काठमाडौं। संघीय संसद्को माथिल्लो सभा अर्थात् राष्ट्रिय सभाको अध्यक्ष चयन गर्न आज निर्वाचन हुँदैछ । तत्कालीन अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आफ्नो छ वर्षे कार्यकाल पूरा गरी राष्ट्रिय सभाबाट अवकाश भएपछि अध्यक्षका लागि निर्वाचन हुन लागेको हो । मंगलबार बिहान ११ः०९ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा अध्यक्ष चयनका लागि मतदान गर्ने कार्यसूची रहेको छ ।
सभाको अध्यक्षका लागि सोमबार सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका नारायण दाहाल र विपक्षी गठबन्धनबाट नेपाली कांग्रेसका युवराज शर्माले उम्मेदवारी दर्ता गराउनुभएको छ । दाहालको प्रस्तावकमा माओवादीका गोपीबहादुर सार्की र समर्थकमा एमालेका देवेन्द्र दाहाल तथा एकीकृत समाजवादीका बेदुराम भुसाल रहनुभएको छ ।
त्यसैगरी नेपाली कांग्रेसको तर्फबाट अध्यक्षमा उम्मेदवारी दर्ता गरेका शर्माको प्रस्तावकमा कांग्रेसकै आनन्दप्रसाद ढुंगना र समर्थकमा किरणबाबु श्रेष्ठ रहनुभएको छ । मंगलबारको राष्ट्रिय सभा बैठकमा अध्यक्ष पदको निर्वाचनका सम्बन्धमा आनन्द प्रसाद ढुंगनाले युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नुहुनेछ ।
यस्तै, गोपी बहादुर सार्की आछामीले नारायण दाहाललाई राष्ट्रिय सभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नुहुनेछ । त्यसपछि सभाको अध्यक्षका गर्ने उपाध्यक्ष उर्मिला अर्यालले दुवै प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
राष्ट्रिय सभामा पहिलो दल माओवादीसँग एक मनोनीत र उपाध्यक्षसहित १८ सदस्य छन् । एमालेका १०, एकीकृत समाजवादीका आठ, जसपाका तीन सांसद छन् । राष्ट्रिय सभाका उपाध्यक्षसहित ३९ सांसद सत्ता गठबन्धनका तर्फबाट छन् । भने विपक्षी गठबन्धनमा कांग्रेसका १६ र लोसपाका एक सांसद् रहेका छन् ।