गुल्मी। २०७१ सालमा टेन्डर लागेको सडक कालोपत्रे अझै पनि निर्माण हुन सकेको छैन । २०७२ चैत ३० गते सम्पन्न गर्ने गरी सात करोड १९ लाख ८७ हजार ७० रुपियाँमा लोहनी एन्ड ब्रर्दश प्रालि चितवनले २०७१ असार ३१ गते सम्झौता गरेको थियो ।
तर,अझै सडक कालोपत्रे हुन सकेको छैन । ठेकेदारले राजनीतिक आड र नियमन गर्ने निकायलाई प्रलोभनमा पारेर सडक निर्माणको जिम्मा लिएर दश वर्ष देखि काम नगरी अलपत्र पारेको हो । स्थानीयको दवाव पछि गुल्मीमा टेन्डर भएको झन्डै एक दशकपछि सडकको कालोपत्रेको काम सुरु गर्ने भएको छ ।
तम्घास – खाम्सेपानी – नयाँगाउ – नादी – सूर्यटारी सडकको अर्घाखाँची जिप पार्कदेखि जन्ते ढुङ्गा (सिस्ने हार) सम्मको सडक कालोपत्रे अव कालोपत्रे हुने भएको छ ।
पटक–पटकको ताकेता र दबाबपछि मात्र निर्माण कम्पनीले लामो समयपछि धेरै पुरानो ठेक्का अर्घाखाँची जिप पार्कदेखि जन्ते ढुङ्गासम्म करिब तीन किलोमिटर सडक कालोपत्रे सम्पन्न गर्न लागेको हो ।
निर्माण कार्य सम्पन्न गर्नका लागि पटक-पटक म्याद थप्दा पनि काम सम्पन्न नभएपछि अहिले अन्तिम पटक असार मसान्तसम्म म्याद थप गरिएको थियो ।
निर्माण व्यवसायीको लापरबाहीका कारण काम हुन नसक्दा यो सडक अलपत्र अवस्थामा रहेको रेसुङ्गा नगरपालिका नगरप्रमुख खिल ध्वज पन्थीले बताउनुभयो । सडक कालोपत्रे हुनासाथ यस क्षेत्रका नागरिकहरूले पाएको सास्तीको अन्त्य हुनेछ ।
रेसुङ्गादेखि प्युठानको स्वर्गद्वारी जोड्ने यो एउटा महत्त्वपूर्ण सडक रहेको भन्दै पछिल्लो समय लुम्बिनी प्रदेशको राजधानी दाङ पुग्न पनि अत्यन्तै छोटो सडकका रूपमा रहेको नगरप्रमुख पन्थीले बताउनुभयो ।यस सडक खण्डको साढे दुई किलोमिटरभन्दा बाँकी खण्डको केही ठाउँमा भने २ वर्षअघि नै कालोपत्रे भएको थियो ।