सर्लाही, चैत ६ गते । सर्लाही प्रहरीले दुई भारतीय ‘मस्ट वान्टेड अपराधी’ लाई पेस्तोल र गोलीसहित नियन्त्रणमा लिएको छ । विशेष सूचनाका आधारमा प्रहरीले बरहथवा नगरपालिका–६, मगर टोलबाट एक थान अमेरिकन पेस्तोल र ६ राउण्ड गोलीसहित भारतको सितामढी थाना सैयारा ग्राम सैयारा बस्ने २८ वर्षीय सन्नीकुमार सिंह र मोतिहारी गङ्गापिपरा बस्ने २४ वर्षीय जितेन्द्र कुमार राउतलाई पक्राउ गरेको हो ।
उनीहरू दुवै भारतीय प्रहरीको ‘मस्ट वाण्टेड अपराधी’ को सूचीमा रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।सोमबार राति पौने ९ बजेतिर सन्नीकुमार र जितेन्द्रको बरहथवास्थित कोठामा प्रहरी पुगेर खानतलासी लिन खोज्दा जितेन्द्रले आफ्नो साथमा रहेको पेस्तोलबाट एक राउण्ड गोली फायर गरेका थिए ।
तत्कालै इलाका प्रहरी कार्यालय बरहथवाबाट प्रहरी नायब उपरीक्षक (डिएसपी) मुक्तिनाथ सापकोटाको नेतृत्वमा खटिएको प्रहरी टोलीले घर घेरा हालेर दुवै जनालाई नियन्त्रणमा लिन सफल भएको हो ।घटनास्थलबाट एक थान पेस्तोल, त्यसमा लाग्ने एक थान म्याग्जिन, ६ राउण्ड गोली र फायर भएको गोलीको एक थान खोका बरामद भएको प्रहरीले जनाएको छ ।
दुवैलाई पक्राउ गरी सदरमुकाम मलङ्गवास्थित जिल्ला प्रहरी कार्यालयतर्फ ल्याउँदै गर्दा बसबरिया गाउँपालिका–६, पोखरियाबाट जितेन्द्रकुमार प्रहरीको नियन्त्रणमा भाग्न खोज्दा गोली प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ ।
गाडीबाट भाग्ने क्रममा जितेन्द्रलाई पाँच राउण्ड गोली फायर गरी नियन्त्रणमा लिइएको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) दयानिधि ज्ञवालीले जानकारी दिनुभयो । जितेन्द्रको बायाँ घुँडा र दाहिने तिघ्रामा दुई राउण्ड गोली लागेको छ ।
घाइते जितेन्द्रलाई प्रादेशिक अस्पताल मलङ्गवामा सामान्य उपचारपश्चात् जनकपुर रेफर गरिएको प्रहरी उपरीक्षक ज्ञवालीले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा रहेका सन्नीकुमार सिंहलाई भने मङ्गलबार बिहान पत्रकार सम्मेलन गरी बरामद पेस्तोल र गोलीसहित सार्वजनिक गरिएको छ ।
जितेन्द्रलाई नियन्त्रणमा लिनेक्रममा प्रहरी जवान रमेश विक र प्रहरी जवान दीपेश चौहान घाइते हुनुभएको छ । घाइते दुवै जवानको अवस्था सामान्य रहेको सर्लाही प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपेन्द्र पन्जियार थारुले जानकारी दिनुभयो ।
नरेन्द्र र सन्नीकुमार भारतमा दुईवटा कर्तव्य ज्यान, एउटा ज्यान मार्ने उद्योग र एउटा लागूऔषध मुद्दामा फरार अपराधी रहेको प्रहरीले जनाएको छ । नेपाली भूमिमा समेत उनीहरूले बैङ्क तथा सहकारी लुटपाटमा संलग्न भएको तथा कसैको हत्या गर्न ‘सुपारी किलर’ को रूपमा समेत आएको हुनसक्ने आशङ्कासहित सूक्ष्म ढङ्गले अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक ज्ञवालीले बताउनुभयो ।