काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह कान्स फिल्म फेस्टिभलको ७७ औँ श्रृङ्खलामा भाग लिन आज फ्रान्स प्रस्थान गर्नुभएको छ ।
कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा मेयर शाह फेस्टिभलमा सहभागी हुन मंगलबार बिहान फ्रान्सका लागि उड्नुभएको हो । मेयर शाहका साथमा व्यवस्थापन सल्लाहकार कुमार व्यञ्जनकार र पूर्वाधार सल्लाहकार सुनिल लम्सालसमेत रहेका छन् ।
कान्स र काठमाडौं दुवै युनेस्कोको ‘क्रिएटिभ सिटी’को चलचित्र विधाका सदस्य नगर हुन् । कान्सका मेयरले प्रमुख शाहलाई पठाएको निमन्त्रणा पत्रमा भनिएको छ, ‘फेस्टिभल क्रिएटिभ सहरलाई एक ठाउँमा ल्याउने अवसर हो । फेस्टिभलमा अन–एयर शीर्षकमा सञ्चालन हुने अडियो भिजुअल कन्टेन्ट चेनबारे जान्न सजिलो हुनेछ ।’
मेयर शाह फेस्टिभलका विभिन्न कार्यक्रममा सहभागी हुनुहुनेछ । त्यस क्रममा मेयर लिसनार्ड र फेस्टिभल निर्देशकसँग भेटवार्ता हुनेछ । फेस्टिभलको रेडकार्पेट र प्रिमियर कार्यक्रममा प्रमुख सहभागी हुनेछन् । फेस्टिभल १२ दिन चल्नेछ । मेयर शाहले ३ दिनको कार्यक्रममा सहभागी भएर जेठ ७ गते स्वदेश फर्कनेछन् ।
यस वर्ष फेस्टिभलका लागि नेपालबाट कुनै फिल्म छनोट भएको नभए पनि नेपालमा छायांकन गरिएको ‘द सेमलेस’ अन रिगार्ड विधामा र ‘तारा स् अ लस्ट स्टार’ मार्केट स्क्रिनिङ विधामा छनोट भएका छन् । यी दुवै चलचित्रमा नेपाली कलाकार र प्राविधिकको संलग्नता छ ।