मुगु : मुगुको रारा ताल किनारमा रहेको डाँफे होटलमा भीषण आगलागी हुँदा चारवटा भवन जलेर पूर्ण रूपमा नष्ट भएका छन्। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार ग्यास सिलिन्डर विस्फोट भएपछि बुधबार राति आगलागी भएको हो।
सेना, प्रहरी र स्थानीयको प्रयासमा आगो नियन्त्रण
आगलागीपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, र स्थानीय बासिन्दाको सक्रियतामा बिहानसम्म आगो नियन्त्रणमा लिइएको छ। होटलका अधिकांश संरचना काठकै बनेका भएकाले आगो तीव्र गतिमा फैलिएको थियो।
जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डीएसपी सरोज गिरी पनि घटनास्थलतर्फ गइरहेका छन्। उनले भने, “आगो नियन्त्रणमा आइसकेको छ, तर क्षतिको विस्तृत विवरण आउन बाँकी छ।”
पाहुनाको सुरक्षित उद्धार
डाँफे होटलमा रहेका पाहुनालाई तत्काल उद्धार गरी नजिकका अन्य होटल, सेनाको ब्यारेक र निकुञ्ज कार्यालयमा सारिएको छ।
घटनाको विस्तृत विवरण संकलन भइरहेको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ।
संवाददाता





