काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचनकालागि आज प्रस्तावको सूचना दिने कार्यक्रम कार्यसुची रहेको छ । संघीय संसद् सचिवालयले पर्सि मंगलबार राष्ट्रिय सभाको अध्यक्ष पदका लागि निर्वाचन गर्ने तालिका तय गरेको छ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा बिहान ११ देखि दिउँसो १ बजेसम्म प्रस्तावको सूचना दिने कार्यक्रम तय छ ।
आज साढे १ बजे दर्ता भएका प्रस्तावको सूचना प्रकाशित गर्ने र २९ गते दर्ता भएका प्रस्तावमा एक भन्दा बढी उम्मेदवार भएमा निर्णयार्थ प्रस्तुत गरिनेछ । त्यसका लागि राष्ट्रिय सभाको बैठक बिहान ११ बजेर ९ मिनेटमा तय भएको छ । सत्ता समीकरण फेरिएसँगै राष्ट्रिय सभा अध्यक्ष पदमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र आमनेसामने हुने निश्चीत भएको छ ।
नेकपा माओवादी केन्द्रले नारायण दाहाललाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । उता नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार युवराज शर्मालाई बनाउने निर्णय गरेको छ । ५९ सदस्यीय राष्ट्रिय सभामा माओवादी केन्द्र सबैभन्दा ठुलो पार्टी छ । उसका उपाध्यक्षसहित १८ सांसद छन् ।
यस्तै, कांग्रेस १६ सिटसहित दोस्रो ठुलो छ । एमालेबाट १० जना सांसद छन् राष्ट्रिय सभामा छन् । एकीकृत समाजवादी ८, जसपा ३, लोसपाको पनि एक जना सांसद राष्ट्रिय सभामा छन् ।