थाइल्याण्ड । थाइ नेपाली संघ बैंकक शाखाले क्यान्सर पीडित शान्तिदेबी अधिकारीको उपचारमा सहयोग गरिदिन सबैमा अनुरोध गरेको छ ।
म्यानमारको कचिन प्रान्त मो—गाउँ शाखाकी अधिकारीको अहिले थाइल्याण्डमा उपचार भइरहेको र थप उपचारकालागि म्यानमार लैजानुपर्ने भएकाले आवश्यक सहयोगाकालागि अपिल गरेको हो ।
लामो समय क्यान्सर जस्तो प्राणघातक रोगले ग्रशित अधिकारीको स्वास्थ्य उपचारकालागि आर्थिक अभाव बढ्दै गएको शाखाले जनाएको छ ।
शाखाले थप उपचारकालागि अधिकारीलाई म्यान्मार पठाउनु पर्ने जनाएको छ । ४० बर्षिय अधिकारी दुई वर्षदेखि क्यान्सरबाट पीडित हुनुहुन्छ ।
दिदी गीता अधिकारीले बहिनीलाई बचाइ दिन थाइ नेपाली सँगमा आग्रह गरेपछि संघले पहल शुरु गरेको हो । दिदी अधिकारीले बहिनिको उपचारमा दुई वर्षदेखि खटिएको भएपनि आर्थिक अभाव बढ्दै जादा सहयोगको अपेक्षा गरेको बताउनुभयो ।