काठमाडौं। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले महासंघ कुनैपनि यातायातको सिण्डिकेटको पक्षमा नभएको बताउनुभएको छ । महासंघका अध्यक्ष स्वाँरले मङ्गलबार सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै यस्तो बताउनुभएको हो ।
अध्यक्ष स्वाँरले पछिल्लो समय राष्ट्रिय सञ्चारमाध्यमहरुले सर्वोच्च अदालतले सिण्डिकेट ब्युँताएको भन्ने भ्रम फैँल्याएको दाबी गर्नुभयो । उहाँले यातायात व्यवसायी महासंघ सिण्डिकेटको पक्षमा नभएर सुधार र प्रविधियुक्त सार्वजनिक यातायातको पक्षमा रहेको बताउनु भयो ।
स्वाँरले यातायात सुधार सुझाव कार्यदलको प्रतिवेदनले दिएको सुझाव कार्यान्वयनमा सरकारले दिएको तीव्रतालाई स्वागत गर्ने बताउनु भयो ।‘‘सरकारले यातायातका संघ र समिति खारेज गर्ने निर्णयलाई सर्वोच्च अदालतले चैत २८ गते संघसंस्था र समितिलाई खारेज गर्न नमिल्ने गरेर निर्णय गरेको छ ।
यातायात सुधार आयोगको प्रतिवदेन सरकारलाई बुझाएपछि कार्यान्वयन गर्ने पक्षमा सरकार तीव्ररुपमा अघि बढेको पाएका छौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात सेवासँग सम्बन्धित संघसंस्था र समितिलाई प्रतिबन्ध फुकाउन सिफारिस गरिएको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।,’’ अध्यक्ष स्वाँरले भन्नुभयो, ‘‘यातायात व्यवसायी राष्ट्रिय महासंघसहित अन्य प्रतिनिधिहरु गएर गृहसचिवलाई पत्र बुझाएका छौं ।
सरकारले यी विषयलाई तत्काल यातायातमा भएको अन्योलतालाई चिर्दै व्यवस्थित नागरिक उन्मुख सार्वजनिक यातायात र प्रविधियुक्त बनाउनतिर अग्रसर हुनुपर्छ । प्रतिवेदनमा आधारित यातायात क्षेत्रका सरोकारवालाको लागि यातायात प्राधिकरण गठन गर्नुपर्छ ।’’


