पोखरा । गण्डकी प्रदेशमा रहेका सार्वजनिक तथा सामुदायिक पुस्तकालयको सम्मेलन शनिबारदेखि पोखरामा सुरु भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नुभएको सम्मेलन दुई दिनसम्म चल्ने आयोजकले जनाएको छ ।
सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले आफ्नो दोस्रो कार्यकालको पहिलो औपचारिक कार्यक्रम पुस्तकालयबाट सुरु गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘समयको परिवर्तनसँगै पुस्तकालयलाई प्रविधिमैत्री बनाउँदै लैजानुपर्छ ।
परामर्श केन्द्रका रूपमा समेत पुस्तकालयले काम गरिरहेकाले संस्था जोगाउनुका साथै यसको दायरा पनि फराकिलो बनाउनुपर्छ ।’ यसका लागि आवश्यक सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताउनुभयो ।
पोखरा सार्वजनिक पुस्तकालयका अध्यक्ष प्राध्यापक डा. विश्व श्रेष्ठको अध्यक्षतामा सुरु भएको कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले पुस्तकालयलाई ज्ञानको भण्डारका रूपमा लिनुपर्ने भन्दै पुस्तकालयले गर्दै आएका विभिन्न प्रतियोगिता, पठन संस्कारको विकास, ज्ञान आदानप्रदान, सचेतनामूलक कार्यक्रमको प्रशंसा गर्नुभयो ।
कार्यक्रममा दीपशिखा सामुदायिक पुस्तकालयका अध्यक्ष समाजसेवी कृष्णहरि भण्डारी, शिक्षा मन्त्रालय, पुस्तकालय समन्वय शाखाका प्रमुख उपसचिव यादवचन्द्र निरौला, नेपाल सामुदायिक पुस्तकालय सङ्घका महासचिव राजेन्द्रप्रसाद पाण्डे, पोखरा महानगरपालिका कार्यपालिका सदस्य तथा दीपशिखा सामुदायिक पुस्तकालयका उपाध्यक्ष श्री निर्मला पौडेल, पोखरा महानगर वडा नम्बर ११ का वडा अध्यक्ष प्रेमप्रसाद कर्माचार्यलेले सामाजिक–सांस्कृतिक रूपान्तरणमा पुस्तकलायहरुको ठुलो योगदान रहेको बताउनुभएको थियो ।