महाशिवरात्री पर्व आज भगवान शिवको पूजाआराधना गरेर मनाइँदै,चार हजार सुरक्षाकर्मी पाशुपत क्षेत्रमा परिचालन
काठमाडौं । हिन्दूहरुको ठूलो पर्व महाशिवरात्री आज भगवान शिवको पूजाआराधना गरेर मनाइँदै छ । आजको दिन हिन्दू धर्मालम्बीहरुले नदी–तलाउमा स्नान गरी पवित्र भई शिवरात्री मनाउने गर्छन् ।
शिवजीलाई दूध, धतुरो तथा बेलपत्र चढाउने गरिन्छ । यस दिन व्रत बसेर रातभर जाग्राम रहेमा मनोकामना पूरा हुने विश्वास जनमानसमा छ । आजको दिन भगवान महादेवलाई जाडो हुने भएकाले घरघरमा गई दाउरा मागेर धुनी जगाउने प्रचलन समेत छ ।
पशुपति क्षेत्रभित्र गाँजा, भाङ, धतुरोजस्ता पदार्थको प्रयोग गर्न नपाइने जानकारी पशुपति क्षेत्र विकास कोषले दिएको छ । हरेक वर्षझैं यस वर्ष पनि पशुपतिनाथमा दर्शनार्थीको बिहानैदेखि घुइँचो लागेको छ । पशुपतिनाथसँगै देश भरका शिव मन्दिरहरुमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ ।
-पाशुपत क्षेत्रमा महाशिवरात्रि मेलाका लागि चार हजार ९४ सुरक्षाकर्मी परिचालन गरिएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयले महाशिवरात्रिका लागि एकीकृत विशेष सुरक्षा योजना बनाइ आजैदेखि लागू गरेको बताउनुभयो । कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले तीन चरणमा परिचालन हुने गरी ड्रोनसहित सुरक्षाकर्मी परिचालन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
उनीहरु आज राति १० बजेदेखि फागुन २६ गतेसम्म सुरक्षार्थ खटिने छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय तथा जिल्ला प्रहरी परिसर काठमाडौँले संयुक्त रुपमा उक्त सुरक्षा योजना बनाइ लागू गरेको उहाँले बताउनुभयो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारीको नेतृत्वमा उक्त टोली खटिने छ । सो अवसरमा आपतकालीन उद्धार टोली र एम्बुलेन्स तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो ।