चितवनस्थित शिशु निकेतनको होस्टेलमा शंकास्पद रूपमा मृत फेला परेकी १४ वर्षिया शालिन पोखरेलको पोष्टमार्टम रिपोर्ट आएको छ । परिवारले बलात्कारसहित हत्या दाबी गरिरहेका बेला त्रिवि शिक्षण अस्पतालको पोष्टमार्टम रिपोर्टले भने आत्महत्या देखाएको हो । रिपोर्टमा मृत्युको कारण ‘ह्याङिङ’ देखिएको चितवन प्रहरीले जनाएको छ ।
प्रधानमन्त्री, प्रमुख दलका शीर्ष नेताहरु र संसदीय समितिसम्मले होस्टेलमा शंकास्पद रूपमा मृत फेला परेकी शालिन पोखरेलको विषयमा गम्भीरतापूर्वक छानविन गर्न निर्देशन दिएका थिए । विद्यार्थी संगठनहरुले सडक र केहि अभियान्ताहरुले निष्पक्ष छानविनको माग गर्दै सामाजिक सञ्जाल तताइरहेका थिए । तर, यहि बिचमा आइतबार घटनाले नयाँ मोड लिनेगरी पोष्टमार्फत रिपोर्ट आएको हो । रिपोर्टमा उनको बलात्कार नभएकोे उल्लेख छ । पोस्टमार्टम रिपोर्ट अनुसार शरीरमा ठुलो चोटपटक देखिएको छैन । १४ वर्षीया पोखरेलको कन्याजाली नच्यातिएको पोष्टमार्टमाबाट खुलेको छ ।
उता मृतक शालिनको बुबाले भने बलात्कार नै भएको र यसलाई अनावाश्यक रुपमा तोडमोड गरिएको बताएका छन् ।
कक्षा ८ मा अध्ययनरत छात्रा शालिन फागुन १२ मा होस्टेलमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । घटनास्थलमा शालिनले छाडेको सुसाइड नोट भेटिएको छ । सुसाइड नोटमा नोटमा उनले लेखेकी छन्, ‘मलाई सबैले माया गर्नु है ।’ अनुसन्धानमा संलग्न एक जना अधिकृतका अनुसार नोटमा उनले थप लेखेकी छन्–‘सरी एभ्रिबडी, सरी ममी ड्याड ।’
घटना अनुसन्धानका लागि प्रहरीले स्कुलका प्रिन्सिपल, भाइस प्रिन्सिपल र होस्टलको वार्डेनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेमा रत्ननगर नगरपालिका–१० बस्ने ६० वर्षीय बालहरी देवकोटा, ४० वर्षीय किरण बहादुर अधिकारी र ४८ वर्षका कमल शर्मा पौडेल छन् । उनीहरू विरुद्ध ज्यान सम्बन्धी कसुरमा जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हत्या आशंका अनुसन्धान अघि बढाएको प्रहरीले आत्माहत्याको रिपोर्ट आएपछि अन्योलमा परेको छ । गोरखाको अजिरकोट गाउँपालिका–५ मुच्चोक घर भएकी शालिन पछिल्लो समय चितवनको रत्ननगर नगरपालिका–१५ स्थित माधवपुरमा बस्थिन् । शालिन दुई वर्षदेखि सो होस्टलमा बसेर पढ्थिन् ।