थाइल्याण्ड, वैशाख १३ : गैरआवासीय नेपाली संघ (एनआरएनए) थाइल्यान्डले फुकेटमा सम्पन्न सांस्कृतिक कार्यक्रमको खर्च विवरण गुपचुप राखेको छ । नयाँ वर्षको अवसरमा गत १४ अप्रिलमा थाइल्यान्डको फुकेट सहरमा नेपालबाट कलाकार ल्याएर गरिएको सांस्कृतिक कार्यक्रमको खर्च गुपचुप राखिएको हो ।
ठूलो तामझामका साथ सम्पन्न कार्यक्रम व्यवसायिक तथा सहभागितामूलक हिसाबमा असफल बन्दा पदाधिकारी नै असन्तुष्ट बनेका बेला नेतृत्वले कार्यक्रमको आयव्यय सहितको विवरण सार्वजनिक गर्न आनाकानी गरेको हो । यसले नेतृत्वको पारदर्शितामाथि प्रश्न उठाएको छ भने आय व्ययको अडिटमा घोटाला हुनसक्ने आशंका स्वयंम असन्तुष्ट पदाधिकारीले गरेका छन् ।
एनआरएनए थाइल्यान्डका पदाधिकारीका अनुसार फुकेटको कार्यक्रममा अपेक्षा गरेअनुसार नेपालीहरुको सहभागिता हुन सकेन् । त्यसमाथि कलाकार समेत समयमा नआउँदा हतार हतार कर्मकाण्डको रूपमा कार्यक्रम गर्नुपरेको थियो । उक्त कार्यक्रममा नेपालबाट गायिका अस्मिता अधिकारी, श्रीकृष्ण बम मल्ल, धीरज राई, राजेश विष्ट, सदिक्षा नेपाल, गरिमा शर्मा, सुन्दर विकेलाई आमन्त्रण गरिएको छ । कार्यक्रम अपेक्षाकृत नभई घाटा भएपछि पदाधिकारी असन्तुष्ट बनेका छन् भने, नेतृत्व कार्यक्रमको आयव्यय विवरण सार्वजनिक गर्न डराएको छ ।
कुनै पनि संस्थाको विधानअनुसार भए गरेका गतिविधि अडिट देखिने गरि सार्वजनिक गर्नुपर्ने प्रावधान रहेको छ । तर, तर एनआरएनए थाइल्यान्डको नेतृत्व यसलाई वेवास्ता गर्दै टार्दै आएको छ । कार्यक्रम सम्पन्न भएको १० दिन बढी वितिसक्दा पनि खर्च विवरण सार्वजनिक गर्ने कुनै सरसार छैन । अझ एनआरएनए थाइल्यान्डकै पदाधिकारीले समेत कति घाटा भयो, कति कारोबार भयो भन्ने समेत थाहा पाउन सकेका छैनन् ।
एक पदाधिकारी भन्छन्, ‘नाफा कमाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कति टिकट विक्री भए, कति स्पोन्सर आयो, कति खर्च भयो, कति लगानी भयो, लक्ष्य के थियो, कति घाटा नाफा भयो भन्ने थाहा पाउन सकिएको छैन । बाहिर घाटा भयो भन्नेमात्रै सुनिएको छ । यसको सत्य तथ्य सार्वजनिक हुनुपर्छ ।’
त्यसो त एनआरएनए थाइल्यान्डले यसअगाडि पनि आयोजना गरेका कार्यक्रमको आयव्यय सार्वजनिक गर्ने गरेको छैन । यो प्रवृत्तिको सदस्यहरूबाट विरोध भए पनि नेतृत्वले सुनेको छैन । नेतृत्व संस्थामा अपारदर्शी बन्दै जाँदा सदस्यहरू दिन प्रतिदिन असन्तुष्ट बन्दै गएका छन् । नेतृत्व अपारदर्शी बन्दा संस्थाकै छविमा आँच आउने चिन्ता उनीहरुले गरिरहेका छन् ।
यता एनआरएनए थाइल्याण्डका अध्यक्ष भविन्द्र बस्नेतले खर्च विवरण सार्वजनिक गर्ने तयारी भइरहेको बताएका छन् । एक डेढ हप्तापछि राष्ट्रिय समन्वय परिषद्को बैठक बसेर कार्यक्रमको समीक्षा गर्ने र विवरण सार्वजनिक गरिने उनको भनाइ छ । अध्यक्ष बस्नेतले फुकेटको कार्यक्रममा घाटा होइन नाफा भएको दाबी पनि गरेका छन् ।