अत्तालिएका थिए ।
कोठामा पुग्दा युवक रगताम्य अवस्थामा थिए । कोठाभरी रगत बगिरहेको थियो । कोठाभित्रबाट चर्को आवाजमा युवकले गाली गरिरहेको सुनेपछि छिमेकीले आत्तिएर प्रहरीलाई खबर गरेका थिए । युवक पुरै फ्रस्टेड अवस्थामा रहेको बुझिएको छ ।
छिमेकीबाट सूचना पाएपछि अपार्टमेन्ट पुगेको प्रहरीले सुरक्षा गार्डलाई ढोका खोल्न लगाएर भित्र पसेको थियो । लगत्तै प्रहरीले गाली गरिरहेका युवकलाई केही शान्त बनाएको थियो । पटाया प्रहरीका अनुसार ति युवकको सामान कोठाभरी छरिएको र भुइँमा रगतको दाग रहेको थियो भने उनको अनुहार र दाहिने काँधमा चक्कुले चोट लागेको छ। त्यसपछि प्राथमिक उपचार गरेर प्रहरीले ति युवकलाई अस्पताल लगेको थियो ।
युवकले किन कोठाभित्रै यस्तो जंगली व्यवहार गरे, कसैलाई थाहा छैन । हाल उनको बाङ लमुङमा अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको बताएको छ।