काठमाडौँ। पाँच खेलको टी–२० सिरिज एक खेल अगावै वेस्ट इन्डिज ‘ए’ ले जितेको छ । नेपालको घरेलु मैदानमा बिहीबार वेस्ट इन्डिजले एक खेल अगाडि सिरिज ३-१ ले जितेको हो ।
पहिलो खेल चार विकेटले जितेको नेपालले त्यसपछि लगातार तीन खेल गुमाएपछि सिरिज वेस्ट इन्डिजले जितेको हो । दोस्रो खेलमा १० रनले विजयी भएको वेस्ट इन्डिजले तेस्रो खेलमा ७६ रनको शानदार जित निकालेको थियो । बिहीबार भएको चौथो खेलमा नेपाल २८ रनले पराजित भएको हो ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा दुई सय ९ रन बनाएको थियो । वेस्ट इन्डिज ‘ए’ का लागि आन्द्रे फ्लेचरले अविजित ८४ रन बनाए ।
यस्तै जोनसन चार्ल्सले ५८ र फाबिएन एलेनले अविजित ३३ रन बनाए । बलिङमा नेपालका कुशल भुर्तेलले दुई तथा प्रतिश जिसीले एक विकेट लिए ।
चौथो खेलमा नेपाली टोलीका कप्तान रोहित पौडेलले अर्धशतक बनाए उनले ४७ बल खेल्दै सात चौका र पाँच छक्काको मद्दतमा ८४ रन बनाए। उनले यसअघि पहिलो खेलमा शतक र दोस्रो खेलमा अर्धशतक बनाएका थिए ।

नेपाललाई सस्तैमा समेट्न म्याथ्यू फोर्ड र हेडेन वाल्शले समान तीनतीन विकेट लिए । भने गुडाकेश मोती र फेबियन एलेनले दुईदुई विकेट हात पारे । सिरिजको अन्तिम खेल शनिबार कीर्तिपुरमा हुनेछ ।

