काठमाडौं । गत आइतबार भारतको मुम्बईस्थित बान्द्रा क्षेत्रमा रहेको ग्यालेक्सी अपार्टमेन्टमा चार राउण्ड हवाई फायर भयो । त्यसपछि फेरि एकपटक यो अपार्टमेन्टको चर्चा विश्वभर फैलिएको छ । जुन अपार्टमेन्ट हो, बलिउड स्टार सलमान खानको ।
मोटरसाइकलमा सवार दुईजनाले यो घटना गराएपछि उनीहरु फरार भएका थिए । प्रहरीले घटनामा संलग्न दुवैजनालाई सोमबार राति गुजरातबाट पक्राउ गरेको हो । प्रहरीले दुवैजना आक्रमणकारीको तस्वीर पनि सार्वजनिक गरेको छ ।
तीमध्ये एकजना सुटर हरियाणाको गुरुग्राममा बस्ने विशाल उर्फ कालु रहेको भनिएको छ । उक्त व्यक्ति राजस्थानको कुख्यात ग्याङस्टर रोहित गोदारको सुटर रहेको बताइएको छ । कालुले यसअघि पनि हरियाणामा एक व्यक्तिको हत्या गरिएको त्यहाँको सच्चारमाध्यमले जनाएको छ । त्यसयता उक्त व्यक्ति फरार रहेको उल्लेख छ ।
मुम्बई प्रहरीले उक्त व्यक्तिविरुद्ध व्यक्तिहत्याको मुद्दा दायर गरेको छ । सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै सलमानको अपार्टमेन्ट बाहिर चौबीसै घण्टा सशस्त्र प्रहरीको उपस्थिति छ । घटनापछि चर्चित बलिउड सेलिब्रेटीहरुले अपार्टमेन्टमै पुगेर सलमानसँग भेटेका छन् । उनको स्वास्थ्य अवस्था ठीक रहेको पिता सलिम खानले बताएका छन् ।
यसैबीच उक्त घटनापछि सलमानले आफ्नो सेड्युललाई स्थगित भने गरेका छैनन् । उनले अहिले कुनैपनि फिल्म नगरेपनि केही विज्ञापन र ब्राण्ड एन्डोर्समेन्टमा पनि सामेल छन् । उनले आफ्नो क्यालेन्डरअनुसार नै दैनिकी चलाइरहेको जनाइएको छ ।
सन् २०२२ देखीयता नै गैंगस्टर लॉरेंस बिश्नोई र गोल्डी बरारको धम्की सलमानलाई बारम्बार आईरहेका कारण उनको सेक्युरिटी लेबल (वाई प्लस) सम्म बढाईएको थियो । साथै उनलाई पर्सनल बन्दुक राख्न स्वीकृति पनि दिएको थियो । यो घटना पश्चात् त्यहाँको सरकारले उनको सुरक्षा अझ बढाएको छ ।